दुग्ध किसानलाई उपेक्षा

काठमाडौंमा रहेको दुग्ध विकास संस्थान डीडीसी किसानको गाईभैंसीको दूध खरिद र संकलन गरिएको दूध वितरण गर्ने एक सरकारी संस्था हो । उक्त दूध वितरण गर्नेहरूले बजारमा उधारो दूध बेच्ने गरेका छैनन् ।
दुग्ध विकास संस्थानले बजारमा बेच्ने दूध किसानसँग किन उधारोमा किन्छ र अहिले दूध दिने किसानले समयमा रुपैयाँको भुक्तानी नपाएको समाचार सुन्दा नमीठो लागेको छ । डीडीसीले किसानलाई ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेछ, हरेक १५ दिनमा रकम भुक्तानी गर्दै आएको संस्थाले ३ महिना नाघिसक्दा पनि किसानलाई भुक्तानी नगर्नु भनेको आफैंमा लाजमर्दो विषय हो ।
किसानले डीडीसीलाई उधारोमा दूध बिक्री गरे पनि गाईभैंसीले खाने ढुटो, पिठो, दाना लगायत वस्तु भने नगदमै किनेका हुन्छन् । किसानले नगदमा दाना किनेर कसरी उधारोमा दूध बेच्न सक्लान् भनेर यो संस्थाका कर्मचारीहरूले चिन्तन–मनन गनुर्पर्थ्यो ।
तर व्यवहारमा यस्तो केही देखिएन । दुग्ध विकास संस्थान नै घाटामा गयो भनेर किसानको पैसा नतिर्नु वा रोक्नु भनेको संस्थानको कमजोरी र बेइमानी नै हो । कर्मचारीकै लापरबाहीले किसान मर्कामा परेका छन् । डीडीसीले आफ्नो संस्थाको व्यवसाय विस्तार गर्न कार्ययोजना नै बनाएर अघि बढ्नु जरुरी देखिन्छ ।
कर्मचारीलाई दैनिक एक लिटर दूध दिँदा महिनामा २ करोड रुपैयाँ बराबरको रकम घाटा पर्दो रहेछ । दूध नदिँदा सो रकम जोगिने भएकाले यसतर्फ पनि संस्थाले ध्यान पुर्याउनुपर्छ । त्यस्तै डीडीसीले बजारमा पठाएको दूध गनाएको भनी गत वर्ष चर्चा भएको थियो ।
तसर्थ दैनिक उपभोग्य चीज भएकाले दुग्ध उत्पादनमा गुणस्तरको समेत ध्यान दिएर देशैभरिका शाखा र उपशाखा सबैतिर फैलाउन पनि डीडीसीले ध्यान दिनुपर्छ । दही, मोही, पनीर, बनाएर बेच्नुभन्दा दुग्ध उत्पादन बढाउने र बिक्रीवितरणको बजार विस्तार गर्नेतर्फ विशेष ध्यान दिनु डीडीसीको अहिलेको आवश्यकता हो ।
– तिलप्रसाद न्यौपाने, माछापोखरी चोक, काठमाडौं