कूटनीतिक चातुर्यताको खाँचो

पाठक पत्र

आजभोलि प्रतिनिधिसभा र राष्ट्रिय सभामा विकासको सन्दर्भ कमै उठ्ने गरेको देखिन्छ । नेता–नेताबीच घोचपेच, गालीगलौजको संस्कारले निरन्तरता पाइरहेको छ ।

जिम्मेवार नेतृत्वमा सकारात्मकभन्दा नकारात्मक भावनाले जरो गाड्दा आपसी मेलमिलापको वातावरण खलबलिएको, अन्तर्राष्ट्रिय सम्बन्ध इतिहासमै कमजोर भएको यथार्थबाट हामी अनभिज्ञ छैनौं ।

परराष्ट्र नीतिमा दलहरूबीच समभाव नहुनु, शीर्षनेताहरू आ–आफ्नै डम्फु बजाउँदै हिँड्नु, अयोग्य व्यक्तिलाई राजदूतमा नियुक्त गर्नु, जिम्मेवार व्यक्ति, निकाय कूटनीतिक क्षेत्रमा कमजोर देखिनुले विश्वभर हाम्रो बदनामी भइरहेको छ ।

हुँदाहुँदा हाम्रो राजनीतिक गाईजात्रा छिमेकी भारतले पनि नजिकबाट नियालिरहेको भान हुन थालेको छ, ‘आपसमा लडेरै सिद्धिऊन्’ भन्नेजस्ता भाव बोकेको संशय पैदा भएको छ ।

यता हाम्रो कूटनीतिक क्षेत्र विश्वमै कमजोर रहेको मान्न सकिन्छ । शीर्षनेता एउटाले अर्कोसँग कूटनीतिको परिभाषा सोध्ने, चोक–गल्लीमा गएर उफ्रिने नेताको चरित्र नौलो होइन ।

कूटनीतिक सफलताले भूपरिवेष्टित मुलुक स्विट्जरल्यान्डको सफलताको सन्दर्भ होस् या शक्तिशाली देशहरूका बीचमा रहेका सिंगापुर, कतार, बेल्जियमजस्ता मुलुकहरूले देखाएको चमत्कार नै किन नहोस्, यिनीहरूबाट हाम्रो नेतृत्वले कहिल्यै सिक्न सकेन, ३४ वर्षदेखि होहल्लाको राजनीतिमै रमाइरहे ।

भारतसँगको सम्बन्धबारे कुरा गर्दा राजनीतिक तहमा सदैव तिक्तता देखिए पनि जनता–जनताबीचको सम्बन्ध अक्षुण्ण र सदाबहार छ । सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, भाषिक, साहित्यिक सम्बन्धलाई विश्वमै अद्वितीय मान्नुपर्छ ।

सोबाहेक भारतमा स्थायी बसोबास गर्ने नेपालीको संख्या ६० लाखभन्दा बढी भएको बताइन्छ । हाम्रा सत्ताधारी भारतमा बसोबास गरेका, प्रत्यक्ष, अप्रत्यक्ष सम्बन्ध भएका पचासौं लाख सर्वसाधारणको अभिभावक पनि होइनन् र ?

सधैं राजनीतिक तुरूप फ्याँकेर मुलुक र जनतालाई दुःख दिन सुहाउँछ ? यता नक्कली भुटानी शरणार्थी, पशुपतिनाथको जलहरी प्रकरण, भ्रष्टाचार र काण्डैकाण्डको दुर्गन्धले मुलुक प्रदूषित बनिरहेको छ ।

कूटनीतिक चातुर्यले बहुआयामिक क्षेत्रमा उपलब्धि हासिल हुनुका साथै दक्षिण एसियाली मुलुकमा पुग्ने ढोकासमेत खुल्न सक्छ । राजनीतिक एजेन्डाभित्र सधैं जनतालाई मुछिरहनु खेदजनक छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : जेष्ठ २५, २०८० १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?