३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संसद् निरर्थक गफ गर्ने थलो नबनोस्

पाठक पत्र

प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भारत भ्रमण सकेर देश फर्किएका छन् । यस्तोमा संसद्भित्र प्रमको भ्रमणको उपलब्धि के ? के कस्ता सन्धि, सम्झौता र सहमतिहरू भए ?

देशको उद्योग, व्यापार र पर्यटनमा टेवा पुग्ने केके कुराहरू गरिए ? नदी/बाढी नियन्त्रणमा केकस्ता छलफल र सहमति भए ? सीमा, सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषिजस्ता विकासमुखी विषयहरूमा केकस्ता उपलब्धि भए ?

त्यसबारे चर्चा र विवेचना हुनुको सट्टा भ्रमणका क्रममा कसले के लुगा लगाए ? कहाँ पूजा गरे ? कोलाई कहाँ उभ्याए ? प्रोटोकलमा कहाँ के बिराए ? कहाँ के नाच देखाए ? यस्तायस्ता गसिपमा संसद्को सत्र खर्चिन्छन् हाम्रा सांसद र वरिष्ठ नेताहरू ।

कोही सिङ न पुच्छरको कुरामा पनि उत्पातै उफ्रेर आफूलाई खुंखार क्रान्तिकारी देखाउन खोज्छन् । राष्ट्रवादी राष्ट्रचिन्तक साबित गर्न हतारिन्छन् । यो सब देख्दा कहिलेकाहीँ उदेक लागेर आउँछ । संसद्मा यस्तै हुने हो भने यस्तो संसद् चाहिन्छ र ? यति सांसद चाहिन्छ र ? यी सांसदहरूले खाने राष्ट्रको नुनको सोझो गर्ने गरेका छन् र ? संसद्भित्र र बाहिरका यस्तै गतिविधि र खिसिटिउरीले गणतन्त्र र संघीयतामाथि प्रश्न उठ्ने गरेका छन् ।

काम छैन भने बरु आआफ्नो निर्वाचन क्षेत्रतिर जानुस् । जनताका पीरमर्का सुन्नुस् । दीर्घकालीन महत्त्वका विकास निर्माणका सम्भावनाहरूबारे छलफल गर्नुस् । तर गरिब नेपालीले तिरेका करबाट तलबभत्ता र सुविधा खाएर खिसिटिउरी र ख्यालठट्टामा समय नगुमाउनुस् ।
– सीएन खड्गा, लोसपा, नेपाल

प्रकाशित : जेष्ठ २४, २०८० ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?