कर्णालीवासीको भुक्तमान

कान्तिपुर संवाददाता

‘गरिबीले लिँदै ज्यान’ समाचारले मेरो शरीरमा काँडा उमारिदियो  । प्रत्येक शब्दले भावुक बनायो  ।

यो समाचार पढ्नुअघिसम्म, दुःखको पर्याय बनेको कर्णालीलाई सम्झिँदा म आफू शिक्षित र सुगमको नागरिक हुन पाएकामा गर्व गर्ने गर्थें । अहिले लाज र सरमले टाउको निहुर्‍याएर बसिरहेको छु ।


एक देश, तर भिन्न परिवेश । कोही सुगम तथा कोही दुर्गममा बाँचिरहेका हामी । कोही सुखसयलमा हुर्केका त कोही चरम गरिबी र भोकमरीका बाबजुद जीवनयापन गर्दै आइरहेका । भाग्य या नियतिको खेल, एक छाक खाने र एकसरो लगाउने अनि ओभानोमा बस्ने रहर सँगाल्दै बाँचेका कर्णालीका ती दाजुभाइ–दिदीबहिनीले समाज र राष्ट्रबाटै बारम्बार ठगिनुपर्‍यो । आधारभूत आवश्यकतासम्म पूरा गर्न नसक्दा आत्महत्याको बाटो रोज्न बाध्य हुनुपर्‍यो । केही समययता समृद्धिका नारा चोकचोकमा घन्किने गरेका छन् । बाटाघाटा समृद्धिकै नाराले रंगिने गरेका छन् । देशमै रोजगारीको भरपूर व्यवस्था गर्ने, देशलाई सिंगापुर बनाउने अनि भोकमरी र गरिबीका कारण कसैले मृत्युवरण गर्नुपर्ने भन्दै हौवा पिट्नेहरू अहिले आफ्नै लागि विलासिताको जोरजाममा अलमलिएका छन् । अर्कातिर, चुनावमा तिनैलाई जिताउने नागरिकहरूले चाहिँ हातमुख जोर्ने चाँजो मिलाउन नसकेर आत्महत्याको बाटो समाउनुपरेको छ । हाम्रो राज्यसत्ता नागरिक सवालमा कति लापरवाह छ भन्ने देखाउँछ यसले । अनि बेरोजगारी, गरिबी र शिक्षा तथा जातीय विभेद अन्त्य गर्ने नारा बोकेर वर्षौंदेखि कर्णालीमा रमाइरहेका सयौं गैससचाहिँ के हेरेर बसेका छन् ? बेकामे भ्रमण, तालिम र सेवासुविधामै अर्बौं उडाउने ती गैससले जनसेवाको अर्थ कहिले बुझ्लान् ? हुन त तिनलाई पनि गरिबीको दुश्चक्रमा रूमलिएका जनताको नाम बेचेर रामरमिता गर्नबाट फुर्सद हुनुपर्‍यो नि ! कर्णालीको बिकासका नाममा च्याउसरि सलबलाएका गैससका गतिविधिमा स्थानीय सरकारले अब चनाखो बन्नुपर्ने बेला आएको छ । त्यस्तै, कर्णालीका जनताप्रति तीनै तहका सरकार जिम्मेवार हुनुपर्छ । गरिबीका कारण कुनै पनि कर्णालीवासीले स्वैच्छिक मृत्युलाई अँगाल्नु नपरोस् । यति सुनिश्चित गर्न सके अर्को चुनावमा मुख देखाउन लाज नहोला कि !
– प्रकाश भण्डारी 'विवेक'
गैंडाकोट–२ नवलपुर

प्रकाशित : भाद्र २९, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्

दुवै देशका बुहारी समान

कान्तिपुर संवाददाता

नागरिकता वितरण गर्ने सवालमा दुई देशका बुहारीलाई फरकफरक व्यवहार गर्नु किमार्थ उचित हुँदैन  ।

नेपालबाट भारतमा विवाह गरेर जाने बुहारीलाई नागरिकता लिन सात वर्ष लाग्ने अनि भारतबाट नेपालमा विवाह गरेर आउने बुहारीलाई भने एक दिनमै दिनुपर्छर् भन्ने सोच बनाउनु गलत हो । किनकि बुहारी चेली भनेका दुवै देशका समान हुन् । कसैलाई पनि काख–पाखा हुनु हुन्न । नेपालले पनि भारतकै जस्तो नियम बनाउनुपर्छ । नेपाली नागरिकता ऐन बनाउने सवालमा राजपा, समाजवादी र नेपाली कांग्रेसका केही सभासदले भारतले जे गरे पनि नेपालले त्यसो गर्नु हुन्न भन्नु देश र जनताप्रति ठूलो धोका हो । त्यसो त नेपालमा भारतीय बुहारी मात्र आउँदैनन्, अन्य देशका पनि आउँछन् । अनि भारतमा पनि नेपालबाहेकका देशका बुहारी पनि आउँछन् । त्यसैले ऐन–नियम बनाउँदा विश्वमै चलेका चलन र कानुनलाई ख्याल गर्नुपर्छ । तथापी नेपाल–भारत बीच रोटी बेटीको सम्बन्ध भएको र संख्यात्मक रूपमा धेरै बुहारी आदानप्रदान हुने हुँदा यी दुवै मुलुकमा समान व्यवस्था गर्दा दुवैतर्फका बुहारीलाई समान न्याय हुन्छ । अहिले नागरिकता विधेयकबारे संसद्को उपसमितिमा छलफल भइरहेको छ । त्यहाँ नेपाल–भारतबीचको यो असमान व्यवहारबारे चर्चा–परिचर्चा भइरहेको छ । चर्चाकै बीच भारतीय बुहारीलाई पनि ७ वर्षपछि नै नागरिकता दिने र तत्कालका लागि राजनीतिक अधिकारबाहेक अन्य अधिकार प्रयोग गर्न पाउने गरी अस्थायी परिचयपत्र दिने कुरा आएको छ, जुन सही छ । नागरिकताको सवालमा धेरै उदार हुँदा भोलि राष्ट्रियतामै आँच आउन सक्छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

प्रकाशित : भाद्र २९, २०७६ ११:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्