विद्यार्थी हकहित र दलीय हस्तक्षेप- सम्पादकलाई चिठी - कान्तिपुर समाचार

विद्यार्थी हकहित र दलीय हस्तक्षेप

पाठक पत्र

राजनीतिक परिवर्तन, स्थापन र विस्थापनमा विद्यार्थी राजनीतिको ठूलो महत्त्व हुँदो रहेछ । विशेष गरी राणाकालदेखि गणतन्त्र स्थापनासम्म जति पनि परिवर्तन भए, सबै सशक्त विद्यार्थी आन्दोलनका कारण सम्भव भएका हुन् ।

त्यसै कारणले ठूला साना, क्षेत्रीय, जातीय, सामुदायिक सबै खाले राजनीतिक दलहरूले विद्यार्थीहरूलाई आआफ्नो भ्रातृ विद्यार्थी संगठनमा तान्ने प्रयास गर्छन् ।

पञ्चायत व्यवस्थाको सुरुआती कालखण्डमा क्याम्पसहरूमा विद्यार्थी हकहितका कुरालाई अघि सार्न विद्यार्थीहरूलाई अधिकार दिइएको थिएन । २०३६ सालको विद्यार्थी आन्दोलनबाट, हकहितका जायज माग सम्बोधन हुन भनी प्रत्येक क्याम्पसमा स्ववियुको गठन गर्ने व्यवस्था गरिएको थियो । छात्रवृत्ति, विद्यार्थी मनोरञ्जन, समयतालिका, खाजा व्यवस्थापन, पठनपाठनमा आवश्यक पर्ने कुराको प्रबन्धनतर्फ विद्यार्थी हकहितका लागि क्याम्पस प्रशासनलाई सचेत गराउने, माग राख्ने र मोलमोलाई गर्ने कार्य स्ववियुको अधिकारभित्र पर्छ ।

स्थापनाकालमा स्ववियुको निर्वाचनमा दलहरूको प्रत्यक्ष संलग्नता नदेखिए पनि आसन्न स्ववियु निर्वाचनमा, दलहरूले आश्चर्यजनक रूपमा सक्रियता देखाउने गरेका छन् । दलका स्थानीयदेखि संघीय तहसम्मका नेताहरू प्रत्यक्ष रूपमा क्याम्पसमै आएर विद्यार्थी बैठकमा उपस्थित हुने गरेका छन् । विद्यार्थी देशका आधारस्तम्भ हुन् ।

शिक्षित विद्यार्थी नै योग्य र क्षमतावान् बन्छन् । पछि तिनै योग्य र क्षमतावान् नागरिकका रूपमा स्थापित हुन्छन् । विद्यार्थीलाई आफ्नो क्षमता, विवेक र चेतना अनुसार सकारात्मक प्रतिभा देखाउने थलोका रूपमा क्याम्पसहरूको विकास गर्नुपर्छ । बाहिरी वा राजनीतिक हस्तक्षेपले विद्यार्थीको प्रतिभा विकासमा अवरोध हुने खतरा भएकाले प्रत्यक्ष हस्तक्षेप गर्नु कदापि उचित हुँदैन ।
महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : चैत्र २, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

प्रतितोला १ हजार बढ्यो सुनको मूल्य 

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत माघ १९ गते सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।अमेरिकाको सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएयता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागिरहेको छ ।

दुई बैंक बन्द भएपछि स्टक मार्केटमा त्यसको असर पर्नुले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले अमेरिकाको स्टक मार्केट ओरालो लाग्दा लगानीकर्ता सुनमा आकर्षित भएको र यसले मूल्य बढाएको बताए । त्यस्तै चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।


प्रकाशित : चैत्र २, २०७९ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×