शक्तिशालीलाई चैन

पाठक पत्र

स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको मुद्दा नचल्ने निर्णय अनुमोदनका लागि, काठमाडौं सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाएको पत्रले नेपालको न्याय व्यवस्थामा प्रश्न उठाउन बाध्य बनाएको छ ।

यस प्रक्रियामा उच्च अदालतले पनि समर्थन जनाई, महान्यायाधिवक्ता कार्यालयले मुद्दा फिर्ता लिने भनी हुन सक्ने निर्णयले ‘सर्वसाधारणलाई ऐन, शक्तिशालीलाई चैन’ भन्ने उखानको पुष्टि हुनेछ ।

स्वतन्त्र पार्टीका सभापति स्वच्छ छन्, राहदानी लिए पनि दुरुपयोग नभएको भनी सरकारी वकिलको कार्यालयको भनाइ, कानुनी नभई राजनीतिक दबाबमा आएको हो । निरस्त भएको नागरिकताको प्रयोग गरी दोहोरो राहदानी राख्नुको उद्देश्यले बदनियती दर्साउँछ ।

जगजाहेर भइसकेको यस प्रकरणको टुंगो न्यायालयबाट लागेमा, न्यायप्रति जनआस्थामा आउन सक्ने ह्रासको स्थिति रोकिनेछ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : चैत्र ७, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

सहकारीमा कर्जा सूचना केन्द्र

पाठक पत्र

काठमाडौं महानगरभित्र दर्ता भई सञ्चालनमा रहेका १९ सय सहकारीमध्ये ३ सय सहकारी बेपत्ता भएको हल्ला सुनिन्छ ।

सहकारी विभागमा आफ्नो विवरण अद्यावधिक नगराउने सहरकारीहरूको संख्या निकै छ । यो डरलाग्दो तस्बिर हो । सहकारीले आम जनतालाई ठगेका समाचार बारम्बार आइरहन्छन् । यस्तो समस्याको निदानका लागि सरकारले ठोस पहल गर्न सकेको छैन । यसका लागि कस्तो रणनीति बनाउने हो ? के कारणले सहकारीहरू समस्यामा परिरहेका छन् ? नियतवश वा परिस्थितिले ? यस्ता प्रश्नहरू गहिरोसँग केलाउनुपर्छ ।

अन्यथा अर्थतन्त्रको ३ खम्बे नीति कमजोर हुन्छ । सहकारी डुबाउने सञ्चालकहरूलाई बिगो बराबरको दण्ड–जरिवाना, उनीहरूको घरसम्पत्तिबाट असुलउपर र जेल सजायलाई कठोर बनाउन सके त्यसले घेरै हदसम्म जनता ठग्ने खेल रोकिनेछ । तर अहिले केही ठूला सहकारीहरू जनता ठग्ने र ठगीको अभियोगबाट बच्न जानाजान मन्त्रिपरिषद्बाट आफ्नो सहकारीलाई समस्याग्रस्त सहकारी छानबिन समितिमा पठाउने खेल हुँदा यो विकृति झनै मौलाएको छ ।

ठगीमा मुद्दा चलाए जेल जानुपर्ने तर समस्याग्रस्त घोषणा गर्न पाए छुट पाउने र समस्याहरू पनि सरकारले नै हेर्ने हुँदा गलत नियत हुनेहरूलाई सजिलो भएको छ । अहिले ठग सहकारी सञ्चालकहरू समस्याग्रस्त सहकारी घोषणा गराई उन्मुक्ति पाउने बाटामा लागेका छन् । यसर्थ सहकारी ऐन परिमार्जन गरी पीडितहरूको पैसा बाँकी रहेसम्म सञ्चालकहरू सबै थुनामै बस्नुपर्ने गरी नयाँ दफा थप गर्नु जरुरी छ ।

कानुन कडा बनाए ठगी उद्देश्यले खोलिएका सञ्चालकहरू आफैं पाखा लाग्छन् । कमजोर कानुन भए ठगीको माध्यम त्यही बन्छ । नेपालका सबै सहकारीहरूले करिब ८ खर्ब कर्जा परिचालन गरी यो देशलाई समृद्ध बनाउने काम पनि गरेका छन् । घरघरमा गई बचत संकलन गरेका छन् ।

पैसा आवश्यक परेको बेला तुरुन्त दिएका पनि छन् । यही कारण सहकारी अर्थतन्त्रको बलियो खम्बा बनेको छ । यसर्थ सरकारले सहकारीहरूलाई बचाउन सहयोगी भूमिका खेल्नुपर्छ । त्यसको पहिलो पाइला हो— यथाशीघ्र बैंकहरूको जस्तै कर्जा सूचना केन्द्र खोल्ने ताकि कुनै पनि ठग्ने नियत भएको व्यक्तिले धेरै ठाउँबाट ऋण लिन नपाओस् ।

दोस्रो, समस्यामा परेका सहकारीहरूलाई तत्काल सहयोग गर्न ऐनमा व्यवस्था भएको सहकारी स्थिरीकरण कोष सञ्चालनमा ल्याउने । यी सुधारले ५० प्रतिशत विकृति घटेर जान्छ । खराबलाई दण्ड र असललाई प्रोत्साहन गर्न सके मात्र सहकारीको उदेश्य सफल हुन सक्छ ।
– गोपाल देवकोटा, गौरीनगर, कामनपा–७

प्रकाशित : चैत्र ७, २०७९ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×