गाउँमा अझै अन्धविश्वास
कमलपित्तको विकार निकाल्ने भन्दै ब्लेडले पेट चिरेर बिरामीको मृत्यु भएको समाचारले दुःखी बनायो ।
वितगको तुलनामा आज मानिसमा चेतनाको स्तर धेरै माथि पुग्दा पनि अझै धामी–झाँक्रीको नाममा गाउँका सिधासाधा मानिसलाई अन्धविश्वासको भुमरीमा पार्ने काम भइरहेको छ । फुकेर निको हुन्छ भन्दै गाउँघरतिर अझै पनि धामी–झाँक्रीको विश्वास गर्ने प्रवृत्ति छ । यस किसिमको अन्धविश्वसका कारण गाउँलेहरूको अनाहकमा ज्यान गइरहेको छ । रोग निको हुन्छ भनेर झाँक्रीलाई पेट चिर्न दिनु मुर्खता हो ।
समय धेरै बदलिसकेको छ । अहिले वातावरणीय प्रदूषण, अस्वस्थ खानपान लगायतका कारण मानिसमा सोच्दै नचोसेका रोग लाग्ने र उक्त रोगबाट मुक्त हुने उपायको खोजीमा मानिसहरू भौँतारिरहेका हुन्छन् ।विशेषगरी गाउँमा धेरै अन्धविश्वासले जरा गाडेको छ । आजको युगमा पनि अन्धविश्वासमा पर्नु भनेको अनाहकमा ज्यान गुमाउनु हो । मान्छेको पेट चिरेर मुखले चुसेर रोग निको पार्छु भन्दा पत्याउने समाजले अन्धविश्वासको रूपलाई छर्लङ्ग पारेको छ । मान्छेलाई अन्धकारमा धकेलेर धामी– झाँक्रीको नाममा यसरी ज्यान लिनेहरूलाई सामाजिक रूपमा दुरुत्साहित गर्नुपर्छ । र राज्यले यथाशीघ्र कारबाहीको दायरामा ल्याउनुपर्छ । अन्धविश्वास चिर्न स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ ।
– गोविन्द विक, बूढानीलकण्ठ नपा–१२, काठमाडौँ