युवाहरूलाई रोजगारी खोइ ?

पाठक पत्र

पछिल्लो समय देशमा आर्थिक संकट चुलिँदो छ । देश कसरी चलाउने भनेर चिन्ता लिनुपर्ने नेताहरूलाई भने यो कुराले खासै फरक पारेको छैन ।

तिनको सोच–विचारमा कहिल्यै परिवर्तन आएन । खालि आफू र आफ्ना लागि पैसा जम्मा गर्न पाए पुग्यो । भाषण सुन्दा अब त सुध्रिएलान् कि भन्यो, जस्ताको त्यस्तै । प्रधानमन्त्री, राष्ट्रपति बनेर फोटो झुन्डाउनु मात्र सफलता हो ? देशको आर्थिर्क अवस्था कसरी सुधार्न सकिन्छ भनेर दलहरूले खोइ मनन गरेको ? प्रधानमन्त्री को बन्ने भन्ने खेलमै देशको तीन दशक बित्यो ।

अहिले दैनिक उपभोग्य सामग्रीकै पनि आयात गर्नर्पुर्छ । यसरी अर्बौं रुपैयाँ विदेश गइरहेको छ । यही केही गर्ने वातावरण छैन । कमाएको पैसाले परिवारको खर्च धान्न पनि पुग्दैन । त्यसैले युवा जमात आफ्नो भविष्य खोज्न बिदेसिइरहेका छन् । अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत देशले भिसा प्रक्रियालाई सहज बनाउने हो भने भोलिका दिनमा देश नै खाली हुन बेर छैन । यति मात्र होइन, उच्च शिक्षाका लागि दैनिक सयौंको संख्यामा विदेश जाने युवाहरूले करोडौं रुपैयाँ पनि लगिरहेका छन् ।

यस्तो हुँदा पनि नेताहरूलाई देशको भविष्यबारे चिन्ता छैन । आफ्नैबारे मात्र सोच्छन् । अहिले सरकारको बेरुजु पनि बढेको छ । नेता तथा पूर्वकर्मचारहरूलाई पनि अनावश्यक सुविधा दिइएको छ । अर्थतन्त्रको भारलाई कम गर्दै यसको सुधारका लागि अहिल्यै पहल गर्नुपर्छ । बेलैमा नसोच्ने हो भने आर्थिक संकट झन्झन् बढ्नेछ । युवाहरूको पलायन अझ बढ्नेछ ।

भाषणले मात्र देश विकास हुँदैन, त्यसका लागि दृढसंकल्प र समर्पण चाहिन्छ । ‘कुर्सी मलाई नै चाहियो’ भन्ने राजनीतिले देशको निकास दिँदैन । युवाहरूलाई रोजगारी खाँचो छ । यसका लागि नेताहरूले ध्यान दिनैपर्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

काठमाडौंमा घरहरू फल्न थाले । जनसंख्याको चाप बढ्दो छ । उत्पादनको नाउँमा विदेशी आयातमा निर्भर छौं । यहाँ केही पनि उत्पादन गर्ने परिस्थति छैन । भएका उद्योग कलकारखाना पनि बन्द छन् । सक्षम युवाहरू बेरोजगार भइरहेका छन् । सबैमा उदासीनता व्याप्त छ । रेमिट्यान्सले देश चलिरहेको छ । युवाहरूका लागि रोजगारीको अवसर सरकारले सृजना गर्न सकेको छैन ।

कुनै पनि राजनीतिक दलको योजनामा युवाहरूलाई कसरी रोजगारी दिने भन्ने खाका भेटिन्न । यस्तो अवस्थामा युवाहरूमाझ आशाको सञ्चार गर्न सकिन्न । पढेलेखेका युवाहरू कसरी आफ्नो भविष्यलाई उज्ज्वल बनाउने भन्ने ध्याउन्नमा छन्, त्यसका लागि अस्ट्रेलिया, अमेरिक लगायत देशमा हान्निइरहेका छन् । विदेशमा राम्रो काम पाइन्छ, आम्दानी हुन्छ भन्ने आमधारण बनेको छ । रोजगारीका लागि स्वदेशमै छटपटाउनुभन्दा यो एउटा राम्रो उपायको रूपमा देखा परेको छ । यस्तै हुने हो भने भोलि यो देश खाली हुनेछ ।

युवाहरूको विदेश पलायनलाई कसरी रोक्ने भन्नेमा सरकारले सार्थक पहल गर्न सकेको छैन । सरकारको नीति तथा कार्ययोजनमा यस्तो विषय भेटिन्न । योग्यता, क्षमता भएका युवालाई उत्पादनमूलक कार्यमा लगाउने समय अझै आएन र ?

आर्थिक संकटले आक्रमण गरिरहेको बेला युवालाई स्वदेशमै काममा लगाउन सरकारले व्यवस्था गरिदिन सके युवाशक्ति पसिना देशको उन्नतिमा खर्च हुन्थ्यो । देशको मुहार पनि फेरिन्थ्यो । युवाको तागतलाई उपयोग नगरी कुनै पनि देश संसारमा अघि बढेका छैनन् । तसर्थ यसतर्फ सरकारले ध्यान दिनु जरुरी छ ।
– कृष्ण थापा, टंगाल, काठमाडौं

प्रकाशित : चैत्र १०, २०७९ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

दुग्ध किसानलाई उपेक्षा

पाठक पत्र

काठमाडौंमा रहेको दुग्ध विकास संस्थान डीडीसी किसानको गाईभैंसीको दूध खरिद र संकलन गरिएको दूध वितरण गर्ने एक सरकारी संस्था हो । उक्त दूध वितरण गर्नेहरूले बजारमा उधारो दूध बेच्ने गरेका छैनन् ।

दुग्ध विकास संस्थानले बजारमा बेच्ने दूध किसानसँग किन उधारोमा किन्छ र अहिले दूध दिने किसानले समयमा रुपैयाँको भुक्तानी नपाएको समाचार सुन्दा नमीठो लागेको छ । डीडीसीले किसानलाई ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेछ, हरेक १५ दिनमा रकम भुक्तानी गर्दै आएको संस्थाले ३ महिना नाघिसक्दा पनि किसानलाई भुक्तानी नगर्नु भनेको आफैंमा लाजमर्दो विषय हो ।

किसानले डीडीसीलाई उधारोमा दूध बिक्री गरे पनि गाईभैंसीले खाने ढुटो, पिठो, दाना लगायत वस्तु भने नगदमै किनेका हुन्छन् । किसानले नगदमा दाना किनेर कसरी उधारोमा दूध बेच्न सक्लान् भनेर यो संस्थाका कर्मचारीहरूले चिन्तन–मनन गनुर्पर्थ्यो ।

तर व्यवहारमा यस्तो केही देखिएन । दुग्ध विकास संस्थान नै घाटामा गयो भनेर किसानको पैसा नतिर्नु वा रोक्नु भनेको संस्थानको कमजोरी र बेइमानी नै हो । कर्मचारीकै लापरबाहीले किसान मर्कामा परेका छन् । डीडीसीले आफ्नो संस्थाको व्यवसाय विस्तार गर्न कार्ययोजना नै बनाएर अघि बढ्नु जरुरी देखिन्छ ।

कर्मचारीलाई दैनिक एक लिटर दूध दिँदा महिनामा २ करोड रुपैयाँ बराबरको रकम घाटा पर्दो रहेछ । दूध नदिँदा सो रकम जोगिने भएकाले यसतर्फ पनि संस्थाले ध्यान पुर्‍याउनुपर्छ । त्यस्तै डीडीसीले बजारमा पठाएको दूध गनाएको भनी गत वर्ष चर्चा भएको थियो ।

तसर्थ दैनिक उपभोग्य चीज भएकाले दुग्ध उत्पादनमा गुणस्तरको समेत ध्यान दिएर देशैभरिका शाखा र उपशाखा सबैतिर फैलाउन पनि डीडीसीले ध्यान दिनुपर्छ । दही, मोही, पनीर, बनाएर बेच्नुभन्दा दुग्ध उत्पादन बढाउने र बिक्रीवितरणको बजार विस्तार गर्नेतर्फ विशेष ध्यान दिनु डीडीसीको अहिलेको आवश्यकता हो ।
– तिलप्रसाद न्यौपाने, माछापोखरी चोक, काठमाडौं

प्रकाशित : चैत्र १०, २०७९ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×