सी सन्देश : जनतामाथि विश्वासघात नगर्नू

कान्तिपुर संवाददाता

निरन्तर देश–विदेशको मामला, जटिलता केलाएर विश्व मानचित्रमा छाइरहने चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा २२ घन्टा बिताएको सन्दर्भलाई कम महत्त्वपूर्ण मान्न सकिँंदैन  । कर्ममा विश्वास राख्ने, मृदुभाषी, फाल्तु भाषणमा रुचि नभएका सीको अतुलनीय व्यक्तित्व र विचारले हाम्रो नेतृत्वमाथि नौलो अनुभूति थपिएको हुनुपर्छ  ।

जस्तो– राष्ट्रपति सीको भनाइसँग केन्द्रित ‘जनताको मन जितेमात्र सत्तामा टिकिन्छ’ सोमबार प्रकाशित खबरमा सत्ताधारीको दायित्व बोधमात्र गराइएको छैन, राजनीतिको मूलमन्त्र पनि प्रस्ट पारिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी स्वच्छता, प्रतिबद्धता, अनुशासन र जनसेवामा निरन्तर जुटेका कारण चीनले अभूतपूर्व सफलता प्राप्त गरेको विषयलाई हाम्रो नेतृत्वले विकासको मूलमन्त्र बनाउनुपर्छ । गफभन्दा काममा लाग्न अग्रसर हुनुपर्छ । हुन त नेपाल र चीनबीच सहकार्यबाट विभिन्न १७ विषयमा विकास आयोजनाहरू सञ्चालन गर्न दुई देशका अधिकारीहरूले हस्ताक्षर गरिसकेका छन् । तथापि हाम्रा नेता स्वार्थी बनेसम्म, जनताको दुःख–पीडामा उदासीन रहेसम्म जतिसुकै विकास आयोजना सञ्चालन भए पनि सामाजिक, आर्थिक अवस्थामा सुधार आउने देखिंँदैन । राष्ट्रपति सीले नेकपाका नेतालाई चिनियाँ कम्युनिस्ट पार्टीको ७० वर्ष लामो कार्यकालभरि जनसेवा र विकासमा जुटेको विषयमाथि जोड दिँंदै क्रान्ति सफल बनाएको घमन्डले मात्र समृद्धि हासिल नहुने सन्दर्भ जोडेपछि हाम्रा शासकका निम्ति मननयोग्य विषय बनेको छ । तर दुःखको कुरा, २०४६ सालको जनआन्दोलनपछि वर्गीय विभेद बढेको, ठूला दलभित्र गुट–उपगुटको कुरूप तस्बिर देखापरेको, २०६२/६३ को जनआन्दोलनपछि शीर्ष नेतृत्वमा स्वार्थीपन चुलिएको, गणतन्त्र स्थापनापछि भागबन्डाको राजनीतिले दुनियाँ हँसाएको, हत्याहिंसा, बलात्कार, तस्करी, भ्रष्टाचार आम बन्दै गएको विषयले नेपालको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा धमिलिएको छ । गाउँ–सहर सबैतिर नेतृत्व वर्ग व्यक्तिगत स्वार्थ, सुख–सुविधामा लिप्त हुनथालेको, जनअपेक्षा विपरीत काम हुने गरेको बेला चिनियाँ राष्ट्रपतिको विचारधारा हाम्रो सन्दर्भमा ‘आयाराम गयाराम’जस्तो नबन्ला भन्ने आधार कतै छ र ?
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
....
सुशासन र स्वच्छतामा ध्यान देऊ, सादा जीवन उच्च विचार शैलीलाई अपनाऊ, देशलाई उच्च कोटीमा राखी जनताको सेवामा निरन्तर लाग, भ्रष्टाचारलाई शून्य सहनशीलता व्यावहारमा लागू गर, आफूले बोलेका र बनाएका योजनालाई रातदिन खटेर मजबुत हुनेगरी पूरा गर, जनतालाई केन्द्रमा राख । त्यसरी काम गरिरहँदा उनीहरूबाट सधैं सहयोग पाइरहनेछ । आफ्नो पार्टी र आफू रहेको सरकारलाई भ्रष्टाचारबाट जोगाऊ भन्दै नेपालका शीर्ष दलका शीर्ष नेताहरूलाई हार्दिकतासाथ उपदेश र अर्ती दिँदै चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुईदिने राजकीय भ्रमण सकेर आइतबार स्वदेश फर्कनुभएको छ । केरुङ–काठमाडौं–लुम्बिनी रेलवे सम्भाव्यता अध्ययन, सीमा व्यवस्थापन प्रणालीको विकास, शासकीय क्षमताप्रति अभिवृद्धि, सगरमाथाको पर्यावरणीय संरक्षण, आपराधिक गतिविधि नियन्त्रण, सीमापार रेल परियोजनाको अध्ययन लगायतका डेड दर्जनभन्दा बढी परियोजनाहरूमा समझदारी, सम्झौताहरूमा हस्ताक्षर गर्दै नेपाल र चीन दुबै देश बीचको सम्बन्ध प्रगाढ भएको छ ।
– तिलप्रसाद न्यौपाने, माछापोखरी चोक, काठमाडौं

प्रकाशित : आश्विन २८, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?