कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीलाई स्वागत

कान्तिपुर संवाददाता

चीनसँग नेपालको मित्रताको इतिहास लामो छ  । त्यहीअनुरूपको ठोस सहयोग आदान–प्रदान भने खासै देखिएको छैन  ।

सीलाई स्वागत

विश्वको आर्थिक महाशक्ति बन्न थालेको चीनले नेपालको विकासमा ठूलो टेवा पुर्‍याउन सक्छ । चीनबाट रेल र तेलका कुरा कागजमै सीमित छन् । दुई–चार पार्टीका दुई–चार दर्जन नेताले चीन भ्रमण गर्दैमा नेपालको मुहार फेरिँदैन । त्यसका लागि ठोस नीति योजना र सहयोग चाहिन्छ । यसपालिको सी चिनफिङको भ्रमणबाट नेपालले कुन हदसम्म फाइदा लिन सक्छ भन्ने भविष्यमा प्रस्ट हुने नै छ । सीको रोड एन्ड बेल्ट परियोजनामा सहभागी भए पनि नेपालले अहिलेसम्म यसमा ठूला परियोजना हात पार्न सकेको छैन । केवल सी विचारधारा पढ्दैमा नेपालको विकास हुँदैन भन्ने तथ्य नेपाली नेताहरूले मनन गर्न सक्नुपर्छ । नेपाली नेृतत्वले सीलाई बुझाउन सक्नुपर्छ— ‘छिमेकी विपन्न भएसम्म तिमी मात्र सम्पन्न हुनुको अर्थ हुँदैन । यसर्थ नेपाललाई भित्री मनदेखि नै सहयोग गर ।’ भारततर्फको अधिक निर्भरता कम गर्न पनि चीन तर्फ व्यापार र निकासीपैठारी बढ्नुपर्छ । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र मुक्तिनाथ घुमाए जस्तै गरी सीलाई पनि बुद्ध जन्मथल लुम्बीनी घुमाउन सकेको भए आउँदो नेपाल भ्रमण वर्ष सफल हुन्थ्यो कि !
– गोपाल देवकोटा, जोरपाटी काठमाडौं

‘सी आगमनको सन्देश’ शीर्षकमा प्रकाशित खबर पढेपछि नेपालले आँट गरेमा चीनसँगको सहकार्य, सहयोगबाट विकासमा नयाँ आयाम थपिने आशा राख्न सकिन्छ । चीनले विकासमा अभूतपूर्व सफलता प्राप्त गरेको, विश्व राजनीतिमा मजबुत पकड जमाएको ऐनमौकामा २३ वर्षपछि राष्ट्रपति सी चिनफिङको सौहार्दपूर्ण भ्रमण हुनु आफैंमा एउटा सन्देश हो । राष्ट्रपति सीको व्यक्तिगत अवधारणाबारे विश्लेषण गर्दा उनी भौतिक विकासको एकोहोरो मोडेलमा मात्र विश्वास नराख्ने नेताका रूपमा चित्रण गर्न सकिन्छ । विगत कोट्याएर हेर्दा राष्ट्रपति सीको साहित्य, कला, संस्कृति, पर्यावरण, कृषिजस्ता गैरराजनीतिक क्षेत्रमा उत्तिकै रुचि रहेको पाइन्छ । पछिल्लो समय उनी प्राचीन एसियाली सभ्यतालाई पुनर्जागरण गराउन लागिपरेको सन्दर्भ चर्चाको विषय बनेको छ । यता नेपाल भ्रमणका अवसरमा चीनसँग केरुङ–काठमाडौं रेलमार्ग डीपीआर, सडकलगायत झन्डै एक दर्जन आयोजना कार्यान्वयनबारे सम्झौता हुने विषय प्राथमिकतामा रहँदा निकट भविष्यमा यसबाट देशभर समृद्धिको झझल्को देखिने अपेक्षा राख्न सकिन्छ । यसबाहेक राष्ट्रपति सी स्वयंले कान्तिपुरमा प्रकाशित आफ्नो आलेखमार्फत हिमाल, पहाड, नदी–नालाले चीन र नेपालको सामीप्यता बढाएको, इतिहास, भूगोल, धर्म र संस्कृतिले दुई देशबीचको सम्बन्धको जग अझ बलियो बनाएको उल्लेख गरेपछि गद्गद् नहुने कोही नेपाली देखिँदैनन् । उत्तरी छिमेकीको विश्वचर्चित नेताले नेपाललाई यसरी महत्त्व दिएको बेला यदि यहाँका जिम्मेवार नेता, योजनाकारहरू विकासमा हातेमालो गर्न चुकेमा, जुर्मुराउन नसकेमा या समयको सदुपयोग गर्न नजानेमा हाम्रो अधोगति रोकिने छैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

केही दिन अगाडि मात्र काठमाडौंमा चीनका अन्तर्राष्ट्रिय विभाग प्रमुखले नेकपाका विभिन्न तहका नेतृत्वहरूलाई सी विचारबारे प्रशिक्षण दिएका थिए । त्यसलगत्तै नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको आगमन भएको छ । उनी भारतको भ्रमण सकाएर काठमाडौं आउनुलाई पनि धेरैले अर्थपूर्ण मानेका छन् । छिमेकी मुलुक चीनको २३ वर्षपछिको आगमनबाट नेपालले ठूलो अपेक्षा राखेका छन् । मुलुकमा जति बाक्लो उपस्थिति दक्षिणी छिमेकी भारतको छ, उति उत्तर छिमेकी चीनको छैन । दुई छिमेकीसँगको सम्बन्ध जुन सन्तुलनमा हुनुपर्थ्यो त्यो हुन सकेको छैन । नेपालभन्दा पछिका मुलुकहरू निकै अगाडि बढिसकेका छन् । नेपालमात्र यस्तो देश हो, जुन अरू मुलुकको पछिपछि कुदिरहेको छ । त्यसैले सीको भ्रमणलाई नेपालले अवसरका रूपमा प्रयोग गर्न सक्नुपर्छ । छिमेकी राष्ट्रसँगको राम्रो र सन्तुलन सम्बन्धले मात्र मुलुकको सपना पूरा गर्न सकिन्छ ।
– राजेश विद्रोही, लहान, सिरहा

अहिले सर्वत्र चासोको विषय बनिरहेको हट विषयवस्तु चिनियाँ राष्ट्रपतिको २३ वर्षको अन्तरालमा भएको भ्रमण नै हो । वास्तवमा संसारकै शक्तिशाली राष्ट्रको रूपमा उदाउँदै गरेको चीनका राष्ट्रपति सी चिनफिङ चीनमा उत्तिकै शक्तिशाली छन् । उनको भ्रमणले नेपालीलाई निकै उत्साही बनाएको छ । यो भ्रमण एक अविस्मरणीय र अवसरको मौकासमेत हो । अब यसलाई भ्रमणमा मात्र सीमित नराखी नेपालले अधिकतम फाइदा लिन सक्नुपर्छ । चीनको सुरक्षामा नेपालको सहयोगमा आश्वस्त तुल्याई चीनबाट अधिकतम फाइदा लिन नेपाल चुक्नु हुँदैन ।
– नरनाथ पाण्डे, कावासोती—८, नवलपुर

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुनु अत्यन्तै सान्दर्भिक साथै महत्त्वपूर्ण छ । यसरी छिमेकी राष्ट्रप्रमुखको भ्रमणले सरकारलाई ऊर्जा प्राप्त हुनु पर्छ । लामो समयको अन्तरालमा भएको यो भ्रमण आफैंमा महत्त्वपूर्ण छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा काठमाडौंमा रोपिएका बिरुवा कहाँ छन्, सरकारले बिर्सिसकेको छ । तीनकुनेको खाली जमिनमा मात्रै लाखौं खर्च गरिएको थियो ।आज फेरि गरिएको छ । सरकार किन स्थायी विकासतर्फ अग्रसर भइरहेको छैन । तीनकुनेको खाली जमिनमा अहिलेसम्म उच्चस्तरको भ्रमणलाई देखाउन मात्र ठूलो खर्च भइसकेको छ । यसरी स्वागत गर्दा पनि हामीले भुल्नु हुँदैन– विदेशी राष्ट्रप्रमुखहरू मोदी हुन् वा सी, उनीहरू
आफ्नो देश बनाउन हिँडेका हुन्, छिमेकी बनाउन होइन । त्यसैले आफ्नो देश आफैं बनाउने हो, अरूले होइन । यद्यपि यस्ता भ्रमणहरूले आपसी समझदारीमा भने पक्कै नयाँ आयाम थप्ने छन् ।
– रामकृष्ण बराल, जोरपाटी–२

झन्डै अढाई दशकपछि चीनका राष्ट्रपति सगरमाथा पार गर्दै नेपालको भ्रमणमा आइरहँदा नेपालस्थित सत्तारूढ दलका नेता कार्यकर्ताको खुट्टा भुइँमा छैन । चीनका राष्ट्रपतिको नेपाल भ्रमणमात्रै पनि ठूलो उपलब्धि हो भन्ने विश्वास सत्तारूढ दलका नेताहरूमा छ । विश्व जगत्मा चीनले हासिल गरेको आर्थिक उपलब्धिबाट नेपालले फाइदा लिन ढिला भइरहेको बखत चीनबाट कसरी फाइदा लिने भन्ने सन्दर्भमा नेपालले कहिल्यै पनि चातुर्यता प्रस्तुत गर्नै सकेन । यातायात लगायत विकास निर्माणका क्षेत्रमा चीनले नेपाललाई ललीपपका रूपमा केही छाडेर जाने कुरामा कुनै सन्देह छैन । नेपालमा चिनियाँ लगानी भित्र्याउने र नेपाललाई चीन र भारतलगायत यस क्षेत्रका राष्ट्रहरूको ट्रान्जिटका रूपमा बिस्तार गर्नेतर्फ पनि अब नेपालले छिमेकी मुलुक चीन र भारतसमक्ष आफूलाई प्रस्तुत गर्नुपर्ने बेला आएको छ । समृद्धि र विकासको चर्चा गरिरहँदा वायु प्रदूषण र हिमालय क्षेत्रको संवेदनशीलता तथा विश्वव्यापी उष्णतामा चीनले निर्वाह गरिरहेको भूमिकाका बारेमा नेपालले आवाज उठाउनु पर्दैन र ? हिमाल पग्लँदै छन्, पानीका मुहान सुक्दैछन्, यसका लागि प्रमुख जिम्मेवारका रूपमा चीन र भारतको उपस्थितिप्रति नेपालले खबरदारी गर्ने कि नगर्ने ? भौतिक विकासभन्दा पनि हाम्रा सन्ततिको बाँच्न पाउने अधिकार हाम्रा लागि प्राथमिकताको विषय बन्नुपर्छ । सेता टलक्क टल्कने हाम्रा हिमालहरू काला पत्थरमा अनुवाद हुँदै गर्दा चीनले कार्बन उत्सर्जनमा कमी ल्याउने प्रतिबद्धता व्यक्त गर्नुपर्छ ।
– उत्तम पुडासैनी, जोरपाटी, काठमाडौं 

प्रकाशित : आश्विन २६, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?