प्लास्टिकको विकल्प खोजौं

पाठक पत्र

आइतबारको कान्तिपुरमा प्रकाशित श्रीलंकाली जंगली हात्तीहरू खानेकुरा खोज्दै गरेको फोटो मर्मस्पर्शी लाग्यो । अझ उक्त फोटोको क्याप्सनमा लेखिएको– ‘श्रीलंकाको अम्पारामा शनिबार फोहोरको थुप्रोमा खानेकुरा खोज्दै जंगली हात्ती ।

प्लास्टिकको विकल्प खोजौं

पर्याप्त आहारा नपाउँदा वन्यजन्तुले खानेकुरा फालेका प्लास्टिक खाने गरेका छन् । गत वर्ष मरेका २० वटा हात्तीमध्ये धेरैको पेटमा प्लास्टिक पाइएको थियो । फोहोर खाँदा जंगली हात्ती, मृग लगायत वन्यजन्तु मर्न थालेपछि एक पटक मात्र प्रयोग गरिने प्लास्टिकलाई निषेध गर्ने कानुन ल्याउने तयारी भइरहेको श्रीलंकाली वातावरण मन्त्रालयले जनाएको छ ।’ कुराले समस्या कति जटिल भइसकेछ भन्ने प्रस्ट छ ।

प्लास्टिक आधुनिक भनाउँदो मानिसको अभिन्न अंग भइसकेको छ । आजको उपभोक्तावादी समाजले उत्पादन गरेका हरेक कुरामा प्लास्टिक घुसिसकेको छ । यसको विकल्प अत्यावश्यक भइसकेको छ । यसको कारण अहिले जंगली जनावर मर्न थालेको समाचार आउन थालेको छ । भोलि प्लास्टिककै कारण मानव जीवन पनि धरापमा पर्न सक्छ । यसका लागि सरकारले आवश्यक नीतिगत निर्णय गरी एक पटक मात्र प्रयोग गरिने प्लास्टिकलाई निषेध गर्ने कानुन ल्याउन र लागू गर्न ढिलो भइसकेको छ ।

यो एउटा मात्र अमुक देशको समस्या होइन, विश्वव्यापी समस्या हो । हुन त वैज्ञानिकहरू कीराले खाने खालको र कुहिएर नष्ट हुने प्लास्टिकको निर्माणमा जोडतोडका साथ लागिपरेका छन्, तैपनि हालसम्म त्यस्तो प्लास्टिक भने बनिसकेको छैन, भविष्यमा त्यस्तो प्लास्टिक बन्नेमा आशावादी भने हुनैपर्छ ।
– वीरेन्द्र सुवाल, ब्यासी, भक्तपुर

प्लास्टिकले त वातावरण बिगार्ने पो भयो
गाउँटोल सहरबजार यसकै थुप्रो भयो
सजिलो र हलुका यो वरदानै थियो
अहिले भने धर्तीलाई नै चुनौती पो दियो
हिमाल, सागर, माटो, जंगल, हावापानीमा
असर यसको देखिँदो छ हरेक प्राणीमा
सय वर्ष हजार वर्ष कुहिँदैन यो
नछोएरै टार्न पनि सकिँदैन यो
अत्यावश्यक ठाउँमा मात्रै प्रयोग गर्ने गरौं
विकल्पले चल्ने ठाउँमा विकल्प नै रोजौं
विवेकशील प्राणी ? हामी सचेत हुनुपर्‍यो
निर्विकल्प एउटा धर्ती बचाउनुपर्‍यो ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : जेष्ठ २४, २०८० ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?