पाठक पत्र

उपकुलपतिको अन्तर्वार्ताले दिएको सन्देश

पाठक पत्र

१. आफैं उपकुलपति भएर आफ्नै विश्वविद्यालयको बारेमा यति तिखो तर सत्य टिप्पणी गर्ने हिम्मत भएका नेपालका विश्वविद्यालयका अरू कुनै उपकुलपति सायदै होलान् । यसका लागि उनलाई साधुवाद छ ।

२. त्रिवि यति गए–गुज्रेको अवस्थामा पुगिसकेको छ कि त्यहाँ उपकुलपति भनेका केवल राजनीतिक गोटी मात्रै हुन् र उनको योजनाले विश्वविद्यालय अगाडि बढ्न दिइँदैन । धर्मकान्तकै भाषामा उनका १५ बुँदे सुधारका योजना ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउनै सकेनन् ।

३. त्रिविमा अपराधी प्राध्यापकको बिगबिगी छ जसले ई–हाजिरीको मेसिन नै उठाएर लैजान्छन् । यसको अर्थ हुन्छ त्रिविका केही शिक्षक, प्राध्यापकका नाममा कलंक हुन् । यस्ता कलंक नहटाएसम्म त्रिविमा सुधार गर्न सकिन्न ।

→ अन्तर्वार्ता : ‘विश्वविद्यालय र उपकुलपतिको चीत्कारको सुनुवाइ भएको छैन’ [भिडियो]

४. त्रिविमा आपराधिक प्रवृत्तिका विद्यार्थीको पनि उपस्थिति छ । आफ्नो व्यक्तिगत वा संघ–संगठनका स्वार्थ पूरा नहुँदा क्याम्पस प्रमुख कुट्ने, शिक्षक कुट्ने, धम्कीको भाषा प्रयोग गर्ने, तालाबन्दी गर्ने, कालोमोसो दल्नेजस्ता घृणित काम तिनीहरूबाट हुँदै आएको छ । यस्ता कुलंगार समूह नहटाएसम्म त्रिवि सुधार हुँदैन ।

५. प्राध्यापक संघ त्रिविको जग्गा भाडामा लगाएर कमाउने धन्दामा लिप्त छ । त्रिविको ४ रोपनी जग्गा बसपार्कलाई भाडामा दिने नियत राख्नुले गैरशैक्षिक क्रियाकलापमा प्राध्यापक संघको संलग्नता रहेको पुष्टि गर्छ र त्यो संस्था पनि कमाउ धन्दामा नै व्यस्त छ भन्ने सन्देश प्रवाह गर्छ ।

६. त्रिविका अधिकांश शिक्षक र कर्मचारी अनुशासनहीन छन् । उनीहरू समय सीमाभित्र काम गर्दैनन् र कतिपय हाजिर ठोकेर अन्तै काम गर्न जान्छन् । यसको अर्थ त्रिविभित्र अनुशासन छैन भन्ने बुझिन्छ । यस्ता तत्त्वको बहिर्गमनविना त्रिविमा सुधार सम्भव छैन भन्ने अन्तर्वार्ताको प्रस्ट सन्देश छ ।

७. गएका तीन वर्षमा ३४२ दिन तालाबन्दी गरेर प्राध्यापक र विद्यार्थीको मुकुन्डो लगाएकाहरूले त्रिविको मात्रै हैन नेपालकै उच्च शिक्षाको अन्तर्राष्ट्रिय बेइज्जती गरेका छन् । आफ्नै मातृ संस्थाको अपमान गर्नेहरूले त्रिवि सुधारको सपना च्यात्ने नै भए । यस्ता आपराधिक हर्कत हटाउन नसकेसम्म त्रिवि सुधार गर्न सकिन्न ।

८. कुलपति र सहकुलपति हुने प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालयको समस्या नै थाहा छैन । यसले के सन्देश दिन्छ भने उहाँहरूले आफ्ना कार्यकर्ता व्यवस्थापन गर्ने थलोका रूपमा दबाब दिन मात्रै उक्त पद ओगट्नुभएको हो । अपराधीलाई दण्ड दिनेभन्दा परेको मुद्दासमेत फिर्ता लिन गृह मन्त्रालय र महान्यायाधिवक्तासमेत प्रयोग गर्ने कुलपति र सहकुलपति भएसम्म त्रिविमा सुधार सम्भव छैन ।

९. यति हुँदाहुँदै उपकुलपतिले गर्न सक्ने काम पनि नगरेको हो कि भन्ने पनि अन्तर्वार्ता पढेपछि महसुस हुन्छ । क्षेत्रीय कार्यालयलाई बलियो बनाएर त्रिविको प्रशासनिक भार कम गर्न सकिन्थ्यो, अहिलेको उक्त व्यवस्थामा थप नवीनता ल्याउन कार्यकारी परिषद् नै काफी छैन र ? फेरि विभिन्न खाले संकाय भएकाले क्यालेन्डर बनाउन सकिएन भन्नु नालायकी हैन र ? संकाय अनुसार नै क्यालेन्डर बनाएर हुबहु लागू गराउन कसैले रोकेको छ र ?

१०.‘मैले त भनेको हुँ तर कामै गर्न दिएनन्’ मात्रै भनेर पन्छन मिल्छ र ? यो यो काम यसरी अगाडि बढाएको छु, यहाँसम्म पुगेको छ, चुनौतीका बावजुद तीन वर्षमा यति गर्न सकें भन्ने कि आफ्नो चीत्कार मात्रै सुनाउने ?
– मनप्रसाद वाग्ले, मीनभवन, काठमाडौं

प्रकाशित : चैत्र ६, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षाशास्त्रको गुणस्तरमा प्रश्न

पाठक पत्र

शिक्षक सेवा आयोगले हालै सार्वजनिक विद्यालयमा रिक्त रहेका १७ हजार ४ सय ५५ दरबन्दी आपूर्ति गर्न खोलेको विज्ञापनमा लाखौं परीक्षार्थीको सहभागिता रह्यो, तर १३ हजार ४ सय ९४ मात्र सफल भए । ३ हजार ९ सय ६१ दरबन्दी अझै रिक्त छन् ।

यो खबरले हाम्रा विश्वविद्यालय र यस अन्तर्गत आंगिक र सम्बन्धनप्राप्त क्याम्पसको गुणवत्तामा प्रश्न उठेको छ । शिक्षा संकायहरू उही पुरानो पाराले चलेका हुनाले यो परिदृश्य देखिएको हो । र, शिक्षा संकायबाट प्राप्त उपाधिलाई व्यावसायिक दृष्टिले हेर्ने प्रयास, लिने र दिने दुवैले नगरेकाले यो अवस्था आएको हो ।

अन्य संकायमा नसके शिक्षा संकायमा त सकिएला भन्ने विद्यार्थीको सोचाइ र त्यसलाई सार्थक बनाउन जानी–नजानी सहयोग पुर्‍याउने शिक्षक–कर्मचारी सबै यसमा उत्तिकै दोषी छन् । विद्यार्थी उपस्थिति र प्रयोगात्मक कार्यमा भन्दा विद्यार्थीबाट प्राप्त हुने ‘क्यास’ मा क्याम्पस प्रशासनले बढी चासो राख्ने हुनाले गुणस्तरीय उत्पादन हुन सकेको छैन । शिक्षाशास्त्र आफैंमा एउटा प्राविधिक र व्यावसायिक विषय भएकाले यसको पाठ्यक्रममा समयानुकूल परिवर्तन अत्यन्त जरुरी छ । २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धति शिक्षा योजना सफल पार्न, कलेज अफ एजुकेसनले सुरुआत गरेको शिक्षक तालिमको जगमा स्थापित, शिक्षाशास्त्रको पाठ्यक्रम हालसम्म जस्ताको त्यस्तै छ, त्यसमा केही विषय मात्र थपिएका छन् ।

यो अवस्था सुधार्न देशैभरि जथाभावी चलिरहेका बग्रेल्ती शिक्षा संकायको पठनपाठन तुरुन्तै रोकिनुपर्छ । नयाँ पाठ्यक्रम र प्रवेश विधिका आधारमा तोकिएका क्याम्पसमा, कम्तीमा स्नातक गरी विषयविज्ञता हासिल गरेकालाई, देशमा आवश्यक पर्ने शिक्षक संख्याको आधारमा, सीमित संख्यामा शिक्षाशास्त्र संकायमा प्रवेश दिने कार्य भएमा मात्र, शिक्षाशास्त्र मर्यादित र गुणस्तरीय हुनेछ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : चैत्र ६, २०७९ ११:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×