घरजग्गाको भविष्यवाणी

कान्तिपुर संवाददाता

जमिन र सुनको मूल्य यतिखेर नेपाली बजारमा खरिद गरिनसक्नु भएको छ  । यद्यपि खरिद घटेको छैन  ।

नेपाली समाजमा यी दुई चिजलाई मान, सम्मान र प्रतिष्ठासँग जोडिएर हेरिन्छ । त्यसैले धन कमाउनासाथ जग्गा र सुन किनिहाल्छन् । गहाना बनाएर जीउभरि लाएर ठाँटिन्छन् । अग्लो र ठूलो घर बनाएर शानले बस्छन् ।
सुनलाई धातु मध्येको श्रेष्ठ मानिन्छ । र त सुनौलो रंग, सुनपानी, सुनमाया आदि भन्ने गर्छन् । धर्म, संस्कृतिसँग पनि सुन जोडिएर आउँछ ।
जमिन, जल र जंगल प्रकृतिले निःशुल्क दिएको हो । तर अहिले यी वस्तुको उपभोग मूल्य तिरेर गर्नुपर्छ । खेती गर्न, घर बनाउन र अन्य प्रयोजनका लागि जमिनको माग बढ्दो छ । धेरै जमिन किनेर आफूलाई धनाढ्य देखाउनेको संख्या पनि धेरै छन् । विगत दुई दशकपछि जमिनको मूल्य अचाक्ली बढेको छ ।
विदेशिएका युवाहरूले कमाएको पैसा लगानी गर्ने उपयुक्त क्षेत्र अर्को नहुँदा जग्गामा लगानी गरेकाले मूल्य बढ्दै गएको हो । अर्को कारण गाउँघरमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर नहुँदा पैसा कमाएपछि सहर–बजारमा बसाइँ–सराइ गर्ने संख्या वर्षेनि बढ्दै गएकोले जग्गाको मूल्यवृद्धि भएको हो । संकट कालमा सुरक्षाको दृष्टिले सहरमा बसाइँ–सराइ बढेको हो । बैंकर र प्लटिङ व्यवसायीले गैर–उत्पादनमूलक क्षेत्रमा नाफा कमाउने उद्देश्यले लगानी गर्नाले पनि जग्गाको मूल्य अचाक्ली बढ्न गएको हो ।
अबको यो पहिलो पुस्ता गाउँमै रमाउँछन् । ती विदेश गए पनि गाउँमै फर्किन्छन् । दोस्रो पुस्ता सहर–बजारमा रमाउँछन् । ती गाउँ फर्कन्नन् । तेस्रो पुस्ता जो पढ्न र काम गर्न विदेश पुग्छन्, ती स्वदेश फर्किन चाहँदैनन् । त्यसैले १०/१५ वर्षमा सहर–बजारको घरजग्गाको मूल्यमा मन्दी आउनेछ ।
– फुर्पा तामाङ, रसुवा

प्रकाशित : आश्विन १६, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्

घोषणाले मात्र हुँदैन

कान्तिपुर संवाददाता

१ करोड ४८ लाख ५० हजारभन्दा बढी घरपरिवार र ५६ लाख ६० हजारमात्र शौचालय रहेको तथ्य विदित हुँदाहुँदै पुरै मुलुकलाई ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा आश्चर्यपूर्ण छ  । राष्ट्रमा खानेपानीको धारा अझैसम्म नपुगेका गाउँ छँदैछन्  ।

खुलामा दिसा गर्नुपर्ने तर्क दिने मान्छे हुँदाहुँदै र शौचालयलाई गोदाम र खोरको रूपमा प्रयोग गरिरहेको घरपरिवार रहिआएको अवस्थामा हतारमा किन घोषणा गर्नुपरेको होला ? दुर्गमको व्यथा त छँदैछ । तराईबाट राजधानी गुड्ने रात्रिबसका चालक र परिचालकले यात्रुलाई उपलब्ध गराउने शौचालय सुविधाले हाम्रो अवस्था छर्लङ्ग पार्छ । कुनै प्रतिस्पर्धाको डर नरहेको बेला, रेल र पानीजहाजको घोषणा गरेजस्तै ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्नु पछाडि के रहस्य रहेछ ?
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

सरकारले असोज १३ गते नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेको समाचार पढिरहँदा एक सर्वसाधारण नागरिकको हैसियतले उदेक लाग्यो । हामीले बुझेको ‘खुल्ला दिसामुक्त नेपाल’ भन्नाले शौचालय बाहिर दिसामुक्त नेपाल हो । यसका लागि सातवटै प्रदेश खुल्ला दिसामुक्त भएपछि बल्ल सम्पूर्ण नेपाल दिसामुक्त हुनेछ । संघीय राजधानी सहर काठमाडौंकै कुरा गर्ने हो भने पनि आजसम्म पनि मुख्य चोककै प्रायः सबैजसो आकासे पुलमुनि, साँघुरा गल्ली र एकान्त स्थानहरूमा यत्रतत्र गरिएका दिसा–पिसावका कारण नाक थुनेर हिँड्नुपर्ने अवस्था छँदैछ । पर्याप्त शौचालय सहरका कुनै पनि ठाउँमा बनाइएको छैन । गाउँ, टोल र बस्तीका कथा–व्यथा त भनिरहनु नै पर्दैन । पहिले पर्याप्त सरसफाइ साथसाथै देशभर जनजागरण अभियान चलाएर व्यवहारमै स्वच्छ र सफा दिसामुक्त नेपाल देखिएपछि घोषणाको कार्यक्रम राखेको भए सान्दर्भिक हुने थियो । यो सरकारको प्रचारमुखी काम बाहेक केही होइन । तामझामसाथ सुरु गरिएको सामाजिक सुरक्षा नीतिको श्रमिकलाई पेन्सन कार्यक्रमजस्तै सरकारको खुल्ला दिसामुक्त कार्यक्रम अलपत्र नपरोस् ।
– पूर्ण थापा ॅशिव’, सालु–४, मन्थली, रामेछाप

प्रकाशित : आश्विन १६, २०७६ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्