ओली–प्रचण्ड रसायन

कान्तिपुर संवाददाता

‘वर्तमान सरकार मेरो लिडरसिपमा बनेको हो  । कसैले लखेट्दैमा केही हुँदैन’ भन्ने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कथनले पुन: ओली–प्रचण्डबीच खटपट सुरु हुनथालेको संकेत दिएको छ  ।

ओलीले अध्यक्ष पद भने पनि ‘सिनियर’, ‘जुनियर’ हुने तर आफूले बराबरी हैसियत दिएको र सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा कुनै सहमति नरहेको बताएर प्रचण्डलाई झस्काएका छन् । प्रचण्ड पनि नेपाली कांग्रेससँग पहिले पनि सहकार्य गरेको र अब आउने दिनमा पनि सहकार्य हुनसक्ने सम्भावना रहेको बताएर ओलीलाई तर्साउँदैछन् । ओलीले पहिलोपालि प्रधानमन्त्री पदबाट राजीनामा गर्दा पनि अरुणा लामाको गीत संसदमा गाएकै हुन् र यसपालि पनि गाउने दिन आए, त्यसलाई आश्चर्य नमान्दा हुन्छ । ओली–प्रचण्डबीच सुरु भएको कटाक्ष र गलत अर्थ लाग्ने संवादले पुन: नेकपामा विभाजनको खिचडी पाक्दै गरेको संकेत दिएको छ । यी दुईबीच विवाद भएमा त्यसको नकारात्मक असर नेकपामा त पर्छ–पर्छ, देशलाई पनि पर्छ । किनकि दुई ठूला साढे जुध्नथालेमा ससाना बाछाबाछी र ठूलो मात्रामा घाँसपात मडारिन पुग्छन् । त्यो अवस्था आउन नदिन अहिलेदेखि नै नेकपाका दोस्रो तहका नेताहरू सक्रिय र हस्तक्षेपकारी बन्नुपर्छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : कार्तिक ४, २०७६ ११:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गाउँपालिका तोडफोड, सामान कब्जा !

राजेन्द्र मानन्धर

दोलखा — प्रशासनिक केन्द्र कहाँ राख्ने भन्ने विवाद चुलीमा पुगेको कालिञ्चोक गाउँपालिकाको कार्यालयबाट आइतबार राति तोडफोड गर्दै सामानहरु लगिएको छ ।

कालिञ्चोक गाउँपालिका-८ कालिनागथानमा रहेको प्रशासनिक केन्द्रको सामान कब्जामा गर्दै वडा नम्बर ५ को बान्देथलीमा लगिएको छ । उक्त गाउँपालिकाको बहुमतको निर्णयबाट सामान सार्ने कार्य जनताबाट भएको दाबी पालिका अध्यक्ष वीनकुमार थामीले गरे । उनले भने, ‘सामेबारबाट बान्देथलीबाट कार्यालय सञ्चालन हुन्छ ।’

तर उक्त कार्य डकैत शैलीमा भएको दाबी उपाध्यक्ष कालिका पाठकले गरिन् । ‘सात वटा ढोकाहरु फुटालेर लेखा र अन्य महत्पूर्ण समानहरु चोरिनुलाई के भन्ने?,’ उनले भनिन्, ‘यो कार्यलाई लगिएको भन्न मिल्दैन डकैट हो डकैत ।’ प्रहरीलाई खबर गरिकन चोरी गरिएको पनि उनले बताए । सामान उठाएर लगेपछि प्रहरी पुगेको पनि उनले जानकारी दिइन् ।

उक्त गाउँपालिको केन्द्र विवादले झडप, हातपात, कुटाकुटको अवस्थामा गुज्रिरहेको थियो । अध्यक्ष वडा नम्बर ५ को बन्देशली र उपाध्यक्ष कालिनागथानमा केन्द्र राख्न पक्ष र विपक्षमा उत्रेपछि दुईबीच संवादहीनताको स्थिति थियो । केन्द्रको कारणले विकास निर्माणमा नै बाधा परेपछि उक्त पालिका पछिल्लो समय केन्द्र विवाद थाँती राखेर विकास निर्माणमा केन्द्रित थियो । विकास शिविर नाम दिँदै अध्यक्ष र उपाध्यक्ष साथसाथै औपचारिक कार्यक्रममा देखिन्थे ।

परिस्थिति सहज हुँदै गएको अवस्थामा वडा नम्बर ५ का अध्यक्ष सुभास थामीको नेतृत्वमा केन्द्रका सामाग्रीहरु लगिएपछि उक्त पालिका फेरि समस्यामा फसेको छ । वडाअध्यक्ष सुभास थामीले निर्णयवमोजिम पालिकाको प्रशासनिक केन्द्र सारिएको स्वीकार्दै १३ जना जनप्रतिनिधिसहितले कार्यालय सारेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पालिका अध्यक्ष वीनकुमार थामीका अनुसार छ वटा वडाका अध्यक्षसहित जनप्रतिनिधिको रोहवरमा सामान सारिएको दाबी गर्छन् । उनका अनुसार पालिकाको माइन्युट, कार्यालय सञ्चालन गर्न आवश्यक पर्ने हाजिर खाता, कम्प्युटर, प्रिन्टर, राष्ट्रिय झण्डालगायतको सामानमात्रै लगिएको छ । लेखालगायत अन्य सम्बेदनशील कागजपत्र छोइएको पनि छैन । उपाध्यक्ष कालिका पाठक भने लेखाको सामाग्रीमाथि नै बढी क्षति पुर्‍याइएको दाबी गर्छिन् ।

प्रशासनिक केन्द्र विवाद ३ नम्बर प्रदेश सरकारसम्म पुगेको थियो । पालिका अध्यक्ष वीनकुमार थामीकोले प्रक्रिया पुरा गरी पेश गरिएको अवस्थामा पनि वास्ता नगरिएपछि बाध्य भइ रातको समयमा कार्यालय सार्नु परेको बताए । पायक पर्ने स्थानमा केन्द्र राख्ने विषयमा राज्यको कुनै पनि अङ्गले वास्ता नगरेपछि जनताले उक्त कार्य गरेको दाबी पनि उनले गरे । पालिका उपाध्यक्ष पाठकले प्रशासनिक केन्द्र सार्ने विषयमा जबरजस्तीबाहेक कुनै पनि साझा निर्णयहरु नभएको दाबी गरिन् । उक्त विषय छलफलकै क्रममा भएको बेला चोरीको घटना हुनु दुःखद भएको उनले बताइन् ।

प्रकाशित : कार्तिक ४, २०७६ ११:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT