कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खान (खाँड) नै शाह

शनिबार कोसेलीमा प्रकाशित यादव देवकोटाको ‘बाह्र मगरातमा शाही कटक’ इतिहास सम्बन्धी लेखमा केही थप गर्न चाहन्छु  ।

खान (खाँड) नै शाह

१. आत्रेय वंश अनुसन्धान प्रतिष्ठान, पौडेल वंश राष्ट्रिय समिति भरतपुर–१, देवघाटबाट २०६० सालमा प्रकाशित पौडेल वंशावली पाना १९ अनुसार आत्रेय ब्राह्मण शक्तिदेव भट्टलाई महाराष्ट्रका राजा प्रतापसिंह राणाले महाराष्ट्रबाटै शासित अजमेर र चित्तौडगढ राज्य र आफ्नी छोरी राजकुमारी शक्तिलाई समेत दान गरी दिए । यी राजकुमारीका तर्फबाट वि.सं. ९११ मा शंकर भट्टारक जन्मे । बाबु राजा शक्तिदेव भट्टले शंकरलाई चितौडगढको युवराज बनाए ।
२. यिनै शंकर भट्टारकका सन्तान राजा वि.सं. १०२६ को मुस्लिमको आक्रमणमा मारिएपछि त्यहाँका युवराजलाई जोगाउन राजगुरु आत्रेय उदयदेव भट्टले युवराजको थर परिवर्तन गरी खान (खाँड) गराएका थिए ।


३. महर्षि अत्रिका सन्तानमात्र चन्द्रवंशी हुन् र महर्षि अत्रिका सन्तान वृद्धि भएर धेरै भएकाले महर्षि अत्रिका सन्तानहरूले चन्द्रवंशभित्रै अन्य गोत्र पनि चलाए अत्रि, आत्रेय बाहेक । महर्षि अत्रिका सन्तानले चलाएका गोत्र करिब १५ भन्दा बढी र हाल नेपालमा बस्ने ५ सयजति थर छन् । हाल प्रचलित गोत्रहरू भरद्वाज, विश्वामित्र, मौदगल्य, शौनक वा शुनक, काश्य, गर्ग, गार्ग्य आदि महर्षि अत्रिका सन्तानले चलाएका हुन् (हेर्नुस्, श्रीमद्भागवत) । कुनै कारणवश अत्रि, आत्रेयको गोत्र बदल्नुपरे यिनै चन्द्रवंशी भित्रैका आफ्ना सन्तानले चलाएका गोत्रमा बदल्ने र यी गोत्रहरूबीच विवाह पनि चलेको छ । यसैले खान (खाँड) को गोत्र भरद्वाज बनाइयो । तिनै खानहरू हाल शाह भएका हुन् । चित्तौडगढको राजवंशले चित्तौड छोडेको १६ औं पुस्तामा स्याङ्जाको भिरकोट आएर जैनखानले ठकुराई राज्य स्थापना गरेका हुन् ।
४. राज्य विस्तारको क्रममा मारकाट गर्दा थर र गोत्रहत्या लाग्छ भनी यिनै चन्द्रवंशी भित्रको अन्य गोत्र लिई लडाइँ गर्ने चलन थियो, जुन पृथ्वीनारायण शाहले पुनः भरद्वाजबाट काश्य (लेखकहरूले लेख्ने गरेको काश्यप होइन) गोत्र लिएर लडेका थिए । यस क्रममा कर्णाली र सुदूर पश्चिमका बाइसे तथा सेनहरू पनि अत्रि, आत्रेय गोत्री हुनाले आपसमा लड्दा यसरी नै थर र गोत्र बदल्ने गरेका हुन् । थर भने ठाउँ र पेसाबाट धेरै चलेका छन् ।
५. राजा इच्छवाकुका सन्तानले मात्र सूर्यवंश लेख्न मिल्ने हो र यो वंशमा सायद नगण्य होलान् तथा हाल सूर्यवंशी लेख्ने पनि सबै झुट हुन् ।
६. अत्रि आत्रेयका कुलदेवता विष्णुको दस अवतार मध्येको भगवान बराह हुन् र साथमा शिव र माता भवानी जगदम्बाको पनि पूजा हुन्छ । स्थानीय सबभन्दा मानिने देवदेवीका समेतको पूजा हुन्छ । जस्तो– मस्टो । जहाँसम्म शाह खलकका कुलदेवी भनिएको छ, ती कुलदेवी नभई शक्तिदेवी हुन् । अत्रि, आत्रेयहरूले कुलदेवतालाई पशुपन्क्षीको बलि दिँदैनन् । पुजारीको सम्बन्धमा शक्तिमातालाई पशुपन्क्षीको बलि दिने चलन चलाएकाले बलि दिने सबै पशुपन्क्षीलाई छुने जात भनेको मगर हुनाले यही जातलाई पुजारी राखेको हुनुपर्छ, न कि देवकोटाको तर्कको होस् ।
७. देवकोटाले लेखेका अन्य विषय सम्बन्धमा सम्बन्धित वंशका मानिसले नै प्रतिक्रिया जनाउनु हुनेछ ।
८. देवकोटाले उल्लेख गरेका गोपीनाथ शर्माको पुस्तकलाई म भरपर्दो मान्न सक्दिन । किनकि कुनै न कुनै रूपमा हामी पनि प. ४ नं. पयुँकोट राज्यसँग जोडिन्छौं । तर उहाँले दिएका राजाहरूका नाममा हामीलाई जानकारी भएका नाम भेटिँदैनन् । यो कुरा स्याङ्जाका अन्य चौबिसे राज्यका सन्दर्भमा पनि लागू हुनसक्छ ।
– मुक्तिनारायण पौडेल, सतौँदरौँ–१, स्याङ्जा

प्रकाशित : भाद्र ३१, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?