१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ग्रामीण क्षेत्रको स्वास्थ्य सेवाको कठिनाइ

पाठक पत्र

दैलेखको सदरमुकाम र निर्माणाधीन मध्यपहाडी लोकमार्ग हुँदै निःशुल्क स्वास्थ्य सेवा दिनपूर्व जाजरकोटसँगको सिमाना जोडिएको भगवतीमाई पालिकामा पुग्ने अवसर हालै पाइयो ।

ग्रामीण क्षेत्रको स्वास्थ्य सेवाको कठिनाइ

जिल्ला सदरमुकाम कालोपत्रे सडकले जोडिनु अनि पश्चिम वैतडीदेखि सुदूरपूर्वको सीमावर्ती जिल्लासम्म सडक पुग्नुले उत्साहित नै तुल्यायो । तर भगवतीमाई पुग्दा भने खिन्न बन्न पुगें । गाउँमा उमेर पुगेका वृद्धवृद्धादेखि महिला मात्रै भेटिने रहेछन् ।

वृद्ध भत्ता पाए पनि ज्येष्ठ नागरिकलाई उपचार लगायतको सेवा आवश्यक पर्दा उपचार केन्द्रमा समेत पुर्‍याइदिने सहयोगी व्यक्तिको अभाव छ ।

ती ठाउँहरूमा फलफूल, तरकारीको व्यावसायिक खेतीमा केही वृद्धि भएकै छ । तर तिनको संरक्षण, सहज निर्यात र उचित बजारको प्रबन्ध हुन सकेको छैन । अझै भौगोलिक विविधता अनुकूल जमिनको सदुपयोग गरी उत्पादकत्व र उत्पादनमा वृद्धि हुन सकेको छैन ।

उच्च चापले बगिरहेका खोलाहरूको उपयोग हुन सकेको छैन । स्थानीय निर्यातयोग्य वस्तुहरू उत्पादनमा प्रश्रय दिई मल, बीउबिजन र फसलको संरक्षण सरकारहरूबाट हुन सकेको छैन ।

सार्वजनिक शिक्षाको व्यवस्थापन केही सहज भए पनि चिकित्सा सेवाको हकमा भने पालिकाको स्तरबाट मात्रै चिकित्सा सेवा प्रदान गर्न सकिन्न । आवश्यक पर्दा विशेषज्ञ सेवा उपलब्ध नहुनु, एमबीबीएस चिकित्सक उपस्थित रहे पनि सामान्य एक्सरे र प्रयोगशाला सेवा उपलब्ध नहुँदा उपचारमा कठिनाइ छ ।

आवश्यक पर्दा अन्यत्र जानुपर्ने बिरामीका निम्ति उपयुक्त प्रेषण पद्धति र महँगो एम्बुलेन्स सेवालाई कसरी सहज बनाउने भन्ने सवाल पनि छ ।

स्थानीय पालिकालाई उपचार सेवाको व्यवस्थापन गर्न विद्यालयजस्तो सहज हुँदैन भन्ने हेक्का संघीय सरकारले राख्नुपर्थ्यो । कम्तीमा चिकित्सकहरूलाई संघले नै आवश्यकता अनुसार खटनपटन गर्नुपर्थ्यो ।

चिकित्साजस्तो संवेदनशील र प्राविधिक सेवालाई पालिकाको तजबिजीमा छोड्नु हुँदैनथ्यो । औषधिदेखि उपकरण खरिदलाई सम्बन्धित प्राविधिकसहित माथिल्लो स्तरमा व्यवस्थित हुनुपर्थ्यो ।

यातायात भाडा महँगो भएकाले सडक मार्ग गरिबहरूका लागि कागलाई बेलपाकेसरह बन्न पुग्छ । सार्वजनिक यातायातको पनि व्यवस्था वाञ्छनीय छ ।

त्यसैले विकासका सोपान सडक मार्ग मात्रै होइन भन्ने हेक्का राखिनुपर्छ ।
– ढुण्डीराज पौडेल, नेपालगन्ज

प्रकाशित : चैत्र १९, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?