जनहितका लागि बोल्ने को ?

कान्तिपुर संवाददाता

पृथ्वी राजमार्ग अन्तर्गतको नागढुङ्गा–नौबिसे सडक खण्डको दुर्दशा, दिनहुँ हुने सडक जाम गाईजात्राको जिउँदो–जाग्दो तस्बिर बनेको छ  । राजधानीको प्रवेशद्वार, लाखौं ओहोर–दोहोर गर्ने नाकाको यस्तो हविगत हुँदा पनि राज्य सञ्चालकहरूको ध्यान नपुग्नु विडम्बना हो  ।

यात्रुले दिनहुँ सास्ती भोग्नुपरेको छ । १ घन्टाको यात्रालाई ८–९ घन्टा लागेको छ । गम्भीर प्रकृतिका रोगी, प्रसूति व्यथा लागेकाहरूको वेदना असह्य बनेको छ । एकजनाको त जामकै कारण एम्बुलेन्समै ज्यान गयो । दसैंको मुखमा उपत्यकाबाट बाहिरिने र भित्रिने सर्वसाधारण ह्वात्तै बढेका कारण गाडीको जाम अरु लम्बिन थालेको छ । विजयादसमीमा खुसियाली मनाउन घर फर्कनेहरू अत्यासलाग्दो सडकदेखि आश्चर्यचकित बन्ने गरेका छन् । नेपाल भ्रमणवर्ष २०२० को पूर्वसन्ध्यामा यात्राका सम्पूर्ण पूर्वाधार तयार भएको ठान्दै विभिन्न मुलुकबाट आएका पर्यटक जब यो सडक खण्डमा पुग्छन्, उनीहरू पहिलो गाँसमै ढुंगा चपाएको महसुस गर्न थाल्छन् । कुनै पनि देशको राजधानी आवत–जावत गर्ने प्रमुख मार्ग यति विरहपूर्ण, पट्यारलाग्दो, खण्डहर अवस्थामा होला भनी कसैले कल्पनासम्म गरेका हुँदैनन् । मुलुकको शान, गरिमा बढाउन वैकल्पिक सडक निर्माणको प्रचुर सम्भावना हुँदाहुँदै देशी/विदेशी सबैलाई दुःखकष्ट दिएर सत्ताधारी किन रमाइरहेका होलान् ? सांसद, मन्त्री आफ्नै भलाइ, भौतिक सुखसुविधाको लागि मरिहत्ते गर्छन्, जनहितको विषयमा केही गर्दैनन् । यही आर्थिक वर्षमा संघीय, प्रादेशिक र स्थानीय सरकार प्रत्येकको विनियोजित बजेटबाट १०–१० प्रतिशत रकम कटौती गरी सरकारले सीतापाइला–धार्के सडक खण्ड निर्माण गर्ने अभियान थाल्यो भने जनस्तरबाट समर्थन नगर्ने कोही देखिंँदैनन् ?
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : आश्विन १४, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?