१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रतिभासँग गाँसिएका चोटहरू

कान्तिपुर संवाददाता

धादिङकी ११ वर्षीया बालिका कमला घिमिरे आफ्नो दोहोरी गायन क्षमताका कारण यतिबेला सामाजिक सञ्जालमा छाएकी छन्  । समाजशास्त्रीय दृष्टिकोणबाट अबोध बालिकाले ठूलासँग जुहारी खेलेको प्रेमगीत कतिपय ठाउँमा अपाच्य बनिरहेको बेला उषा थपलियाको ‘चर्चाभित्रका विवश कमलाहरू’ सोमबार प्रकाशित आलेखले थप टिप्पणी गर्न बाध्य बनायो  ।

लेखिकाले प्रतिभाको कदर गर्दै बालिकामाथि परेको नकारात्मक प्रभाव सम्बन्धमा शिक्षा, स्वास्थ्य, मनोवैज्ञानिक असरको कुरामात्र उठाएकी छन् । तथापि उनलाई कठपुतली बनाएर मजा लिने कलाकार लगायतका व्यक्तित्वसँग जोडिएका सवालहरू गनेर साध्य छैन । प्रतिभाको प्रबर्द्धन बालशुलभ गायन कलाको अभ्यासबाट हुन्छ कि प्रेमले भरिएका शब्दहरूबाट ? अबोध बालिकालाई प्रेमजन्य शब्दजालको घेराबन्दीमा पारेर तमासा देखाउनु, दिग्भ्रमित पार्नु बाल यौनहिंसाको अमूर्त रूप होइन र ? बालिकाको भोक, निद्रा, बालशुलभ गतिविधि, पढाइ/लेखाइको परवाह नगरी रातव्याल जुनसुकै बेला बोलाएर स्वार्थपूर्तिका लागि लगातार ५/६ घन्टा दोहोरी गाउन बाध्य पार्दा मानसिक र शारीरिक आघात नपर्ला भनी कसले भन्ने ? बालापनको निर्विकार अभिव्यक्तिस्वरुप बालिकाले भनेकी छन् ः मेरो फोटो राखेर युट्युब च्यानल अरुहरूले चलाउँछन्, मेरो राम्रो/नराम्रो सबै भिडियो हाल्छन्, यसले मलाई पछि नराम्रो गर्छ, सबैजना मिलेर ब्लक गर्नुपर्छ । मेरो पढाइ चौपट भइसक्यो, विदाको दिनमात्र आए हुन्थ्यो । हेरौं त उनको क्रन्दन, कति चोट पर्न थालिसकेको रहेछ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

कमला जस्ता अबोध बालिकालाई कलाकार बनाएर के सिकाइँदैछ ? ‘चौतारीको वर मलाई माया गर, झिमझिम स्यानु नझिम्क्याउ परेली खुत्रुक्कै हुन्छु म’ लगायतका गीत सुन्दा लाग्छ, हामी समाजलाई कता लग्दैछौं ? ११ वर्षकी कमलाको भविष्य के होला ? हाम्रा चेलीबेटीहरू दिनदहाडै बलात्कार भइरहेका छन् । विवाहित महिला वरिष्ठ नेताद्वारा बलात्कृत भइरहेको समाजमा कमलाजस्ता अबोध बालबालिकालाई यस्ता अश्लील गीत गाउन प्रेरित गर्ने अभिभावक र शिक्षकहरूबारे पनि उल्लेख हुनुपर्थ्यो, लेखमा ।
कमलालाई चारचौरस घुमाएर पैसा कमाउने भोलि कमला घर न घाटको भइन् भने यस्ता प्रतिभाको सरकारले जिम्मा लिनुपर्छ भनेर सरकारलाई दोषारोपण गर्ने यही समाज र यिनै कलाकार हुन्छन् । यो लेखले यी कुरालाई पनि समेट्नुपर्थ्यो ।
कमला जस्ता प्रतिभालाई विद्यालयका प्रधानाध्यापक तथा शिक्षकले बाल अधिकार, बालविवाह विरुद्ध चेतना प्रवाह गर्ने, सरसफाइ, स्वास्थ्य, शिक्षा आदि विषयमा अगाडि बढाउने र जिल्लास्तरीय प्रतिभा पुरस्कार दिँदै लानुपर्ने हो भन्ने कुरा आएको भए राम्रो हुने थियो ।
– श्रीप्रसाद पोखरेल, इटहरी

प्रकाशित : कार्तिक ६, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?