मन्त्रिपरिषद् विस्तार रोकिराख्नु अनुचित- सम्पादकलाई चिठी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद् विस्तार रोकिराख्नु अनुचित

पाठक पत्र

‘मन्त्रिपरिषद् विस्तार विश्वासको मतपछि मात्रै’ समाचारले विकास चाहने सम्पूर्ण नागरिकको मन दुखाएको छ । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा १६ मन्त्रालयको काम प्रभावित भैरहेको छ ।

सरकारको ढुकुटीमा अहिले अर्बौं रकम छ तर पुँजीगत खर्च २२ प्रतिशत मात्र भएको छ । यसले देशमा चरम आर्थिक मन्दी छाएको छ । विश्वासको मत नलिएको कारण देखाउँदै मन्त्रिपरिषद् विस्तार रोकिएकाले पुँजीगत खर्च अपेक्षित रूपमा हुन सकिरहेको छैन ।

किन नेताहरू यस्तो गम्भीर विषयमा संवेदनशील हुन सकिरहेका छैनन् ? के राजनीतिक कारणले यसरी विकास–निर्माण प्रभावित गर्नु उचित हो ? होइन भने किन मन्त्रिपरिषद्लाई पूर्णता दिई पुँजीगत खर्च विस्तारमा सम्पूर्ण शक्ति नलगाएको ? यसको जवाफ अरूले भन्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुपर्छ । प्रधानमन्त्री दाहालले एकातिर ‘यसपालि सरकारले देश र जनताको भलाइका लागि कुनै कसर बाँकी नराख्ने’, ‘काम गरेर देखाउने यो अन्तिम अवसर हो’ भनिरहेका छन् । अर्कातिर सबै मन्त्रालय आफैं राखेर पुँजीगत खर्चमा बाधक बनिरहेका छन् । यस्तो पाराले प्रधानमन्त्री दाहाल सफल बन्दैनन् । पुँजीगत खर्च बढाउनेबित्तिकै पैसा बजारमा जान्छ, जसले रोजगारी र उत्पादन वृद्धिमा सघाउँछ ।

मानिसहरूको उपभोग क्षमता बढ्छ, औद्योगिक उत्पादन पनि बढाउँछ । प्रधानमन्त्री दाहाल तथा उनका आर्थिक सल्लाहकारहरूले अर्थतन्त्र चलायमान बनाउन जाबो यति कुरा पनि बुझेका नहोलान् र ? अनि यस्तो तरिकाले कसरी देश विकास हुन सक्छ प्रधानमन्त्रीज्यू ? विकास–निमाणको दृष्टिले यो सरकारको अहिलेसम्मका दिन खेर गइसकेका छन् । अब समय खेर फाल्नु हुन्न । विश्वासको मत पर्खने बहानामा मन्त्रिपरिषद् विस्तार रोकिराख्नु अनुचित कार्य हो ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

प्रकाशित : चैत्र २, २०७९ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्

किसानलाई मलकै पीर

पाठक पत्र

सरकारले किसानका लागि मलमा सहुलियत दिन बर्सेनि अर्बौं रुपैयाँ बजेट छुट्ट्याएको हुन्छ  । तर किसानले मल वा बीउबिजन कतै पनि अनुदानको अनुभूति गर्न पाएनन्  ।

अनुदानबाट आएको मलमाथि पनि बिचौलियाहरूकै हालीमुहाली देखियो । मल तथा बीउमा अत्यधिक खर्च गरेर उत्पादन गरिएको कृषिउपजले पनि बजार नपाउँदा किसान झन् मारमा छन् ।

यस्तो तरिकाले कसरी कृषिमा देश आत्मनिर्भर हुन्छ ? मलमा समस्या अहिलेको मात्र होइन तर यसको दीर्घकालीन समाधानका उपायको भने खोजी भएको छैन । के सरकारले देशमै मल उत्पादन गर्दा, आपूर्ति सहज हुन्न ? रोजगारीको विकराल समस्या कृषिलाई केन्द्रमा राखेर काम नगरे कसरी समाधान हुन्छ ?

जुनै दलको सरकार आए पनि ‘कृषि हाम्रो मुख्य प्राथमिकतामा छ, किसानको समस्या हामी समाधान गर्छौं’ भन्ने भाषणबाहेक किसानले केही पाएनन् । समयमा मल नपाउनु, गुणस्तरीय बीउबिजनको अभाव हुनु र उत्पादन अनुसार बजार व्यवस्थापन नहुनु नै किसानका लागि सबैभन्दा ठूलो कष्ट हो ।

यस्तै हो भने कृषिमा परनिर्भर हुनुबाहेक भविष्य छैन । किसान पलायन हुन थाल्नेछन् । किसानको उत्पादन बढाउने, तिनको आर्थिक सुरक्षा गरिदिने विषयमा काम गर्न किन ढिलासुस्ती गरिँदै छ ?
–रामेश्वर बासी, चाँगुनारायण–९, भक्तपुर

प्रकाशित : चैत्र २, २०७९ ११:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×