चाडपर्वमा चिन्ता
म यो देशको एक मजदुर हुँ । जसोतसो हरेक चाडपर्वहरूको मर्म ननिमोठी मनाउँदै आइरहेको थिएँ ।
केही दशकदेखि चाडपर्वहरूलाई उत्ताउलो र भड्किलो बनाउनेहरूबीच तीव्र प्रतिस्पर्धा हुँदै जाँदा म बबुरो त्यसमा सहभागी हुने सकिन । म दशकौंदेखि दैनिक मजदुरीबाट जसोतसो चुलोमा ताप्के तताउँदैछु । दैनिक मजदुरी गर्दा पसिनाले पटक–पटक नुहाउँछु, तर एकपटक पनि पूरै परिवारको पूरै पेट भराउन सक्दिन । जब चाडपर्व आउँछ, मलाई दिग्दार लाग्छ । हजुरले तोकिदिएको न्यूनतम पारिश्रमिकले दुईछाक टार्न परिवारका केही सदस्यले पालैपालो प्रत्येक दिन कुनै भगवानको नाममा व्रत बस्नुपर्ने अवस्था छ । गतिला जागिरेको त दसैंमा बोनस आउँछ, मेरो त प्रत्येक दसैंमा ऋण थपिँदै जान्छ । ऋणले न दसैं सिध्याउँछ, न त नाताकुटुम्ब नै रिझाउँछ । घाँटी हेरी हाड निल्नु, गच्छे अनुसार चल्नु भन्नेगरी हाम्रो समाज विकसित भैगाको छैन । ठूलाठालुले जे चलन चलाए, त्यो चलनले म कहिल्यै आर्थिक रूपमा सबल हुन सकिन ।
– कृष्णप्रसाद घिमिरे, विराटनगर–३, मोरङ