कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आलम, अपराध र राजनीति

कान्तिपुर संवाददाता

रौतहट क्षेत्र–२ बाट निर्वाचित सांसद मोहम्मद आफताव आलम गए हप्ता गिरफ्तार हुनपुगे  । २०६४ सालको संविधानसभा निर्वाचनमा हार्ने डरले बुथ कब्जा गरेर, ठाउँ–ठाउँमा बम बनाएर पड्काउने योजनासाथ बम बनाउन लगाउँदा बम पड्केर घाइते भएका २३ जनालाई पोल खोेल्छन् कि ? भन्ने शंकामा उपचार गर्नुको सट्टा जिउदै इँट्टाभट्टाको आगोमा डढाएको आरोपमा आलम पक्राउ परेका हुन्  ।

तत्कालीन समयमा रौतहट प्रहरीले जाहेरी दर्ता गर्न मानेन भने सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताको कार्यालयले पनि उक्त मुद्दा दर्ता नगर्ने सरकारी वकिलको कार्यालयको निर्णयलाई नै सदर गर्‍यो । पीडितले बारम्बार अदालतको ढोका ढकढक्याएपछि मात्र सर्वोच्च अदालतले मुद्दा दर्ता गर्न र कानुन बमोजिम कारबाही अघि बढाउन सरकारलाई निर्देशन दियो । त्यही निर्देशन दिएको १२ वर्षपछि बल्ल सरकारले घटनाको आरोपी आलमलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाएको छ । आजसम्म जे भए पनि अनुसन्धान होस् र हत्यारा कारबाहीमा परोस् । पीडित परिवारले न्याय पाउन् । न्याय भन्ने कुरा १२ वर्षमा पनि मर्दो रहेनछ भन्ने आशामा भरोसा होस् । पीडित पक्षको पीडालाई मलम लगाउन सकियोस् ।
– तिलप्रसाद न्यौपाने, माछापोखरीचोक, काठमाडौं

मंगलबार प्रकाशित राजेन्द्र महर्जनको ‘के राजनीति के अपराध ?’ को साथै मुखपृष्ठमा प्रकाशित सांसद मोहम्मद आफताव आलम सम्बन्धी समाचार सरसर्ती पढेँ । आलमको सम्बन्धमा नित्य नयाँ–नयाँ खुलासा हुँदैछन् । महर्जनले अपराध मुछिएको राजनीति विरुद्ध आन्दोलन सिर्जना हुनु डरलाग्दो मानेका छन् । दुई छाक टार्न व्यस्त जनता कुनै आपराधिक दाउपेचमा पर्न चाहँदैनन् । आलमले एसपीलाई समेत थर्काएका रहेछन् । रौतहटका जनता अहिले पनि आलमले फेरि बिताउन सक्छन् भनेर डराएका छन् । पहिले तिनलाई भयबाट मुक्त गर्नुपर्छ । त्यसपछि मात्र जनता निर्भयसाथ घरबाट बाहिर निस्कन्छन् । त्यो उन्मुक्ति दिलाउने इमानदार नेता हुन्छ । त्यही नेता अपराधी बनेपछि भने नाउ डुब्छ नै । भारत र नेपालका धेरै नेता आपराधिक पृष्ठभूमि र चरित्रका छन् । यसले पद्धतिलाई नै अपराधी सावित गर्दैछ । भारतमा ३४ प्रतिशत नेता अपराधी भएको तथ्यांक सार्वजनिक भएको छ । हामीकहाँ भने कति नेता अपराध कर्ममा संलग्न छन् भनी छानबिन भएको छैन । आलम विरुद्ध भेटिएका प्रमाणहरू हेर्दा उनी उम्कन पाउँदैनन् । तर यिनलाई संरक्षण दिनेहरूलाई चाहिँ के गर्ने ?
– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : कार्तिक ७, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?