नागरिकको स्वास्थ्यमाथि राज्यको लापरबाही- सम्पादकलाई चिठी - कान्तिपुर समाचार

नागरिकको स्वास्थ्यमाथि राज्यको लापरबाही

पाठक पत्र

‘करोडौंका भेन्टिलेटर र अक्सिजन प्लान्ट अलपत्र’ समाचारले ‘सबै नागरिकका लागि निःशुल्क स्वास्थ्य राज्यको जिम्मेवारी’ नारालाई गिज्याएको छ ।

राज्यले सबैभन्दा धेरै काम स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने हो । यथार्थमा राज्य नागरिकको स्वास्थ्यप्रति कति पनि संवेदनशील छैन । नागरिकको पीडालाई अनुभूत गर्ने कोसिस राज्यले हिजो पनि गरेन र आज पनि गर्ने छाँट छैन ।

नागरिक चर्को शुल्क तिरेर निजी स्वास्थ्य संस्थाबाट सेवा लिन बाध्य छन् । अव्यवस्था र अनियमितताका कारण सरकारी अस्पतालहरू अलपत्र थिए, छन् । सरकारी स्वास्थ्य केन्द्रहरूमा न पुग्दो जनशक्ति छ न स्वास्थ्य उपकरणहरू नै । नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउनु राज्यको मुख्य जिम्मेवारी हो भन्ने कुरा भुल्दै जानु निकै दुःखद छ । सरकारी अस्पतालमा नागरिकको करबाट स्वास्थ्य उपकरण किन्ने हो । तर, त्यसरी किनेको उपकरणबाट नागरिकले लाभ उठाएका छैनन् । नागरिकको पीडामा राज्यको ध्यान कहिले जाला ? कसको कमजोरीले आज राज्यले दिनुपर्ने न्यूनतम सेवाहरू धराशायी हुँदै छन् ? नागरिकप्रति राज्य कहिले जवाफदेह हुने ? निजी स्वास्थ्य केन्द्रहरूमा एउटा एमआरआई गरेकै दसौं हजार रुपैयाँ तिर्नुपर्छ ।

यता सरकारी अस्पतालहरूमा एमआरआई गर्न पालो कुर्दाकुर्दै बिरामीको मृत्यु नै हुने अवस्था छ । के राज्यको निःशुल्क स्वास्थ्य यही हो ? भएका भेन्टिलेटर र अक्सिजन प्लान्टसमेत उपयोग गर्न व्यवस्थापनमा राज्यले किन ध्यान दिँदैन ? उच्च तहका व्यक्तिहरूको करोडौं रुपैयाँ बराबरको उपचार खर्च वेहोर्ने राज्यले दूरदराजका नागरिकले आधारभूत स्वास्थ्य सेवा पनि नपाएको वास्तविकता बुझ्दैन । यस्तो व्यवहारले राज्यप्रतिको जनविश्वास कमजोर बनिरहेको छ । यहाँ जुनै वाद भिरेकाहरूको सरकार बने पनि, जुन वादको प्रधानमन्त्री भए पनि जनताको दुःख जहाँको त्यहीँ छ ।

शिक्षा र स्वास्थ्यको जति मीठा नारा घन्काए पनि जनताले अनुभूत गर्ने गरी सेवामा पहुँच छैन । हुँदा खानेहरूका लागि महँगा निजी अस्पतालहरूले आजीवन ऋणको भारी बोकाइरहेका छन् । यसतर्फ राज्यको नजर कहिले पर्ला ?
– गोविन्द विक, बूढानीलकण्ठ–१२, काठमाडौं

प्रकाशित : चैत्र १, २०७९ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति सबैका साझा

पाठक पत्र

कांग्रेसका अनुभवी नेता रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भए । ०४६/४७ को राजनीतिक परिवर्तनपछि विभिन्न उच्च ओहोदामा बसेर काम गर्दा पौडेलमाथि भ्रष्टाचारको आरोप लागेको पाइँदैन ।

यद्यपि सत्रौं पटकसम्म प्रधानमन्त्रीको प्रतिस्पर्धामा सफलता नपाउँदा पौडेल विक्षिप्त पनि बने । लामो समयसम्म हन्डर खानुपरे पनि राष्ट्रप्रमुख हुन पुग्दा उनको खुसी चुलिएको छ । विभिन्न राजनीतिक दलबीचको टकराव, पार्टीभित्रको खिचातानी, भागबन्डाको संस्कृतिले मुलुक र समाजमाथि निरन्तर प्रहार थपिरहेको छ भने दुई छिमेकीसँगको असफल कूटनीतिका कारण हामी घरको न घाटको बन्ने अवस्थामा छौं । विभिन्न शीर्षनेतामा परराष्ट्र नीतिबारे स्पष्टता नहुँदा शक्तिराष्ट्रबाट आउनेहरूले व्यक्तिपिच्छे कानेखुसी गर्ने, राजनीतिक वातावरण धमिल्याएर खैलाबैला मच्चाउनसम्म भ्याए ।

यता विकास कार्यको कछुवा गति, ठेकेदारको मनोमानी, अनियन्त्रित भ्रष्टाचार, सामाजिक अपराधका कारण मुलुक आक्रान्त बनेको छ, साथै आर्थिक दुरवस्थाले सीमा नाघेको छ । तसर्थ अरूको दुःखदर्द बुझ्ने, घरपरिवार, समाजको कथाव्यथा महसुस गर्ने, कसैमाथि विभेद नगर्ने, मुलुकको आर्थिक, सामाजिक विकासमा दत्तचित्त रहने, भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनको काममा राष्ट्रपति तल्लीन रहनु आवश्यक छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : चैत्र १, २०७९ ११:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×