कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सिमेन्ट निर्यातले जगाएको आशा

पाठक पत्र

भारतसँगको १९ खर्बको व्यापार घाटालाई सन्तुलन गर्न नेपालबाट भइरहेको सिमेन्ट, डन्डी र विद्युत्को निकासीले थोरै भए पनि आशा देखाएको छ । भरोसा गर्ने आधार पनि बन्दै गएको छ । यसअघि थोरै भए पनि कृषिजन्य र अन्य केही वस्तुहरू निकासी नभएको होइन । तर सिमेन्ट र फलामे डन्डी थपिएकाले नयाँ आयात पक्कै थपेको छ ।

चालु आर्थिक वर्षको दुई महिनामै नेपालबाट भारतमा करिब २२ अर्बको सिमेन्ट मात्र निर्यात भएको तथ्यांक सार्वजनिक भएको छ । यी सामग्रीको निकासीले नेपालीलाई खुसी तुल्याएको छ । नेपालमा उत्पादित सिमेन्टहरू कुनै एक उद्योगको नभई करिब आधा दर्जन उद्योगका हुन् ।

गुणस्तरीय भएकै कारण निकासी सम्भव भएको हो । यदि सरकारले राम्रो वातावरण तयार गरिदियो भने नेपालबाट हुने निकासी वस्तुमा सिमेन्ट पहिलो हुन सक्छ । जसले नेपालको व्यापार घाटा कम गर्न ठूलो मद्दत गर्नेछ । नेपालमा सिमेन्ट उद्योगलाई चाहिने खनिज पदार्थ क्लिंकर प्रशस्त छ । त्यसैले पनि यहाँ झन्डै २ दर्जन ठूला सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

यद्यपि अहिलेको आर्थिक मन्दीले स्वदेशमा सिमेन्टको मागमा कमी आउँदा उद्यमीहरू दुखित छन् । तर पनि यही बेला भारततर्फको निकासी सन्तोषजनक रहेको हुँदा उद्यमीहरूमा आशाको नयाँ किरण पलाएको छ । भारतले उदारतापूर्वक आफ्नो दुई प्रान्त बिहार र उत्तर प्रदेशमा मात्र सिमेन्ट निर्यात गर्न दिने वातावरण तयार गर्नुपर्छ । त्यस्तो भयो भने वार्षिक १ सय ५० अर्बको सिमेन्ट निकासी गर्न सक्ने धारणा उद्यमीहरूको रहेको छ ।

भारतका ती दुई ठूला प्रान्तमा सिमेन्टलाई चाहिने खनिज पदार्थ (पहाडहरू) नभएका कारण धेरै टाढाको प्रान्तबाट सिमेन्ट ल्याउनुपर्छ । त्योभन्दा नजिकको दूरी नेपालको सिमेन्ट कारखाना पर्छन् । नेपालमा सिमेन्ट उत्पादनका लागि चाहिने खनिज पदार्थ (पहाड) छ । नेपालमा प्रशस्त मात्रामा रहेको विद्युत् सहज भएको र सरकारले निकासी गर्ने उद्योगहरूलाई यसै वर्षदेखि ८ प्रतिशत नगद अनुदान दिने गरी बजेट ल्याएको छ ।

यसले पनि निकासीको वातावरण बनेको हो । भारतका ती प्रान्तमा मात्रै ३५ करोड जनसंख्या रहेको छ । उनीहरूलाई भारतकै टाढाको प्रान्तबाट सिमेन्ट र छड खरिद गर्नुभन्दा नेपालबाट लैजाने दूरी कम पर्छ । गुणस्तरलाई पनि कायम राख्न सकियो भने निकासीको सम्भावना बढेर जान्छ । जसलाई नेपाली उद्यमीहरूले राम्रोसँग सदुपयोग गर्नुपर्छ । उत्पादनका क्रममा गुणस्तर खस्काउने काम गर्नुहुन्न । सिमेन्ट र डन्डी उद्योगले ठूलो मात्रामा विद्युत् खपत गर्छन् । यो बेला नेपालको विद्युत्को खपत गर्ने क्षेत्रको पनि खाँचो हुँदैन । नेपालले प्रयोग गरेर बढी भएको मध्ये हाल करिब ४५० मेगावाट विद्युत् भारत निर्यात भइरहेको छ ।

नेपालमा वार्षिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशत महसुल छुटको योजना पनि लागू गरिएको छ । जसले उद्योग खुल्ने क्रम बढ्ने र रोजगारी सिर्जना हुने वातावरण तयार गरेको छ । तर आर्थिक मन्दीले मागमा कमी र बैंक ब्याज वृद्धिले उद्योगमा नकारात्मक असर परेको छ । विद्युत् उत्पादन बढाउन सकेमा विद्युतीय गाडीहरू धेरैभन्दा धेरै चलाउन सकिन्छ । अहिले मासिक रूपमा भारतबाट खरिद गरिरहेको इन्धनको परिणाम आधा घटाउन सकिने अनुमान छ । हाल मासिक २६ अर्बको पेट्रोलियम पदार्थ नेपाल ल्याउने गरिएको छ । सिमेन्ट, डन्डी र विद्युत्बाट मात्रै ३३ प्रतिशत व्यापार घाटा कम गर्न सकिने विज्ञहरूको धारणा आएको छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : आश्विन १६, २०८० ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?