विकास दृष्टि नभएका दलहरू

पाठक पत्र

प्रजातन्त्रको पुनःस्थापनापछि सत्तामा कांग्रेसको हालीमुहाली रहे पनि त्यसपछिका वर्षहरूमा कांग्रेस र कम्युनिस्ट नेतृत्वको लुछाचुँडी चलेको यथार्थ हामी भुल्न सक्दैनौं  । अहिले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सत्ताको वरिपरि घुम्दै स्वार्थसिद्धि गर्न तल्लीन देखिन्छन्  ।

अरू दलहरूको पनि कुर्सीमोह यति चुलिएको छ, जुनसुकै तरिकाबाट भए पनि सरकारमा पुगेर डाडुपन्यु चलाउन मरिहत्ते गरिरहेका छन् । विकास एजेन्डामाथि भने कुनै दल र तिनका नेताको चासो रहेको पाइँदैन । हरेक दृष्टिकोणले पछि धकेलिएको मुलुकको आर्थिक, सामाजिक क्षेत्रको रूपान्तरणमा राष्ट्रिय सहमति जुटाउनुपर्ने अपरिहार्यतामाथि दशकौंदेखि शीर्ष नेतृत्वले टेडो आँखा लगाउँदै आएको छ । विकासमा आपसी समझदारी, समन्वय, समदृष्टि, दृष्टिकोण नहुँदा नेताहरू आ–आफ्नै डम्फु बजाएर कुर्लने गरेका छन् ।

आर्थिक विकास र मुलुकको गरिमा बढाउने उद्देश्यले घोषणा गरिएको भ्रमण दशकमाथि तीन ठूला दलका नेता बेखबर छन् भने कृषि र औद्योगिक विकास ओरालो लागिरहेका छन् । खेलकुददेखि कूटनीतिसम्म, जनजीविकाका सवालदेखि राष्ट्रिय गौरवका आयोजनासम्म सबैतिर धमिरा लागेको देख्न सकिन्छ । नकारात्मक सन्दर्भहरू अनगिन्ती छन् ः भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि कांग्रेसका चर्चित नेताले तिनीहरूको औचित्वमाथि प्रश्न उठाएका छन् ।

वर्षौंअघि योजना बनेर निर्माणकार्य सम्पन्न भएको, मुलुक ऋणमा चुलुम्म डुबेको, लगानीकर्ता घरको न घाटको बन्न सक्ने अवस्थाको आकलन कांग्रेसजस्तो जिम्मेवार पार्टीले किन गर्न सकेन ? यता क्रिकेट खेलमा नेपाली टिमले उल्लेख्य सफलता पाउँदा मूलपानी र रामपुरका रंगशाला किन अलपत्र छन् ? ठूला दलले किन चासो दिएका छैनन् ?

विकासभन्दा शक्तिमा पुग्ने कुरूप राजनीतिक होडबाजीले मुलुकको समृद्धि थिचिनुका साथै चारैतिर अन्धकार व्याप्त छ । जबसम्म राजनीतिक विषयबाट अलग रहेर एउटै दृष्टिकोण, आँट, अठोटका साथ जिम्मेवार नेतृत्व विकासमा अघि बढ्दैन, तबसम्म नेपालको राजनीति विध्वंसकारी बनिरहनेछ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : चैत्र ८, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

लेखकद्वयले देखाएको वाद

पाठक पत्र

विद्यानाथ कोइरालाको ‘देखायौ वाद, गर्‍यौ बरबाद’ र प्रकाशचन्द्र लोहनीको ‘छलाङ्वाद र निरन्तरतासहितको गतिशीलता’ लेख पठनीय छन्  । भाषा र प्रस्तुति फरक भए पनि दुवै लेखकको आशय समान छ  ।

लोहनीले २००७ र २०४७ सालको परिवर्तनपछि शासक र शासन व्यवस्थाले बदलिएको परिस्थितिलाई गरेका सम्बोधनबारे तुलनात्मक व्याख्या गरेका छन् । त्यसबेलाका शासन व्यवस्था आमूल परिवर्तनको चाहनाबाट सृजित हुन् । हिजोको व्यवस्थाका देन तथा उत्पादनहरू सबै बेठीक थिएनन् । नेपाललाई आत्मनिर्भर बनाउन, सन्तुलित विदेश नीति अंगीकार गर्न, राष्ट्रियता मजबुत बनाउन, स्वविवेकमै आन्तरिक व्यवस्थापन गर्नमा त्यति बेला वाञ्छित सफलता मिलेकै हो ।

यस्ता अपलब्धि जोगाउँदै राजनीतिक नेतृत्व अघि बढेको भए मुलुक र जनताले आजको दुर्गति बेहार्नुपर्ने थिएन । राजनीतिक नेतृत्वले आँखामा नेपालवादको चस्मा लगाएर हेरेका भए धेरै सकारात्मक कुरा देख्ने थिए । विविध वादका घोडा चढेर मुलुक बरबाद गर्न र छलाङवादे डोजर चलाएर नेपालीको भविष्यलाई अन्धकारमा धकेल्ने दुस्साहस कसैले गर्दैनथ्यो होला ।

निरन्तरतासहितको गतिशीलतालाई अवलम्बन गर्दै अघि बढेको भए निश्चय नै प्रकृतिको भण्डार नेपाल यतिबेला विश्वका सम्पन्न राष्ट्रहरूको श्रेणीमा पुगिसकेको हुने थियो । दुर्भाग्य, अब हामीलाई खेर फालिएको समय र भएको घाटा वा क्षतिको भरपाई पाउन गाह्रो छ । छलाङवादको घोडामा सवार हुँदा नयाँ नेपाल त बनेन नै पुरानो नेपालसमेत रहेन ।
– वीरबहादुर थापा, मोरङ

प्रकाशित : चैत्र ८, २०७९ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×