१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पीडितको ‘युटर्न’ का प्रश्न

कान्तिपुर संवाददाता

‘किन भइन् पीडित युटर्न ?’ समाचार पढेर बडो दुःख लाग्यो  । रोशनी शाही यौन दुर्व्यवहारको पीडितको रुपमा सार्वजनिक रूपमा आएपछि उनले दह्रो खुट्टा टेक्ने हिम्मत गर्नुपर्थ्यो  ।

पीडितको ‘युटर्न’ का प्रश्न

पुरुषप्रधान समाज, सत्ता र शक्तिको दबाब र प्रभावका कारण उनी आफूमाथि भएको दुर्व्यवहारको विरुद्धमा उभिरहन सकिनन् । उनलाई तत्कालीन सभामुख कृष्णबहादुर महराको बचाउ गर्न निकै ठूलो दबाब परेको अघिल्लो अन्तर्वार्ता र पछिल्लो अन्तर्वार्तामा उनले परस्पर विराधी कुरा गरेबाट प्रस्ट हुन्छ ।
ठाउँ पाएपछि विरोधीहरूले घटनालाई सार्वजनिक गर्नु वा उछाल्नु स्वाभाविक हो । घटनाको मुख्य दोषी महरा नै हुन् । बाहिर देख्दा शालिन देखिने महरा भित्रभित्रै ‘कुहिएको फर्सी’जस्तै भएका रहेछन् । महरा प्रकरणले गम्भीर प्रश्न उब्जाइदिएको छ कि राज्यको महत्त्वपूर्ण ओहदामा बसेका अन्य नेताहरू पनि महराजस्तै कुहिएको फर्सी त बनिरहेका छैनन् ? माओवादी सशस्त्र युद्धका बेलामा नैतिकताको कुरा हुन्थ्यो, तर जब युद्ध सकियो, धेरै नेताका नैतिकताहरू पनि सकिए । हुन त युद्धकालमै थुप्रै नेताहरूको नैतिकता सकिएकै थियो । मजबुतहरूद्वारा कमजोर, शालिन र इमानदारहरूको कमजोरीमाथि हमला हुने गर्थ्यो र तिनीहरूको राजनीतिक जीवन समाप्त पारिन्थ्यो । पार्टी सत्तामा भएका नेताहरूका गल्ती–कमजोरीको विषयमा कमजोरहरूले बोल्ने हिम्मतै गर्दैनथे । अब यस घटनाबाट अन्य नेताहरू पनि सचेत हुन् र बेलैमा पाठ सिकेर आफ्ना कमी–कमजोरीहरूप्रति सचेत होऊन् ।
– राजेश विद्रोही, लहान, सिरहा

नेपालमा अधिकांश महिला पीडित छन् । उनीहरू नै यौन हिंसामा पर्छन् । यदाकता पुरुषहरू झुटा आरोपका सिकार पनि बन्छन् । अहिले चर्चा कृष्णबहादुर महराको छ । पूर्व सभामुख भएकै आधारमा हिरासतमा नराख्ने र मुद्दा नचलाउने हो भने, झुटा आरोप लगाएकै हो भने रोशनी शाहीलाई झुटा उजुरी गरेबापत सजाय गर्ने कानुनी बाटोसमेत बन्द हुन्छ । जाहेरी सके किटानी, नसके लिखित वा मौखिक सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्नसक्ने र सरकारी वकिलमार्फत अदालतमा अभियोगपत्र दायर गर्न मुलुकी फौजदारी अपराध संहिताले व्यवस्था गरेकै छ । मुद्दा चलाउन अपराधी पुष्टि भएको खण्डमा ठूलालाई पनि कानुन लाग्ने रहेछ भन्ने देखाउन र अपराध गरेको पुष्टि नभए झुटा उजुरी गर्नेलाई दण्डित गरेर भोलिका दिनमा यस्ता गलत कामहरू गर्न नहुने रहेछ भनेर पाठ सिक्न/सिकाउन आवश्यक छ । मूलतः सहमति विनाको यौन सम्बन्ध पाशविक नै हो । यौन भनेको शारीरिक र मानसिक दुवै हो । जबर्जस्ती करणी एकतर्फी हुने हुनाले यसलाई पशुको व्यवहारसंँग तुलना गर्न सकिन्छ । दुवैजनाको सहमति बेगरको यौन क्रियाकलाप शारीरिक र मानसिक रूपमै पीडादायी हुन्छ । त्यसैले यस्ता घटनाहरूमा प्रमाण लोप हुनदिनु हुँदैन । प्रमाण लोप हुँदा पीडितले न्याय पाउँदैन । आरोप झुटो भए बेकसुरदारलाई सजाय गरिनु हुँदैन । नत्र न्याय मर्छ । र कानुनी राज, विधिको शासन र न्यायको अनुभूति प्रत्येक नागरिकले गर्न सकिने हुनुपर्छ । कानुनको अगाडि सबै समान हुन् भन्ने पनि बिर्सन मिल्दैन ।
– अधिवक्ता फुर्पा तामाङ, ठूलो भार्खु, रसुवा

राष्ट्रका लागि जनताद्वारा निर्वाचित प्रतिनिधि पठाइने संसदका सम्माननीय अगुवा र अभिभावकले यौन दुराचारको आरोपमा राजीनामा दिएको खबरले नेपालीहरूको शिर निहुरिएको छ । उक्त आरोप लगाउने महिला आफ्नो भनाइबाट पछाडि फर्किए तापनि उच्च ओहदामा पुगेका व्यक्तिहरूको आचरणलाई जनताले शंकाको दृष्टिबाट हेर्ने वातावरण बनेको छ । देशभरि भ्रष्टाचार सम्बन्धी विवादहरूको खबरहरूलाई उछिनेर यस खबरले अर्को खाले तरंग सिर्जना गरिदिएको छ । अर्को सभामुखको र कुन दलको भन्ने अटकलबाजी गर्नुभन्दा दलहरूले हरेक तवरले ठिक भन्ने नेतालाई अगाडि ल्याउन सक्नुपर्छ । चरित्र र आचरण र अनुशासनलाई दलभित्र कडाइसाथ लागू गरेमात्र केही हदसम्म ठिक हुन्छ । यसभन्दा पहिले यस प्रकरणमा निष्पक्ष प्रहरी छानबिन आवश्यक छ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : आश्विन १७, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?