गौहत्या छानबिन कहाँ पुग्यो ?
कुनै पनि समाजको भनेकै त्यही समाजका मानिसको व्यवहार हो । मान्छे जब मान्छे भएर बस्न सक्दैन, पशुभन्दा पनि तल्लो स्तरको काम गर्छ भने उसलाई के भन्ने ? पैसाका लागि मान्न्छेले जस्तोसुकै गैरकानुनी काम गर्न पनि पछि नपर्ने भयो ।
फितलो कानुनी कारबाही, राजनीतिक संरक्षणमा अपराध कर्म बढ्दै गएका छन् । मान्छे मार्ने काम सामान्यजस्तै भइसक्यो । मान्छेमा मानवता हराएको छ । नीति, नियम, कानुनसँग कोही डराउँदैनन् ।
नेपालगन्जबाट लगिएका ३ सय ७० वटा गाई, बाछामध्ये ३५ वटा सुर्खेतको कटुवास्थित जंगलमा मृत अवस्थामा भेटिएका थिए । ती गाई, बाछाहरूलाई दैलेख लान भनेर बीच बाटोमा भिरबाट खसालेर मारिएको अनुमान गरिएको छ । यस्तो निन्दनीय कार्य कसले गर्यो ? पत्रत्रिकाले समाचार छापेपछि सरकारले बाध्य भएर छानबिन आयोग गठन गरेको छ । तर त्यसले निष्पक्ष छानबिन गर्ला भनी आस गर्न भने सकिँदैन । सरकारले जनआक्रोश मत्थर पार्नमात्र खोज–अनुसन्धान टोली बनाएको हो कि साँच्चिकै बनाएको हो, त्यो हेर्न बाँकी नै छ । कसले के प्रयोजनका लागि नेपालगन्जबाट ती गाईहरू लिएर गए ? अहिले त स्थानीय सरकार पनि छ । स्थानीय सरकारको अनुमतिबिना गाई कसरी लगिए ? पहिला त्यो खोज–अनुसन्धानको विषय बन्नुपर्छ । राज्यले गाईलाई राष्ट्रिय जनवारको रूपमा घोषणा गरेको छ भन्ने सुनिएको छ । भारतमा गाई काट्ने वधशाला धमाधम बन्द गरिँदैछ । हामीकहाँ भने त्यसले प्रश्रय पाउँदैछ । यस्ता कुकर्मर् गर्ने अपराधीलाई कडा कारबाही होस् । भविष्यमा यस्तो कार्य गर्ने कसैले आँट नगरुन् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं