१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सीको आँखा दक्षिण एसियामा

कान्तिपुर संवाददाता

चीनका राष्ट्रपति सी चिनफिङले नेपाल र भारत दुवै देशको २/२ दिन भ्रमण गरे  । जतिखेर उनी भारतको चैन्नई विमानस्थलबाट काठमाडौँ प्रस्थान गर्दै थिए, त्यतिखेर भारतीय टेलिभिजनहरूमा चीन–भारत बीचको व्यापार असन्तुलनको विषयमा निकै चर्का–चर्का बहस भइरहेको थियो  ।

सीको आँखा दक्षिण एसियामा

भारतीय विज्ञहरूले चीनबाट भारतमा वार्षिक ८० खर्बको सामान आयात भइरहेको तर भारतबाट चीनमा केवल २० खर्बको निकासी भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै यो व्यापारिक घाटा कम गर्न पहल गर्नुपर्ने अन्यथा भारतको बजार चीनका लागि बन्द गर्नुपर्ने बताइरहेका थिए । चीन र भारतबीच व्यापार असन्तुलन ४ भागमा १ भागमात्र छ, तर नेपाल–चीन र नेपाल–भारत बीचको व्यापार घाटा दसौँ दोब्बर बढी छ । र पनि हामीले यस विषयलाई गम्भीरतापूर्वक उठाइरहेका छैनौं । गतवर्ष भारतबाट ११ खर्ब र चीनबाट २ खर्ब बराबरको सामान नेपाल आयात गरियो । दुवै देशमा गरी १ खर्ब बराबरको सामानमात्र नेपालले निर्यात गर्न सक्यो । जबसम्म नेपालले बाह्य लगानी आकर्षित गरी उत्पादन बढाउँदै निकासी गर्न सक्दैन, तबसम्म यो व्यापार असन्तुलन कम हुन सक्दैन । यसका लागि दीर्घकालीन नीति र रणनीति बनाउनुपर्छ । जुन नेपालले गर्न सकिरहेको छैन ।
चीनले भारत लगायत दक्षिण एसियाका १ सय ५७ करोड जनताको विशाल संख्यालाई ध्यान दिई ‘बीआरआई’ जस्ता रणनीति लागू गरिरहेको छ । तर नेपालले आजसम्म त्यस नीतिबाट कसरी फाइदा लिने भनी ठोस योजना तर्जुमा गर्न सकिरहेको छैन । नेपालको लागि भारत र चीनको विशाल बजार उपलब्ध छ, तथापि पूर्वाधार र उत्पादन नहुँदा ती बजारबाट लाभ लिन सकिरहेका छैनौँ । भारतले नेपाली निकासीमा बेलाबेला तगारो लाउने गरेको छ, तर चीनले नेपालको ८ हजार वस्तुमा शून्य भन्सार सुविधासहित निकासीको अवसर दिएको छ । तर पनि हामीले त्यसबाट फाइदा लिन सकिरहेका छैनौँ । किन ? त्यसको कारण खोज्नसके मात्र हामीले छिमेकी मुलुकबाट फाइदा लिन सक्छौँ । अन्यथा हात लाग्यो शून्य । चीनसँग नेपालको मित्रताको इतिहास निकै लामो छ । भृकुटी, अरनिकोदेखि केपी शर्मा ओलीसम्म आइपुग्दा इतिहासका पाना निकै भरिएका छन् । तथापि त्यस अनुरुपको ठोस सहयोग आदान–प्रदान भएको भने खासै देखिएको छैन । विश्वको आर्थिक महाशक्ति बन्ने मार्गमा रहेको चीनले चाहेमा नेपालजस्तो गरिब र अल्पविकसित छिमेकी देशको मुहार नै बदलिदिन सक्छ । चीनले आफ्नो सीमा क्षेत्रमा बनाएको सडक वा अन्य पूर्वाधारले त्यसबेलासम्म नेपाललाई कुनै फाइदा गर्दैन, जुन बेलासम्म उस्तै प्रकृतिको पूर्वाधार नेपालतर्फ बन्दैनन् । भारतीय लगानीमा खुलेका डाबर नेपाल होस् वा युनिलिभर नै किन नहोस्, सबै निकै नाफामा चलेका छन् । तर चीनतर्फबाट खोलिएका सबै उद्योगहरू आज बन्द भएका छन् । किन ? कारण खोजौँ, यसपालि । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीलाई भनुन्, ‘छिमेकी विपन्न भएसम्म तिमीमात्र सम्पन्न हुनुको अर्थ हुँदैन । यसर्थ नेपाललाई भित्री मनदेखि नै सहयोग गर । अनि मात्र नेपालीहरू तिमीहरूसँग खुसी हुन सक्छन् । तिमीलाई वास्तविक मित्र मान्न सक्छन् ।’ परिणाम दिनसके मात्र मित्रताको अर्थ रहन्छ । भारततर्फको अधिक निर्भरता कम गर्न पनि चीनतर्फका सडक, व्यापार र निकासी, पैठारी बढ्नुपर्छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको पूर्वाधार विकास सम्बन्धी महत्त्वपूर्ण सहयोग घोषणा गरे । यो स्वागतयोग्य छ । चीन हाम्रो प्राचीन मित्रराष्ट्र हुनुका साथै असल छिमेकी पनि हो । चिनियाँ सहयोगको रूपमा हामीले अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, निजामती कर्मचारी अस्पतालजस्ता ठूला आयोजना प्राप्त गरेका छौँ र हाम्रो मागलाई स्वीकारेर अझै चीनले सहयोग गर्ने आश्वासन दिएको छ । विगतमा चीनले पर्यावरणमैत्री विद्युतीय बस र त्यसको सञ्चालनका लागि तारसहितको पोल जडान गरेका अवशेषहरू अझै मीनभवन, नयाँबानेश्वरमा देख्न सकिन्छ । मित्रराष्ट्र चीनबाट प्राप्त फाइदामूलक आयोजनालाई समेत हामीले राम्रोसँग सञ्चालन गर्न नसकेको विगतलाई हामीले सम्झिन सकेनौँ भने सहयोगी हातहरूले हामीलाई शङ्का गर्नेछन् । हाम्रो क्षमता कमजोर भएको सन्देश जानेछ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : आश्विन २७, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?