सहकारीमा कर्जा सूचना केन्द्र

पाठक पत्र

काठमाडौं महानगरभित्र दर्ता भई सञ्चालनमा रहेका १९ सय सहकारीमध्ये ३ सय सहकारी बेपत्ता भएको हल्ला सुनिन्छ ।

सहकारी विभागमा आफ्नो विवरण अद्यावधिक नगराउने सहरकारीहरूको संख्या निकै छ । यो डरलाग्दो तस्बिर हो । सहकारीले आम जनतालाई ठगेका समाचार बारम्बार आइरहन्छन् । यस्तो समस्याको निदानका लागि सरकारले ठोस पहल गर्न सकेको छैन । यसका लागि कस्तो रणनीति बनाउने हो ? के कारणले सहकारीहरू समस्यामा परिरहेका छन् ? नियतवश वा परिस्थितिले ? यस्ता प्रश्नहरू गहिरोसँग केलाउनुपर्छ ।

अन्यथा अर्थतन्त्रको ३ खम्बे नीति कमजोर हुन्छ । सहकारी डुबाउने सञ्चालकहरूलाई बिगो बराबरको दण्ड–जरिवाना, उनीहरूको घरसम्पत्तिबाट असुलउपर र जेल सजायलाई कठोर बनाउन सके त्यसले घेरै हदसम्म जनता ठग्ने खेल रोकिनेछ । तर अहिले केही ठूला सहकारीहरू जनता ठग्ने र ठगीको अभियोगबाट बच्न जानाजान मन्त्रिपरिषद्बाट आफ्नो सहकारीलाई समस्याग्रस्त सहकारी छानबिन समितिमा पठाउने खेल हुँदा यो विकृति झनै मौलाएको छ ।

ठगीमा मुद्दा चलाए जेल जानुपर्ने तर समस्याग्रस्त घोषणा गर्न पाए छुट पाउने र समस्याहरू पनि सरकारले नै हेर्ने हुँदा गलत नियत हुनेहरूलाई सजिलो भएको छ । अहिले ठग सहकारी सञ्चालकहरू समस्याग्रस्त सहकारी घोषणा गराई उन्मुक्ति पाउने बाटामा लागेका छन् । यसर्थ सहकारी ऐन परिमार्जन गरी पीडितहरूको पैसा बाँकी रहेसम्म सञ्चालकहरू सबै थुनामै बस्नुपर्ने गरी नयाँ दफा थप गर्नु जरुरी छ ।

कानुन कडा बनाए ठगी उद्देश्यले खोलिएका सञ्चालकहरू आफैं पाखा लाग्छन् । कमजोर कानुन भए ठगीको माध्यम त्यही बन्छ । नेपालका सबै सहकारीहरूले करिब ८ खर्ब कर्जा परिचालन गरी यो देशलाई समृद्ध बनाउने काम पनि गरेका छन् । घरघरमा गई बचत संकलन गरेका छन् ।

पैसा आवश्यक परेको बेला तुरुन्त दिएका पनि छन् । यही कारण सहकारी अर्थतन्त्रको बलियो खम्बा बनेको छ । यसर्थ सरकारले सहकारीहरूलाई बचाउन सहयोगी भूमिका खेल्नुपर्छ । त्यसको पहिलो पाइला हो— यथाशीघ्र बैंकहरूको जस्तै कर्जा सूचना केन्द्र खोल्ने ताकि कुनै पनि ठग्ने नियत भएको व्यक्तिले धेरै ठाउँबाट ऋण लिन नपाओस् ।

दोस्रो, समस्यामा परेका सहकारीहरूलाई तत्काल सहयोग गर्न ऐनमा व्यवस्था भएको सहकारी स्थिरीकरण कोष सञ्चालनमा ल्याउने । यी सुधारले ५० प्रतिशत विकृति घटेर जान्छ । खराबलाई दण्ड र असललाई प्रोत्साहन गर्न सके मात्र सहकारीको उदेश्य सफल हुन सक्छ ।
– गोपाल देवकोटा, गौरीनगर, कामनपा–७

प्रकाशित : चैत्र ७, २०७९ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्

पाइलैपिछे ठगिँदै उपभोक्ता

पाठक पत्र

चैत १ लाई नेपालमा पनि विश्व उपभोक्ता दिवसका रूपमा मनाइयो  । तर उपभोक्ता दिवस किन मनाइन्छ भन्नेचाहिँ कमैलाई थाहा छ  ।

प्रधानमन्त्री ‘कृषि क्रान्ति गर्छु’ भन्छन् तर किसानलाई दिँदै आएको मलका लागि अनुदानमा कटौती गर्छन् । किसानको तरकारी तथा फलफूलले उचित बजार पाउँदैन । भारत लगायत देशबाट विषादी मिसाएको तरकारी भित्रिन्छ ।

त्यसको चेकजाँचसमेत गर्न पाइँदैन । किसानको उत्पादन उचित मूल्यमा उपभोक्ताले खरिद गर्न पाउँदैनन् । के यही हो उपभोक्ताले पाएको सहुलियत ? बजारमा खाद्यान्न लगायत अति आवश्यक सामग्रीको भाउ हरेक दिन बढिरहेको छ । उपभोक्ता हित संरक्षण मञ्चलाई भने अत्तोपत्तो छैन ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमन गर्न भ्याउने कुरै भएन । उपभोक्ताहरू पहिलैपिच्छे ठगिँदै छन् । देश सञ्चालकहरू भने रमिते भएका छन् ।

हुनेखानेहरूलाई समस्या नहोला तर हुँदा खानेहरूलाई महँगीले निकै मारमा पारेको छ । उपभोक्ता दिवस मनाइरहँदा राज्य सञ्चालकहरूले यो समस्या पनि मनन गर्ने कि !
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : चैत्र ७, २०७९ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×