कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
पाठक पत्र

वाह बालेन शाह ! यस्तै हुन्छन् जनताको सेवक ?

मनप्रसाद वाग्ले

काठमाडौँ — वैशाखमा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले पुराना दलका उम्मेदवारलाई भारी मतले पराजित गरे । पुराना दलको विरासत भत्काउँदै जितेका शाहप्रति महानगरबासीले ठूलो भरोसा थियो । उनले महानगरवासीले दु:खकष्ट भोगिरहेका खास क्षेत्रमा उनले सुधार गर्लान् भन्ने अपेक्षा थियो । तर उनले कार्यभार सम्हालेको ८ महिना बितसक्दा खासै सुधारका संकेत देखिएका छैनन् ।

वाह बालेन शाह ! यस्तै हुन्छन् जनताको सेवक ?

नागरिकहरुले पाउने सेवा सुविधानको गुणस्तरमा कुनै फरकपन आएको छैन । खास समस्याका काम छोडेर मेयर शाहका गतिविधि अन्यत्र बरालिएका छन् । एक महानगरवासीले कर तिर्न जाँदा कुन हदसम्मको झन्झट खेप्नुपर्छ ? बिहीबार कान्तिपुर दैनिकमा प्रकाशित शिक्षाविद् मनप्रसाद वाग्लेले 'सम्पादकलाई चिठ्ठी' यसप्रकार छ :

१. महानगरले जनताको ढाड भाँच्ने गरी कर उठाएको छ र त्यसमा तपाईं आउनुभएपछि झन् बढोत्तरी भएको छ । तर पनि चुपचाप जनताले कर बुझाएकै छन् ।

२. तर तपाईंका वडावडामा कर तिर्न जानेले भोग्नुपर्ने सास्तीका बारेका के तपाईं जानकार हुनुहुन्न ? हुनुहुन्न भने मेयर पद सम्हालेपछि जनताको नाममा तपाईंले अत्याचार मात्रै गर्नुभएको प्रस्ट हुन्छ ।

३. यही माघको १० गते म मेरो घरको वार्षिक नियमित कर तिर्न वडा नम्बर ३१ को भीमसेनगोलास्थित वडा कार्यालय गएँ । कर तिर्ने कता हो ? सोधेपछि ३ नम्बर कोठामा जान भनियो ।

४. त्यो कोठामा गएर गत वर्ष तिरेको प्रमाण देखाएँ । मेरो घरको फाइल खोजेर मलाई नै भिडाइयो र दर्तामा गएर सम्पत्ति विवरण फारम भर्न लगाइयो ? त्यसपछि २ नम्बर कोठामा जान भनियो ।

५. यो पनि अचम्म छ, महानगरपालिकाको सूचना व्यवस्थापन प्रणालीले नै प्रमाण जुटाउने होइन र ? त्यो पनि जुनसुकै वर्ष अघिल्लो वर्ष कर तिरेको प्रमाण करदाताले नै देखाउनुपर्ने ? नभए अघिल्लो सालको पनि तिर्नुपर्ने रे ; यही हो तपाईंको काम गर्ने पारा ?

६. २ नम्बर कोठामा कर्मचारीले कम्प्युटरबाट मैले तिर्नुपर्ने रकमको कागज प्रिन्ट गरेर बैंकमा गएर तिर्न भनियो । बैंकको भौचर लिएर म करदाता बिचरा फेरि १ नम्बर कोठामा लाइन बस्नुपर्ने रे ;

७. लाइन बसियो/ त्यहाँको कर्मचारीले रुजु गरेपछि फाइलसहित २ नम्बर कोठामा अधिकृतलाई हस्ताक्षर गराउनुपर्ने रे ! अनि फेरि ३ नम्बर कोठामा गएर अर्को अधिकृतको हस्ताक्षर गराउनुपर्ने रे ; करदाताको रूपमा मेरो बाध्यता, सप्पै काम गरें । वडाका कोठाको साइज हेर्नुभएको छ ? दुई जना पनि मुस्किलले अटाउने ।

८. अनि त्यो अफिसको फाइलसहित सबै कागजात दर्तामा लगेर छाप लगाएपछि मात्रै मैले कर तिरेको प्रमाणित हुने रहेछ । यही हो त तपाईंको प्रशासन ? अनि त्यति लामो समय अफिसको रेकर्ड फाइल करदाताले बोकेर हिँड्नुपर्ने बाध्यताले त्यो भीडमा कतै फाइल हराए के हुने ?

९. एक्काइसौं शताब्दीको नेपालमा तपाईंजस्ता मेयरको काम गर्ने चाला उही बाजेको पालाको खरदारमै ओर्लेको हो त ? वडाध्यक्षले गर्ने काम के हो ? जनतालाई अनलाइन सुविधा दिन सक्नुहुन्न भने कमसेकम बैंकमा पैसा तिरेको भौचर मात्रै वडामा बुझाउने र बाँकी काम वडाले गर्ने व्यवस्था मिलाउन सक्नुहुन्न ?

१०. करदातालाई यस्तो हन्डर दिने र अपमान गर्ने तपाईं र तपाईंका वडाध्यक्षलाई के सजाय दिनुपर्ला अब नेपाली जनताले ? तपाईं जनप्रतिनिधि भएकाले जे गरे पनि हुने हो ? के सरल र सहज रूपमा करदातालाई सेवा दिनु तपाईंको कर्तव्य होइन ? हैन जनता भनेका दास हुन्; यिनले हाम्रो सेवा गर्ने हो भन्ने तुजुक तपाईं र तपाईंका वडाध्यक्षमा छ भने, त्यो पद तपाईंहरूको लायक देखिएन; बरु खाडीमा काम गर्न गए हुन्छ ।

– मनप्रसाद वाग्ले, मीनभवन, काठमाडौं

प्रकाशित : माघ १२, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?