दैनिकी सहज बन्ने आस

कान्तिपुर संवाददाता

२०७२ सालको महाभूकम्पले मुलुक क्षत/विक्षत भएको अवस्थामा अप्रत्यासित ढंगबाट भारतले लगाएको ६ महिना लामो नाकाबन्दीको पीडा नेपालीले अझै भुल्नसकेका छैनन्  ।

त्यसपछि दुवै देशको राजनीतिक र कूटनीतिक पहल निरन्तर भएका कारण तिक्ततामा कमी आएको देखिन्छ । दुई देशबीच उच्च तहको राजनीतिक भेटघाटले आपसी समझदारी बढेको छ । भारतीय सहयोगबाट जनकपुर–जयनगर रेलसेवाले पुनर्जीवन पाएको लामो समय नबित्दै बुधबार प्रकाशित ‘अब पाइपबाटै तेल’ समाचार पढ्दा भारतसँगको सुमधुर सम्बन्धले हाम्रो विकासमा नयाँ आयाम थपिने संकेत देखिएको छ । दक्षिण एसियामा तेलको पहिलो अन्तरदेशीय पाइप लाइन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको अवसरलाई नेपाल–भारत मित्रताको सुनौलो दिन भन्न कुनै कञ्जुस्याइँ गर्नु पर्दैन । पाइप लाइनबाट इन्धन ल्याउने सपना २५ वर्षपछि पूरा भएको हो । भारतीय आयल कर्पोरेसनले ३० महिनाको समयसीमा तोकेर १५ महिनामै निर्माण सम्पन्न गरेको छ । दुई देश बीचको ‘कनेक्टिभिटी’को यो राम्रो उदाहरण हो । मोतीहारीदेखि अमलेखगन्जसम्मको ६९ किलोमिटर लामो पाइप लाइनबाट पालैपालो डिजेल, पेट्रोल र मट्टितेल आयात हुने व्यवस्था भएपछि भविष्यमा सर्वसाधारणले पेट्रोलियम पदार्थको अभावले सकस बेहोर्नु पर्दैन कि ? पाइप लाइनबाट इन्धन आपूर्ति सहज भएसँगै वार्षिक २ अर्ब रुपैयाँ ढुवानी खर्च पनि जोगिएको छ । इन्धनको मूल्य घटी हुनेछ । कलकारखाना सुचारु ढंगबाट चल्ने र सर्वसाधारणको दैनिकी सहज बन्ने अपेक्षा राख्न सकिन्छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : भाद्र २७, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

सेनाभित्र सुधारको संकेत

कान्तिपुर संवाददाता

नेपाली सेनाका प्रधान सेनापती पूर्णचन्द्र थापाले मंगलबार दिएको ३ घन्टा लामो भाषण र गरेका कार्य प्रशंसनीय छन्  ।

आजसम्म उनका अग्रजहरूले नगरेको र सेनाको इतिहासमै पहिलोपटक सेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर भ्रष्टाचार उन्मूलन अभियानमा सहयोगी रहेको सन्देश दिएका छन् । जुन नैतिक र प्रेरणादायक कार्य हो । उनीपछि सेनाको नेतृत्वमा आउनेहरूले उनले थालेका सुधारलाई निरन्तरता दिनसके त्यसले सेनाकै गरिमा बढाउने काम गर्छ । उनले आफूले मात्र होइन, आफ्ना मातहतका अफिसर्सहरूले पनि सम्पत्ति विवरण सके सार्वजनिक गर्न र नसके कमसेकम रेकर्डका लागि सेनाको आन्तरिक विभागमा दिन आग्रह गरेका छन् । हेरौं, सेनाभित्र सुधार चाहने कतिजना निस्कँदा रहेछन् ? सेनापति थापाले सेनाभित्र भर्ना अभियान थालिँदा अनियमित काम गर्ने १ सय १२ सैनिकलाई बर्खास्त गरेर अनियमित र भ्रष्टाचारजन्य कार्य सह्य नहुने सन्देश पनि दिएका छन् । उनले संगठनभित्र व्यक्तिगत फाइदा लिई संगठनको बदनाम गर्नेहरूलाई नछाड्ने चेतावनी दिएका छन् । सेनाले गरेका काममा अख्तियार र महालेखाले नहेर्ने चलनका कारण त्यहाँभित्र अपारदर्शी र भ्रष्ट प्रवृत्ति मौलाउँदै गएको थियो । तर यी सेनापतिले एक वर्षदेखि थालेका सुधारका कार्यले गति लिन थालेपछि सेनाभित्रको वातावरण सङलो र पारदर्शी हुँदै गएको बताइन्छ । यसले सेनाप्रति जनताको विश्वास बढ्दै जान्छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र २७, २०७६ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्