पोर्चुगलमा उद्धारको पर्खाइ

पाठक पत्र

'जंगल हुँदै पोर्चुगल पुगेका ५ हजार नेपाली बिचल्लीमा’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :

सरकारले पोर्चुगलमा राजदूतावास खोल्न जरुरी छ । ५ हजार नागरिकलाई यसरी अलपत्र पार्न पाउँदैन ।
– ऋषि राज

अलिअलि पढेकै अलिअलि आधुनिकचेत भएका र युरोप/अमेरिकातिरै आफ्नो भाग्य खोज्न मन पराउनेहरूले किन नबुझेका होलान्, मानव तस्करले बखान गरे जसरी नै आफू हिँडेको स्वर्गमा सजिलै पुगिन्छ र सजिलै महिनाको तीन, चार लाख रुपैयाँ बराबरको काम पाइहालिन्छ भन्ने अद्भुत असम्भव कुथुंग्री ।
– सम्सेद शर्मा चापागाई

सरकारले काम परेका बेलामा सहयोग गर्ला भन्ने विश्वास छैन ।
– मुरारी दाहाल

मानिसहरू यसरी जोखिमपूर्ण यात्रा गरेरे पोर्चुगल पुगेको नेपाल सरकारलाई जानकारी छ कि छैन ?
– पुष्प काफ्ले

हजारौं नागरिक यसरी अलपत्र परेका छन् । सरकारले तत्काल उनीहरूको उद्धार गर्नुपर्छ । उनीहरूलाई कसले त्यहाँ पुर्‍यायो भन्ने पनि खोजी हुनुपर्छ । अहिले मानव तस्करहरू नेपालमा अधिक क्रियाशील छन् । वैदेशिक रोजगारीका नाममा सोझासीधालाई ठग्ने काम रोकिनुपर्छ ।
– नारायण गौतम

स्वदेशमा रोजगारीको अवसर नभएपछि पछिल्लो समय नेपाली युवाहरूको रोजगारीको गन्तव्य पोर्चुगल भइरहेको छ । त्यहाँ अचम्मैसँग नेपालीको संख्या बढेको छ । पारिश्रमिक खासै आकर्षक पनि होइन । तर, अन्य युरोपियन मुलुक छिर्न सजिलो माध्यम बनेको छ । त्यहाँबाट अन्त जान सके मनग्य कमाउन सक्छन् । यही कारण पोर्चुगलमा नेपालीहरूको संख्या बढेको हो । त्यसैले नेपाली दूतावासको स्थापना गर्नु आवश्यक छ ।
– बलराम गुरूङ

स्वदेशमै रोजगारी नपाएपछि, बाध्य भएर यसरी नै जाने त हो ।
– सन्दर्भ खनाल

यी नागरिकको बाध्यता हेर्दा कहाली लाग्छ ।
– समय शर्मा

नेपालको अहिलेको वास्तविक चित्र हो समाचार ।
– लक्ष्मी खड्का

प्रकाशित : चैत्र ७, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

शक्तिशालीलाई चैन

पाठक पत्र

स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको मुद्दा नचल्ने निर्णय अनुमोदनका लागि, काठमाडौं सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाएको पत्रले नेपालको न्याय व्यवस्थामा प्रश्न उठाउन बाध्य बनाएको छ ।

यस प्रक्रियामा उच्च अदालतले पनि समर्थन जनाई, महान्यायाधिवक्ता कार्यालयले मुद्दा फिर्ता लिने भनी हुन सक्ने निर्णयले ‘सर्वसाधारणलाई ऐन, शक्तिशालीलाई चैन’ भन्ने उखानको पुष्टि हुनेछ ।

स्वतन्त्र पार्टीका सभापति स्वच्छ छन्, राहदानी लिए पनि दुरुपयोग नभएको भनी सरकारी वकिलको कार्यालयको भनाइ, कानुनी नभई राजनीतिक दबाबमा आएको हो । निरस्त भएको नागरिकताको प्रयोग गरी दोहोरो राहदानी राख्नुको उद्देश्यले बदनियती दर्साउँछ ।

जगजाहेर भइसकेको यस प्रकरणको टुंगो न्यायालयबाट लागेमा, न्यायप्रति जनआस्थामा आउन सक्ने ह्रासको स्थिति रोकिनेछ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : चैत्र ७, २०७९ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×