नुन लिन पनि अझै संघर्ष

पाठक पत्र

'५ किलो नुन लिन ५ दिन यात्रा, ५ हजार खर्च’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :

गाउँगाउँमा सिंहदरबार भन्छन्, नेताहरू । व्यवहारमा जनताको दुःख उस्तै छ । जाबो नुनसम्म जनतालाई दिन नसक्ने कस्तो जनप्रतिनिधि जितेर गएछन्, यो ठाउँबाट ?
– शिव कार्की

सबैभन्दा ठूलो गल्ती त्यो ठाउँबाट चुनिएका जनप्रतिनिधिकै हो । सरकार बरु हामी २ रुपैयाँ महँगोमा खाउँला, अति बिकट हिमाली जिल्लामा सस्तोमा, सबैतिर नुन जसरी पनि पुर्‍याउनुपर्‍यो ।
– सन्तोष पौडेल

सरकारले महँगा गाडीका लागि बजेट, भूतपूर्व पदाधिकारीहरूलाई दिने सेवासुविधा घटाएर, अनावश्यक खर्च रोकेर जनतालाई कसरी हुन्छ, सहजै सबै सामान पुर्‍याउनुपर्छ ।
–प्रवीण रञ्जित

देशको दुर्गति, अर्बौं रुपैयाँ विलासिता र बेरुजुमा खर्च भइरहेको छ । जनताले भने नुनका लागि संघर्ष गर्नुपरिरहेको छ ।
– हरि श्रेष्ठ

जनतालाई नुनको जोहो पनि गरिदिन नसक्नुजस्तो लाचारीपन अरू के नै होला र !
– रञ्जन पौडेल

ज्यादै कारुणिक जीवन भोगाइ । संघबाट कर्णालीका नाउँमा जेजति पूर्वाधारमा खर्च गरिन्छ/गरिएको छ ती सबै प्रायःजसो जुम्लातिर हुने गर्छ । बाँकी सबै जिल्लावासीको दुरवस्था यिनै मुगुका बासिन्दाहरूको जस्तै छ । स्थानीय सरकारहरूले संयुक्त प्रयासबाट आआफ्ना ठाउँका नागरिकलाई सम्भव भएसम्म सजिलो बनाउने अग्रसरता लिनुपर्‍यो ।
–सम्वेद शर्मा चापागाई

सरकार भागबन्डामै अडिएको छ । यता जनतालाई भने सास्ती ।
– आभास कार्की

आखिर कहिलेसम्म यस्तो ? सम्बन्धित निकायको ध्यान जाओस् ।
– विराम तामाङ

प्रकाशित : चैत्र ८, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

विकास दृष्टि नभएका दलहरू

पाठक पत्र

प्रजातन्त्रको पुनःस्थापनापछि सत्तामा कांग्रेसको हालीमुहाली रहे पनि त्यसपछिका वर्षहरूमा कांग्रेस र कम्युनिस्ट नेतृत्वको लुछाचुँडी चलेको यथार्थ हामी भुल्न सक्दैनौं  । अहिले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सत्ताको वरिपरि घुम्दै स्वार्थसिद्धि गर्न तल्लीन देखिन्छन्  ।

अरू दलहरूको पनि कुर्सीमोह यति चुलिएको छ, जुनसुकै तरिकाबाट भए पनि सरकारमा पुगेर डाडुपन्यु चलाउन मरिहत्ते गरिरहेका छन् । विकास एजेन्डामाथि भने कुनै दल र तिनका नेताको चासो रहेको पाइँदैन । हरेक दृष्टिकोणले पछि धकेलिएको मुलुकको आर्थिक, सामाजिक क्षेत्रको रूपान्तरणमा राष्ट्रिय सहमति जुटाउनुपर्ने अपरिहार्यतामाथि दशकौंदेखि शीर्ष नेतृत्वले टेडो आँखा लगाउँदै आएको छ । विकासमा आपसी समझदारी, समन्वय, समदृष्टि, दृष्टिकोण नहुँदा नेताहरू आ–आफ्नै डम्फु बजाएर कुर्लने गरेका छन् ।

आर्थिक विकास र मुलुकको गरिमा बढाउने उद्देश्यले घोषणा गरिएको भ्रमण दशकमाथि तीन ठूला दलका नेता बेखबर छन् भने कृषि र औद्योगिक विकास ओरालो लागिरहेका छन् । खेलकुददेखि कूटनीतिसम्म, जनजीविकाका सवालदेखि राष्ट्रिय गौरवका आयोजनासम्म सबैतिर धमिरा लागेको देख्न सकिन्छ । नकारात्मक सन्दर्भहरू अनगिन्ती छन् ः भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि कांग्रेसका चर्चित नेताले तिनीहरूको औचित्वमाथि प्रश्न उठाएका छन् ।

वर्षौंअघि योजना बनेर निर्माणकार्य सम्पन्न भएको, मुलुक ऋणमा चुलुम्म डुबेको, लगानीकर्ता घरको न घाटको बन्न सक्ने अवस्थाको आकलन कांग्रेसजस्तो जिम्मेवार पार्टीले किन गर्न सकेन ? यता क्रिकेट खेलमा नेपाली टिमले उल्लेख्य सफलता पाउँदा मूलपानी र रामपुरका रंगशाला किन अलपत्र छन् ? ठूला दलले किन चासो दिएका छैनन् ?

विकासभन्दा शक्तिमा पुग्ने कुरूप राजनीतिक होडबाजीले मुलुकको समृद्धि थिचिनुका साथै चारैतिर अन्धकार व्याप्त छ । जबसम्म राजनीतिक विषयबाट अलग रहेर एउटै दृष्टिकोण, आँट, अठोटका साथ जिम्मेवार नेतृत्व विकासमा अघि बढ्दैन, तबसम्म नेपालको राजनीति विध्वंसकारी बनिरहनेछ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : चैत्र ८, २०७९ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×