समस्या समाधानमा विलम्ब

कान्तिपुर संवाददाता

मंगलबार प्रकाशित भूमि अधिकारकर्मी जगत देउजाको लेखले गुठी र मोही समस्याबारे राम्ररी केलाएको छ  । गुठीको सवाल लामो समयदेखि समस्याको रूपमा रहिआएको छ  ।

गुठीको कारण हजारौं किसान समस्यामा छन् । उनीहरू भूमिहीन सरह छन्, प्रमाणविहीन छन् । यद्यपि हजारौंको घरघडेरी र जीविकासमेत त्यही जग्गाबाटै चलिरहेको छ । गुठी पनि विभिन्न प्रकारका छन्, जसको ठाउँ, परिवेश र भूगोल अनुसार फरक–फरक समस्या भएकाले गहिराइमा पुगेर सरकारले समाधानको पहल गर्नुपर्छ । यसअघि सरकारले ल्याएको विधेयक फिर्ता भयो । त्यो विधेयकले किसानको समस्याचाहिँ समाधान हुन्छ भन्ने आशा गरिएको थियो । लेखकले भनेजस्तै विधयेक फिर्ता भएको पनि धेरै भइसक्यो, यो विषय त्यसै सेलाउँदै गएको छ । धर्म, संस्कृतिलाई पनि जगेर्ना गर्ने, परम्परालाई पनि मर्न नदिने र किसानको छोराछोरीको पेट पनि भोको हुन नदिने र सबैलाई न्याय हुनेगरी सबै तहमा छलफल गरी पुनः गुठी समस्या समाधान गर्नेगरी सरकार अघि बढ्नु आवश्यक छ । यस विषयमा अझ बढी सरोकारवालाहरूको ध्यान जानु आवश्यक छ । यो समस्यालाई पालेर राख्ने होइन, समाधान गर्नेतर्फ ध्यान जाओस् ।
– विश्वास नेपाली, कालिका–३, रसुवा

प्रकाशित : कार्तिक १, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विद्यार्थी अभावमा विद्यालय समायोजन

कान्तिपुर संवाददाता

टीकापुर — कैलालीको जानकी गाउँपालिका १ तोरैयापुरमा रहेको जगन्नाथ प्राथमिक विद्यालय अर्को विद्यालयसंँग समायोजन गरिएको छ । अति न्युन संख्यामा विद्यार्थी भएकाले विद्यालय समायोजन गरिएको हो । 

यो वर्ष जगन्नाथ प्राविमा २० विद्यार्थी मात्र भर्ना भएपछि विद्यालय मर्ज गर्नु परेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । उनले भने, ‘विद्यार्थी र शिक्षकलाई नजिकैको महेन्द्र मावि धर्मापुर र सरस्वती मावि दुर्गौलीमा समायोजन गर्‍यौं ।’ मर्ज भएपछि विद्यालय भवन खाली भएको छ । खाली भवनलाई गाउँपालिकाले नै कुनै प्रयोजनमा ल्याउने अध्यक्ष चौधरीले बताए । यो विद्यालयमा २ राहत, २ निजी स्रोत र १ बाल विकास शिक्षक कार्यरत थिए । विद्यार्थी नभएपछि १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई एउटा कोठामा र ४ र ५ कक्षाका विद्यार्थीलाई एउटा कोठामा राखेर शिक्षकले पढाउने गरेका थिए ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक प्रमिला चौधरीका अनुसार यो विद्यालयमा शिशुमा ३, १ कक्षामा ३, २ कक्षामा १, ३ कक्षामा १, ४ र ५ कक्षामा ६ विद्यार्थी थिए । गत वर्ष पनि यो विद्यालयमा जम्मा २२ विद्यार्थी थिए । गाउँका सबैले विद्यालय अर्को नजिकमा रहेको विद्यालयमा समायोजन गर्ने कुरा पनि गरे । तर गाउँपालिकाले त्यसो गरेन । यो वर्ष विद्यार्थी झन् घटेपछि बाध्य भएर विद्यालय समायोजन गर्नुपरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कलमबहादुर खड्काले बताए ।

विद्यालयसित आफनो नाममा करिब ५ कट्ठा जग्गा छ । विद्यालयको संरचना भने राम्रो छ । गाउँपालिकाले गत आवमा भवन निर्माणमा ६ लाख ५० हजार खर्चेको हो । वडाध्यक्ष धनीराम चौधरीले गत वर्षको अधुरो भवन निर्माण सम्पन्न गरिएको बताए । उनले भने, ‘भवन भएपछि भविष्यमा वडा कार्यालयको रुपमा पनि प्रयोग गर्न सकिन्छ भनेर भवन निर्माण गरेका हौं ।’

प्रकाशित : कार्तिक १, २०७६ ११:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×