भ्रममा नपर्न आग्रह

कान्तिपुर संवाददाता

भदौ ३१ गते प्रकाशित ‘झाँक्रीले पेट चिरेकाको मृत्यु’ समाचारप्रति नेपाल झाँक्री संघको गम्भीर ध्यानाकर्षण भएको छ  ।

उक्त व्यक्तिको वास्तविक परिचय के हो भनी नेपाल झाँक्री संघले खोज–तलास गर्दा ती व्यक्ति कुनै पनि झाँक्री सम्बन्धी संघ/संस्थामा आबद्ध नभएको तथा उनी झाँक्री नभई लामा तथा गुम्वा सञ्चालक भएको बुझिन आएको छ । तर समाचारले झाँक्री सम्बन्धी भ्रम पर्न गएकाले नेपाल झाँक्री संघ उक्त समाचारको आधारमा झाँक्रीबारे धारणा नबनाउन अनुरोध गर्छ ।
– शंकर कार्की, प्रवक्ता, नेपाल झाँक्री संघ

प्रकाशित : आश्विन २, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्

गाउँमा अझै अन्धविश्वास

कान्तिपुर संवाददाता

कमलपित्तको विकार निकाल्ने भन्दै ब्लेडले पेट चिरेर बिरामीको मृत्यु भएको समाचारले दुःखी बनायो  ।

वितगको तुलनामा आज मानिसमा चेतनाको स्तर धेरै माथि पुग्दा पनि अझै धामी–झाँक्रीको नाममा गाउँका सिधासाधा मानिसलाई अन्धविश्वासको भुमरीमा पार्ने काम भइरहेको छ । फुकेर निको हुन्छ भन्दै गाउँघरतिर अझै पनि धामी–झाँक्रीको विश्वास गर्ने प्रवृत्ति छ । यस किसिमको अन्धविश्वसका कारण गाउँलेहरूको अनाहकमा ज्यान गइरहेको छ । रोग निको हुन्छ भनेर झाँक्रीलाई पेट चिर्न दिनु मुर्खता हो ।


समय धेरै बदलिसकेको छ । अहिले वातावरणीय प्रदूषण, अस्वस्थ खानपान लगायतका कारण मानिसमा सोच्दै नचोसेका रोग लाग्ने र उक्त रोगबाट मुक्त हुने उपायको खोजीमा मानिसहरू भौँतारिरहेका हुन्छन् ।विशेषगरी गाउँमा धेरै अन्धविश्वासले जरा गाडेको छ । आजको युगमा पनि अन्धविश्वासमा पर्नु भनेको अनाहकमा ज्यान गुमाउनु हो । मान्छेको पेट चिरेर मुखले चुसेर रोग निको पार्छु भन्दा पत्याउने समाजले अन्धविश्वासको रूपलाई छर्लङ्ग पारेको छ । मान्छेलाई अन्धकारमा धकेलेर धामी– झाँक्रीको नाममा यसरी ज्यान लिनेहरूलाई सामाजिक रूपमा दुरुत्साहित गर्नुपर्छ । र राज्यले यथाशीघ्र कारबाहीको दायरामा ल्याउनुपर्छ । अन्धविश्वास चिर्न स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ ।
– गोविन्द विक, बूढानीलकण्ठ नपा–१२, काठमाडौँ

प्रकाशित : आश्विन २, २०७६ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्