ढिलो भए पनि न्याय पाउने आश

कान्तिपुर संवाददाता

१२ वर्षपछि बम विष्फोटका आरोपित मोहमद आफताब आलम पक्राउसम्बन्धी समाचार कान्तिपुर दैनिकमा पढ्न पाउदा अझै मेरो देशमा थोरै भएपनि न्याय मरेको छैन भन्ने आश पलाएको छ  । विभिन्न अपराध गरेर देशको ठूला पदमा पुग्ने व्यक्तिहरूबाट हामीले उनीहरूबाट के अपेक्षा गर्ने ? मनमा थुप्रै पश्नहरू उब्जाएको छ  ।

यस्ता अपराध गरेर देशको र जनताको सेवा गर्छु भन्नू आफैंमा लज्जास्पद विषय पनि हो । राजनीतिक संरक्षणमा ठूला पदहरू लिनुदिनु नै गलत हो, किनकि जब कुनै व्यक्तिमाथि अपराधको आरोप लगाइन्छ तत्काल छानबिन गरी वास्तविकता के हो स्पष्ट पार्न सक्नुपर्छ ।
देश बनाउने अठोटका साथ जनताको मत लिएर अपराध गरी जनताले तिरेको करमा रमाउने छुट कसैलाई पनि दिनु हुँदैन । न्याय, कानुन सबैलाई बराबर हुनुपर्छ । एउटा सामान्य नागरिकले सानो गल्ती गर्दा मुद्दा चलाउने र ठूला पद लिएका व्यक्तिहरूले गल्ती गर्दा कुनै कार्बाही नहुँदा आम नागरिकहरूमा शंका उत्पन्न भएको छ । सानालाई ऐन, ठूलाबडालाई चैन भएको हो कि भन्ने समेत भएको छ । जहाँसम्म लाग्छ अपराध गरेका व्यक्तिहरूलाई राजनीतिक दलहरूले उम्मेदवार बनाउन पनि रोक्नुपर्छ ।
यदि राजनीतिक दलहरूले शक्तिको आडमा उम्मेदवार बनाएको खण्डमा सबै शिक्षित व्यक्तिहरू लागेर उनीहरूलाई पराजित गर्नुपर्ने देखिन्छ । सम्मानित पदमा बसेर कसैको बलात्कार गर्ने, कसैलाई रातो पासपोर्ट बेच्ने, कसैको हत्या गर्ने जस्ता कार्यले आम समुदायमा गलत सन्देश गएको छ ।
– चन्द्रप्रसाद खनाल, लम्की, कैलाली

प्रकाशित : आश्विन ३०, २०७६ १०:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हेर्दाहेर्दै बगर बन्यो ज्यूलो

अर्जुन शाह

(बाजुरा) — असोज–कात्तिकमा छिमेकी गाउँलेको धान भित्र्याउने चटारो देखेर बेलकाटियाका हरिकृष्ण पाध्याको मन चसक्क हुन्छ । उनी मात्रै नभइ बेलकाटिया र बसालीका दर्जनौ परिवारको अवस्था उस्तै छ । उनीहरूले रोपाइँ गर्ने सेराको ज्यूलोमा ढुंगामाटो र बालुवा बाहेक केही छैन । 

केही वर्षअघिसम्म बेलकाटियाका बासिन्दाहरूलाई पनि यतिबेला पटक्कै फुर्सद नहुने समय हो । गाउँदेखि झण्डै आधा घण्टा तल बुढीगंगा किनारमा रहेको सेराको ज्यूलोमा बेलकाटियाका सबै परिवारको खेत थियो । अरु ठाउँभन्दा दोब्बर फल्ने त्यही ज्यूलोबाट मुरीका मुरी धान घरसम्म ओसार्न बाहुन समुदायको बसोबास रहेको बेलकाटियावासीलाई भ्याइनभ्याई हुन्थ्यो । ‘अहिले ती दिन सम्झँदा मन कटक्क हुन्छ,’ माथि घरबाट आफ्नो ज्यूलो रहेको सेरो देखाउँदै हेमन्त पाध्याले भने, ‘मर्नु न बाँच्नु छ । खेती गर्ने ज्यूलो सबै गुइगाडले लइगयो ।’

त्यही ठाउँमा बार्जुकोटका राजाको ५ सय क्वीन्टल धान फल्ने सेराको कागेबगर खेतको चर्चा पुस्तौ अघिदेखिकै हो । हरेक वर्ष दरबारबाट कागेबगरमा फलेको धानबाट एक क्वीन्टल चामल ज्यूलेखमा नवाकी (अन्न कूलदेवतालाई चढाइने पूजा) पठाइन्थ्यो । ‘त्यसबेलाको परम्परा अहिले कथाकहानी हुने अवस्था भयो,’ कुल्देवमाडौंका सिद्धराज जैसीले भने । ब्रम्हतोला बसालीका दीर्घबहादुर शाहको परिवार गाउँघरमा साहुको परिवार भनेर चिनिन्थ्यो । सेराकै ज्यूलोमा उनको ४० मुरी फल्ने खेत थियो । पहाडको गाउँघरमा एउटै परिवारको त्यति धेरै धान फल्ने सेरो हुनु अहिले पनि सम्पन्नता मानिन्छ । त्यसैले दीर्घबहादुरको परिवारलाई धेरैले ‘साहुको परिवार’ भन्ने गरेका थिए । हेर्दाहेर्दै बुढीगंगा नदीले सुरुमा कागेबगडमा रहेको राजाको सेरो बगायो । मलिलो जग्गामा बालुवा थुप्रियो । त्यसपछि सेराको ज्यूलो बगरमा परिणत भयो ।

बाह्रैमास नदीको कुलोबाट सिंँचाई हुने नदी छेउको समथर खेतीयोग्य जमिनलाई पहाडतिर ज्यूलो भन्ने चलन छ । सिंँचाई हुने र समथर जग्गाको माटो मलिलो भएकाले ज्यूलामा पाखो खेतभन्दा दोब्बर उत्पादन हुने कृषि प्रावधिकहरू बताउँछन् । राजाको सेरो कागेबगर बुढीगंगाले केही वर्ष अगाडि नै बगाइसकेको थियो । ०५६ सालदेखि सयौं परिवारलाई अन्न दिने ब्रम्हतोला र कुल्देवमाडौंको बेलकाटिया क्षेत्रमा पर्ने प्रख्यात सेरा ज्यूलाको दुर्दसा सुरु भएको हो । साउनको पहिलो साता गुइगाढमा आएको बाढीपहिरोले बुढीगंगा नदी थुन्यो । नदी थुनिएर सेरामा ठूलो ताल पर्‍यो । गुइगाड दक्षिणतर्फ बेलकाटिया, कोट, थुमाका बासिन्दाको ज्यूलोमा तलबाट बुढीगंगा नदीले कटान सुरु गर्‍यो । माथिबाट गुइगाडको बाढीमा आउने ढुंगामाटोले छोप्न थाल्यो । उत्तरतर्फ बसाली र ताप्राका बासिन्दाको खेतीयोग्य जमिन सखाप भयो । ‘सबैगरि सय बढी परिवारको खेती हुने सेराको ज्यूलो बगरमा परिणत भयो,’ स्थानीयवासी हंसबहादुर थापाले त्यो बेलादेखि सुरु भएको दुर्दसा सम्झिए ।

त्यसै बेला हो सुदूरपश्चिमका देउडा गायक लालबहादुर थापाले गाएको गीत चर्चित भएको–
पापिष्ठ गुइगाडी खोला, बगाई ल्याइ गई ढुंगा ।
ताल पाणी सेराका ज्यूला, धन्य बुढीगंगा ।।
सेराको ज्यूलोमा बाजुरामा सबैभन्दा बढी धान गहुँ फल्थ्यो । ज्यूलोमा जमिन हुने परिवारहरू हुनेखानेमै गनिन्थे । थोरै जमिन भएपनि त्यहाँ उत्पादन भएको अन्नपातले वर्षभरि खान पुग्थ्यो । ‘ज्यूलो बगेपछि अहिले त हाम्रो रोपाइँ गर्ने कुनै ठाउँ नै रहेन,’ बेलकाटियाका हेमन्त पाध्याले भने, ‘सेरामा फलेको धान गहुँ वर्षभरि खान पुगेर बिक्री गर्न हुन्थ्यो । अहिले बजारको चामलले पालिनु परेको छ ।’ गुइगाडको दक्षिणतर्फको ठूलो ज्यूलामा बेलकाटियाका २८ परिवारसहित थुमा र कोटबाडा गाउँका बासिन्दाको खेत पनि थियो । अहिले त्यहाँ गुइगाडले वर्षेनी थुपार्दै गएको ढुंगा बाहेक केही छैन । सबैभन्दा बढी कित्ता खेत भएका हरिकृष्ण, लिलाराम, गोपीकृष्ण र चेतानन्द पाध्यायको अहिले बेहाल भएको हेमन्त पाध्याय बताउँछन् । ‘अन्य परिवारको पनि पाखो बाहेक केही छैन,’ हरिकृष्णले भने ।

उत्तरतर्फको ताप्रिसेरा चट्या खोलादेखि गुइगाडसम्मको सेरा ज्यूलोमा बसालीका अधिकारी, ठकुरी, रौले र ताप्राका थापालगायत परिवारहरूका खेतहरू थिए । बुढीगंगाले कटान गरेर सबैका खेत बगर भइसकेका छन् । ‘अहिले ९९ प्रतिशत ज्यूलो बगिसकेको छ’ स्थानीय बलबहादुर थापाले भने ‘घट्टेखोला सडक छेउनिर एक दुई परिवारको सानो टुक्रा बचेको छ । त्यही पनि बुढीगंगा र घट्टेखोलाले वर्षेनी कटान गर्दैछ ।’

कृषि ज्ञान केन्द्र बाजुराले बाजुरामा सबैभन्दा उर्वर खेतीयोग्य जमिन रहेको सेराको ज्यूलो नष्ट भएर ठूलो क्षति भएको बताउँदै आएको छ । ‘कम्तीमा २ हजार रोपनी बगर बनेको छ’ ज्ञान केन्द्रका कृषि अधिकृत मीनप्रसाद जैसीले भन्छन् ‘सेराको ज्यूलोमा जिल्लामै सबैभन्दा बढी धान फल्ने खेतहरू थिए ।’ ज्ञान केन्द्रका अनुसार बगर बनेको क्षेत्रमा उत्पादन हुने धान गहुँको मूल्य वार्षिक २ करोड हुन आउँछ । ‘वार्षिक साढे ३ हजार क्वीन्टल धान र ३ हजार क्वीन्टल गहुँ उत्पादन हुने गरेको हाम्रो अनुमान छ’ अधिकृत जैसीले भने ‘सेरामा उत्पादन हुने खाद्यान्नमा साविकको ब्रम्ह्रतोला र कुल्देवमाडौंका गरी चारवटा ठूलावस्ती निर्भर थिए ।’

सेराको ज्यूलोकै भरमा धानिँदै आएका परिवारलाई अहिले छाक टार्नै मुस्किल भएको स्थानीय नरबहादुर रानाले बताउँछन् । आफुहरूको उठिवास हुने अवस्था आउदासम्म पनि कुनै निकायले सुनुवाई नगरेकोमा पीडित परिवारहरूको चित्त दुखाई छ । ‘हामीले समस्या सुनाउन र गुहार्न बाँकी कुनै निकाय छैन,’ शुभराज पाध्याय भन्छन्, ‘चुनावका बेला गाउँ सबै एक ढिक्का भएर यही समस्या नेताहरूलाई पनि राखेका हौं ।

तर सबै बिर्से ।’ जग्गाधनीहरूले ढुंगामाटो र बगर बनेको जमिनको पनि कर तिर्न भने छाडेका छैनन् । ‘वर्षवर्षै कर तिर्छौ’ हेमन्त पाध्यायले भने ‘गत आर्थिक वर्षमा डेढ हजार तिर्‍र्यौ ।’बेलकाटिया क्षेत्रको सेरोमा ढुंगा मात्र छन् । केही उपाय नभएपछि समिति बनाएर त्यही ढुंगा बिक्रि गर्न थालेको बेलकाटियाका स्थानीय बताउँछन् । ‘गत वर्ष उठेको डेढ लाख ३५ परिवारलाई बराबर भाग लाउने गरेका छौं’ लिलाराम पाध्यायले भने ‘त्यै पनि नगरपालिकाले कर लगाउने कुरा गर्दैछ ।’

गुइगाड उत्तरतर्फ बगर बनेकोले ढुंगा छैन । त्यहाँबाट बालुवा संकलन हुन्छ । बसाली क्षेत्रका जग्गाधनीहरूले आ–आफ्नो जमिन ठहर्‍याएर बालुवा संकलन गर्छन् । संकलित बालुवा ठेकेदारलाई बिक्रि गर्छन् । ‘उहिले अन्न भित्र्याउने जमिनबाट अहिले बालुवा संकलन गरेर चित्त बुझाउने गरेका छौ’ स्थानीय भव रानाले भने ‘वर्षको २० हजारसम्म कमाई हुन्छ ।’

बुढीगंगा तटीय क्षेत्रमा क्षति पुर्‍याउँदै आएको गुइगाडको पहिरो रोकिएको छैन । बरु वर्षेनी बढ्दै गएको छ । लगभग ७ किलोमिटर माथिसम्म फलिएको पहिरोले बगाएर ल्याउने ढुंगाले बुढीगंगा नदी थुनिने गरेको छ । कुल्देवमाण्डौं र ब्रम्ह्रतोलाको सेरामा मात्र क्षति सिमित नभई पारि कैलाशमाण्डौको क्षेत्रमासमेत वर्षेनी कटान र पहिरो बढ्दो क्रममा रहेको स्थानीय बासिन्दाहरूले बताए ।

प्रकाशित : आश्विन ३०, २०७६ १०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×