संघको हावाले प्रदेश अस्थिर

पाठक पत्र

संघमा आएको राजनीतिक बदलावले यतिबेला सबै प्रदेशमा हलचल मच्चिएको छ । सुदूरपश्चिममा सरकार बनेको महिना दिन नबित्दै अर्को सरकार गठन भइसकेको छ ।

अरू प्रदेशका सरकारको भविष्य पनि अन्योलमा छ । लुम्बिनी र गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेका छन् । अब बन्ने सरकारमा पनि आलोपालोको कुरा अवश्य आउनेछ । कोशी प्रदेशमा तत्कालका लागि सरकार परिवर्तन हुने सम्भावना नरहे पनि यसको आयु कति हुने भन्ने सुनिश्चित छैन । कर्णालीमा माओवादी केन्द्रको सरकारलाई यथावत् राख्ने सम्भावना भए पनि मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा सरकार परिवर्तन हुने निश्चितप्रायः छ ।

प्रदेशको समस्या समाधान गर्न संघको मुख ताकेर बस्ने प्रदेश सांसदहरूको परिपाटी अन्त्य गर्न सक्नुपर्थ्यो । तर कुनै राजनीतिक दलका प्रदेश संयोजकले समस्या समाधान गर्ने हिम्मत गर्न सकेको देखिएन । यसले गर्दा संघको हावाले प्रदेश हल्लाइरहेको छ । राजनीतिक दलहरूले प्रदेशमा देखिएको समस्या त्यही हल गर्ने गरी अधिकार प्रत्यारोपण गर्नुपर्छ र प्रदेशका नेताहरूले पनि त्यसका लागि सक्षम रहेको देखाउन सक्नुपर्छ । संघको मुख ताकेर बस्नु हुँदैन ।

संघीय सरकारको समीकरण परिवर्तन हुनेबित्तिकै सम्पूर्ण प्रदेशका जिम्मेवार नेता तथा सांसदहरू पार्टी अध्यक्षको दैलोमा लम्पसार पर्ने परम्पराको अन्त्य हुनुपर्छ । आफ्नो पद सुरक्षित गर्नतिर मात्र भन्दा पनि कसरी प्रदेशमा स्थिरता दिने भन्नेमा ध्यान दिनुपर्छ । संघको बेवास्तै गरेर प्रदेशलाई स्थायी सरकार दिनतिर लाग्नु जरुरी छ । यसले प्रदेशको समस्या त्यही समाधान हुने अवस्था बन्छ । दुई महिनामै दुई प्रदेश सरकार बन्ने परिस्थितिको अन्त्य हुनैपर्छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : चैत्र १३, २०७९ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्

सक्षम मन्त्रीको खोजी

पाठक पत्र

आर्थिक मन्दीले देशमा चौतर्फी निराशा छाएको छ  । अर्कातिर अयोग्य लडाकु र सहिदको नाममा राज्यकोषको करिब ८ अर्ब ८० करोड दिन खोजिँदै छ  ।

पुँजीगत खर्च २३ प्रतिशत मात्र भएको छ भने विकास निर्माणलाई गति दिने मन्त्रीहरू नियुक्त गर्न सकिएको छैन । काम गर्ने वातावरण नहुँदा प्रेम आचार्यजस्ताले आत्मदाहको बाटो रोज्नुपरिरहेको छ । अर्कातिर सत्ता छिनाझपटीमै नेताहरूले दिन बिताइरहेका छन् ।

यस्तो निराशालाई चिर्ने कसले ? जनतामा आशा र विश्वास दिलाउने कसले ? यी प्रश्नमा नेताहरू ठण्डा दिमागले घोत्लिनैपर्छ । यसको पहिलो पाइला हो— आमजनमा उत्साह भर्न सक्ने सक्षम युवा नेताहरूलाई मण्त्रिमण्डलमा पठाउने । अबको केही दिनमा पुष्पकमल दाहाल सरकारले पूर्णता पाउँछ । तर सरकारको पूर्णताले मात्र सरकारप्रतिको जनआस्था बढाउन सक्दैन । त्यसका लागि सरकारमा जाने मन्त्रीहरूको अनुहार, बेदाग छवि, दृष्टिकोण र सक्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

पहिले पनि मन्त्रिपरिषद्मा समावेश भई कुनै काम देखाउन नसकेका, जनताको नजरमा अक्षम व्यक्तिहरूलाई नै शीर्ष नेताहरूले पुनः पठाए त्यसले पार्टीविशेषको छविको त खत्तम हुन्छ नै सरकारप्रतिको विश्वासमा पनि कमी ल्याउँछ । यसर्थ पार्टीहरूले नातागोता, आसेपासेभन्दा पनि सक्षम सांसदहरूलाई मन्त्रीमा छनोट गर्नुपर्छ । पार्टीहरूले जनताको कुरा सुन्न सक्नुपर्छ, चाहना बुझ्नुपर्छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

प्रकाशित : चैत्र १३, २०७९ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×