सक्षम मन्त्रीको खोजी

आर्थिक मन्दीले देशमा चौतर्फी निराशा छाएको छ । अर्कातिर अयोग्य लडाकु र सहिदको नाममा राज्यकोषको करिब ८ अर्ब ८० करोड दिन खोजिँदै छ ।
पुँजीगत खर्च २३ प्रतिशत मात्र भएको छ भने विकास निर्माणलाई गति दिने मन्त्रीहरू नियुक्त गर्न सकिएको छैन । काम गर्ने वातावरण नहुँदा प्रेम आचार्यजस्ताले आत्मदाहको बाटो रोज्नुपरिरहेको छ । अर्कातिर सत्ता छिनाझपटीमै नेताहरूले दिन बिताइरहेका छन् ।
यस्तो निराशालाई चिर्ने कसले ? जनतामा आशा र विश्वास दिलाउने कसले ? यी प्रश्नमा नेताहरू ठण्डा दिमागले घोत्लिनैपर्छ । यसको पहिलो पाइला हो— आमजनमा उत्साह भर्न सक्ने सक्षम युवा नेताहरूलाई मण्त्रिमण्डलमा पठाउने । अबको केही दिनमा पुष्पकमल दाहाल सरकारले पूर्णता पाउँछ । तर सरकारको पूर्णताले मात्र सरकारप्रतिको जनआस्था बढाउन सक्दैन । त्यसका लागि सरकारमा जाने मन्त्रीहरूको अनुहार, बेदाग छवि, दृष्टिकोण र सक्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
पहिले पनि मन्त्रिपरिषद्मा समावेश भई कुनै काम देखाउन नसकेका, जनताको नजरमा अक्षम व्यक्तिहरूलाई नै शीर्ष नेताहरूले पुनः पठाए त्यसले पार्टीविशेषको छविको त खत्तम हुन्छ नै सरकारप्रतिको विश्वासमा पनि कमी ल्याउँछ । यसर्थ पार्टीहरूले नातागोता, आसेपासेभन्दा पनि सक्षम सांसदहरूलाई मन्त्रीमा छनोट गर्नुपर्छ । पार्टीहरूले जनताको कुरा सुन्न सक्नुपर्छ, चाहना बुझ्नुपर्छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं