कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन चाहियो विमानस्थलै विमानस्थल ?

पाठक पत्र

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालन हुन पाएको छैन, खर्बौं खर्च गरेर बनाइएका पोखरा र लुम्बिनीका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा कुकुर–बिरालाहरू कबड्डी खेल्छन् । तर निजगढको जंगलमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्ने रे ।

किन चाहियो विमानस्थलै विमानस्थल ?

देश आर्थिक संकटतिर उन्मुख छ भन्छन्, निजगढको काठ बेचेरै आर्थिक संकट टार्ने हुन् कि ? वातावरणीय एवम् प्राकृतिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको जंगल मासेर विशाल अत्याधुनिक एयरपोर्ट र स्मार्ट सिटी त बनाउने तर त्यसबाट हुने चुरे विनाश, भूक्षय तथा आधारभूत कृषि उत्पादनमा हुने ह्रासको असरबाट कसरी पार लाग्ने ?

उक्त थप एयरपोर्टको उपयोगको सम्भाव्यता कति छ ? त्यसले कहिलेसम्म ऋण तिर्ला र कहिले नाफा देला ? २५ वर्षदेखि ‘भिजिट नेपाल, भिजिट नेपाल’ चिच्याएर पनि १० लाख पर्यटक त पुर्‍याउन सक्या छैन । वैदेशिक रोजगारी र विदेश अध्ययनमा जाने क्रम घट्यो ।

यसका लागि पुरानादेखि नयाँ पार्टीहरूसम्म पनि चिच्याइरहेका छन् । काठमाडौंको एयरपोर्टमै यात्रु र जहाजको चाप आधी पनि रहन्न । त्यस्तो अवस्थामा निजगढ एयरपोर्ट कहिले आत्मनिर्भर होला ? ‘ऋणं कृत्वा घृतं पिवेत’ अर्थात् ऋण लिएर घिउ पिउने नीति आत्मघाती हुन्छ ।

अहिलेको समय उत्पादनशील क्षेत्रमा लगानी गर्ने समय हो, थोरै लगानीमा छोटो समयमा अधिक प्रतिफल दिने योजनामा ध्यान केन्द्रित गरी उपलब्ध स्रोतसाधनको उपयोग गर्ने समय हो ।

देखिने समृद्धिका लागि ठूला महत्त्वाकांक्षी परियोजनाहरू पनि बनाउने तर आधारभूत रूपमा आर्थिक आत्मनिर्भरताको अवस्थामा आएपछि बनाउने हो । थप अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेला अहिले भएको छैन, आवश्यक भएपछि बनाउने हो ।
– सीएन खड्का, काठमाडौं

प्रकाशित : जेष्ठ २५, २०८० १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?