कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एयर होस्टेसको पीडा सम्बोधन होस्

पाठक पत्र

‘एयर होस्टेसले सुनाए विभेद र दुर्व्यवहारका कथा’ समाचार पढेर अति दुःख लाग्यो ।

एयर होस्टेसको पीडा सम्बोधन होस्

नेपालगन्ज, विराटनगरलगायत अन्य दुर्गम हवाई मैदानमा उडान भर्दा पाइलटका सहचालक अर्थात् एयर होस्टेसले सुनाएका दुर्व्यहारका कथाले मुलुकभित्र र अन्तरर्राष्ट्रिय उडानमा समेत हुने व्यवहारको प्रतिनिधित्व गर्छ, जुन अत्यन्त कहालीलाग्दो, निन्दनीय मात्र नभई दण्डनीयसमेत छ ।

उडानभर यात्रीको सहचारी भएर उडान भर्नुपर्ने एयर होस्टेस स्वयं यस्ता शारीरिक र मानसिक पीडाग्रस्त रहनुपर्दा कसरी हँसिला, खुसिला भएर यात्रीको हवाई यात्रा सुखद तुल्याउन सक्लान् ? धन्य, आज ती क्याबिन क्रु, जसले ठूलै साहस बटुलेर आफ्ना पीडा भरिएका तीता अनुभव पोखे, तिनीहरूलाई सलाम गर्नै पर्छ ।

युवतीले आफूमाथि परेको पीडा, अन्याय वा यौन दुर्व्यवहार त्यत्तिकै बताउँदैनन्, अहिलेको गुनासो असह्य शारीरिक तथा मानसिक वेदना र तनावको विस्फोटन हो । त्यसकारण क्याबिन क्रुले वायुसेवा निगमको व्यवस्थापनसमक्ष उपस्थित भएरै गरेको गुनासो वा उजुरप्रति वायुसेवा कम्पनीले छानबिन गर्ने र उनीहरूका समस्यालाई निर्भीक भएर समाधान गर्नैपर्छ ।

साहस निकालेर उजुरी वा गुनासा गरेमा आफ्नो पहिचान हुने डरले कति एयर होस्टेस चुपचाप होलान्, सहजै अनुमान गर्न सकिन्छ । १० वर्षदेखि पारिश्रमिक वृद्धि नगरेको, उडानको रोस्टर पालना नगरी मन पर्ने र नपर्ने छुट्याएर उडानमा खटाउने गरेको, अन्तर्राष्ट्रिय श्रम ऐनअनुसार बिदा नदिने र गुनासो गरे उल्टै कारबाहीमा परिने हुँदा सबै वेदना सहेर पनि सेवा गर्न एयर होस्टेसलाई बाध्य पारिएको रहेछ ।

यस्तो असह्य घटना र व्यवहार नसच्चिए क्याबिन क्रुको कार्य सम्पादन प्रभावकारी र आकर्षक बन्न सक्ला ?
नौ वटा वायुसेवा कम्पनीका दुई दर्जन एयर होस्टेस वा क्याबिन क्रुमाथि परेका र सम्भाव्य समस्याप्रति गम्भीर बनेर वायुसेवा व्यवस्थापनले पेस भएका गुनासाप्रति कडाइका साथ अनुगमन गरी भए/देखिएका समस्या भविष्यमा नदोहोरिने अनुभूति हुने गरी निमिट्यान्न पार्न अति जरुरी भइसकेको छ ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : चैत्र १४, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?