सम्भावनायुक्त हिमशृङ्खलाहरू

कान्तिपुर संवाददाता

उत्तमबाबु श्रेष्ठको ‘हिमालको रणनीतिक लाभ’ हिमालहरूवाट लिन सकिने बहुपक्षीय उपलब्धिमाथि केन्द्रित छ  ।

हुन पनि विश्वका १० हिमाच्छादित शिखरमध्ये ८ वटा नेपालमा रहेको सन्दर्भवाट खुसी नहुने नेपाली को होला र ? मुलुकको पूर्वदेखि पश्चिमसम्म फैलिएका यी हिमशृङ्खलाबाट हामीले खासै फाइदाचाहिंँ लिनसकेका छैनौं । खासगरी उत्तरी भेगमा बसोबास गर्दै आएका शेर्पा जातिले आफ्नो पर्वतारोहणको कौशलताका कारण विश्वमा पहिचान बढाएका हुन् । पछिल्लो समय निर्मल पुर्जाले ६ महिनामै विश्वका १४ उच्च शिखरको आरोहण गरेर नयाँ इतिहास रचेपछि विश्वभर हिमालको प्रसिद्धि अरु फैलिएको छ ।
लेखकले जारेड डाइमन्डको पुस्तकमा उल्लेख भएको विषय भूगोलको ‘लक’ र लाभ अर्थात् भू–बनोटका कारण पश्चिमा मुलुकहरू विकासको चरमचुलीमा पुगेका र भूगोलले ठग्दा पपुवान्युगिनीका मानव समुदाय आफ्ना दसौं हजार वर्ष अघिका फिरन्ते, जंगली अवस्थामा रहेको भन्ने विषयमा चाहिंँ पूर्ण सत्यता देखिंँदैन । वास्तवमा बेलायतीहरू पुग्नु अघिसम्म अष्ट्रेलिया र न्युजिल्यान्डको अवस्था पनि पपुवान्यूगिनीभन्दा फरक थिएन । उता जंगली प्रकृतिका ‘रेड इन्डियन’ को कव्जामा रहेको अमेरिकाको हालत पनि त्यस्तै थियो । शासकहरूको दृष्टिकोण, आँट, अठोट र सुशासनका कारण ती देशहरू आधुनिक र विकसित बनेका हुन्, नकि भू–बनोटको असरले । त्यस्तै प्रतिकूल भौगोलिक स्वरुप, महाभूकम्पले घेरिएको जापानले पनि विकासमा सबैलाई पछि पार्दै आएको यथार्थ जगजाहेर छ ।
यावत कारणले हाम्रा विश्वविख्यात हिमशिखरहरू विकासका बाधक कदापि बन्न सक्दैनन् । यहाँनिर एउटा उदाहरण लिऊँ : हाम्रो लागि डाँडाजस्तो लाग्ने फुजी पहाडको नाममा जापानले वर्षेनि हाम्रो राष्ट्रिय आमदानीभन्दा बढी पुँजी हासिल गरिरहेको छ भने हामीचाहिँं योजनाविहीन बनेर रोइरहेका छौं । हिमाल केन्द्रित अध्ययन, अनुसन्धान, कृषि, पर्यटनको उत्थान, ‘ट्रेडमार्कको’ विकास, हिमालको पानी लगायत विशिष्ट प्रकारका उत्पादनको प्रबर्द्धन, निर्यात लगायतका क्रियाकलापलाई पूर्णता दिनसके समृद्धि सपना पूरा हुन समय लाग्दैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : कार्तिक १९, २०७६ १०:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काबेलीदेखि माझीटारसम्म जलयात्रा

कान्तिपुर संवाददाता

(ताप्लेजुङ) — पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेलीखोलादेखि लिम्बुनीपुल, पिनासी र नक्कले घाट हुँदै माझीटारसम्मको २५ किलोमिटर दूरीमा व्यावसायिक जलयात्रा सञ्चालनमा आएको छ । 

पाँचथरस्थित तमोर भ्याली ट्राभल्स टुर एन्ड ट्रेकिङले र्‍याफ्टिङ सञ्चालन गर्न थालेको हो । गत वर्ष पाँचथरको पिनासीबाट माझीटारसम्म १२ किलोमिटर क्षेत्रमा जलयात्राका लागि अनुमति लिएर काम थालेको उक्त कम्पनीले यो वर्ष सेवा विस्तार गर्दै काबेलीदेखि माझीटारसम्मको जलयात्रा सुरु गरेको हो ।

जलयात्राका लागि नयाँ गन्तव्यका रूपमा लिइएको उक्त क्षेत्रमा आइतबार पहिलो १० जनाको टोलीले सफलतापूर्वक यात्रा पूरा गरेसँगै सोमबारदेखि व्यावसायिक रूपमा जलयात्रा सुरु गराइएको ट्राभल्सका सञ्चालक दीपेन्द्र तुम्बापोले बताए । र्‍याफ्टिङका लागि सदरमुकाम फिदिमस्थित तमोरभ्याली गेस्टहाउसलाई ‘मिट पोइन्ट’ मानिएको छ । आठ जनाको समूह बनाएर तमोर भ्याली गेस्टहाउसदेखि हिलिहाङ गाउँपालिकास्थित काबेली नदीसम्म लगेर र्‍याफ्टिङ सुरुवात गराइन्छ ।

२५ किलोमिटर दूरीको र्‍याफ्टिङका लागि टिकट बुकिङ गर्नेलाई बिहानको खानासहित दिउँसो र साँझ दुईपटक नास्ताको व्यवस्था संस्थाले गर्ने जनाइएको छ । र्‍याफ्टिङका लागि प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

दुई वर्षअघि प्रक्रिया सुरु गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयवाट स्वीकृति लिएको ट्राभल्सले २२ लाख रुपैयाँ लगानी गरी १६ फुट लम्बाइका २ वटा बोट खरिद गरेको छ ।

२५ किलोमिटरको जलयात्रा गर्न साढे ३ घण्टा लाग्ने गरेको छ । नेपाल ‍र्‍याफ्टिङ एसोसिएसनका पूर्वअध्यक्ष गोपाल खरेलका अनुसार तमोर नदीमा ताप्लेजुङको दोभनदेखि सुनसरीको चतरासम्म सन् १९९७ सालमा सर्वे भएको थियो । तमोर नदीमा कहिलेकाहीं विदेशी पर्यटकले जलयात्रा गर्दै आए पनि व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको भने यो पहिलो पटक हो ।

अहिलेलाई दुईवटा बोटबाट सुरु गरिएको जलयात्रा केही समयपछि संख्या थप गर्ने तयारी भइरहेको तुम्बापोले जनाए । यस क्षेत्रमा जलयात्रा सुरु भएपछि विराटनगर र धरानसहित तराईका विभिन्न क्षेत्रबाट ताप्लेजुङस्थित विश्वको तेस्रो हिमाल रहेको कञ्चनजंघा बेसक्याम्प र पाथिभरा देवीको दर्शन गर्न आउने तीर्थयात्रीले जलमार्ग हुँदै सप्तकोसीसम्म पुगेर यात्रा छोट्याउन सक्ने जनाइएको छ ।

प्रकाशित : कार्तिक १९, २०७६ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्