तपाईँले नयाँ नोट साट्नुभयो ?

कान्तिपुर संवाददाता

दसैसँगै नयाँ नोटको जोहो गर्ने चहलपहल सुरु भइसकेको छ  । नातेदार बैंकमा भएकाहरूले सोही अनुसार माग गर्दैछन् त कोही लामो लाइन बसी नयाँ नगद साट्दैछन्  ।

बजार, सडक छेउ, आकासे पुलमा केही पैसा बढी लिई पैसा साट्न सुरु भइसकेको छ । दसैंको अवसरमा नयाँ नोट पाउनुपर्ने अधिकारका रूपमा लिइँदै आएको देखिन्छ र माग अनुसार नेपाल राष्ट्र बैंकले सो उपलब्ध गराई पनि रहेको छ । दसैंको बेला घरबारी सफा राखी, नयाँ लुगा लगाई टीका थाप्न जाँदा नयाँ नोट प्रयोग गर्ने प्रचलन रहिआएको छ । नयाँ नोटबिना दसैं नै नहुनेझैं अनेक दुःखसाथ नयाँ नोटको जोहो गरिन्छ, मानौं सो बिना दसैं नै सम्भव छैन ।
तर दसैंमा साटिएको नयाँ नोटको प्रयोग भने धेरै लापरबाहीसाथ गरिँदै आएको छ । टीका लगाइदिएकै हातले नयाँ नोटमा रातो अबिरसँगै चिसो जमरा लगाइदिएको नोट छिनमै पुरानो सरह भैदिन्छ । पवित्र मानिएको अक्षेताले छिनभरमै नोटमा नमेटिने दाग लगाइदिन्छ । अझ सोही नोटलाई पट्टाइ सानो खल्तीभित्र छिराइ बिगार्ने गरिन्छ । सो नोट अर्को दसैं आउनु अघि नै झुत्रा नोट हुनपुगी राष्ट्र बैंकको चुलो (फर्नेस हाउसमा) जल्न पुग्छ । अनि फेरि अर्को दसैंसँगै अर्बौं रुपैयाँ खर्च गरी नयाँ नोट छापी फेरि अक्षेता लगाउन तयार गरिन्छ ।
यो प्रक्रियाले आर्थिक रूपमा राज्यले ठूलो घाटा बेहोरिरहेको छ । एक पटक छापेको नोट कम्तीमा ४/५ वर्ष बचाउन सक्ने हो भने ४ अर्ब रुपैयाँ बचत गर्न सकिन्छ । जुन रकम अन्य उत्पादन क्षेत्रमा प्रयोग गरे राज्यको ढुकुटीमा थप रकम जम्मा हुनेछ ।
दसैंमा भएको प्रयोगले मात्र नभई नोटमा केरमेट गर्ने, प्रेमपत्र लेख्ने, बन्डलको जम्मा रकम नोटमा लेख्ने जस्तै अनेकन कार्यले पनि नोट फोहोर गर्ने, बिगार्ने गरिएको पाइन्छ । अझ मोटो–मोटो पिन लगाउनाले त झन् नोट च्यातिने डर पनि बढ्छ । यस्ता ससाना गल्तीले पनि नोटलाई हानि पुर्‍याउने गरेको छ । जानी–नजानी गरिएका यस्ता लापरबाहीले नोट बिगार्ने मात्र नभई नोट नै अशोभनीय देखिन्छ । त्यसैले नोटको सुरक्षित रूपमा प्रयोग गर्नेबारे जनचेतना बढाउन जरुरी छ ।
– स्वेच्छा घिमिरे, काठमाडौं

प्रकाशित : आश्विन १६, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्

भगवान नै हुन्, डाक्टर

कान्तिपुर संवाददाता

‘अनि उनले संसार देखे’, सल्यान दमाचौरका नरहरिको कथा पढ्दा मानिसको जीवन अनन्त शृंखलाहरूको जोड हो भन्ने पुष्टि हुन्छ  ।

उनको दृढ विश्वास, गौशालास्थित धर्मशालाका क्यान्टिन सञ्चालक मुकुलकुमार सिन्हाको सहयोग, तिलगंगा आँखा अस्पताल र डा. सन्दुक रुइतको प्रयासले एउटा मानिसको जीवनमा आएको परिवर्तनको कथा पढ्ने धेरैको आँखा रसाउन सक्छ । नरहरिकै शब्दमा उनका लागि संसारमा भएका दुई चिज भगवान र डाक्टर रुइत उस्तै हुन् भन्ने अभिव्यक्ति डा. रुइतले देश/विदेशमा पुर्‍याएको सेवाप्रतिको सही मूल्यांकनसँग मेल खाने विषय हो ।
– महेशप्रसाद ढुंगाना, नयाँवानेश्वर, काठमाडौं

प्रकाशित : आश्विन १६, २०७६ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्