३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

परराष्ट्रका तीन नमुना कार्य !

हालै अफगानिस्तानमा २ जना नेपालीले ज्यान गुमाए  । उनीहरूको लास बेवारिसे अवस्थामा छ  ।

तर परराष्ट्र मन्त्रालय र अफगानिस्तान हेर्ने कूटनीतिक निकाय परिचालन भएन । अफगानिस्तानलाई नेपालको पाकिस्तान दूतावासले हेर्ने हो कि दिल्ली दूतावासले ? त्यो पनि कुनै ठेगान छैन । कसैले जिम्मेवारी लिने र अग्रसरता देखाउने काम नगरेको दिक्दारी अवस्था देखापरेको छ । यसमा मन्त्रालय चुकेको छ ।


भारत, नयाँदिल्लीस्थित नेपाली दूतावासले आफूकहाँ आएको एक पत्रको तत्काल ‘रेस्पोन्स’ नगर्दा २८ वर्षीय एक नेपाली युवक अनाहकमा अढाई वर्ष भारतको अमृतसहरस्थित कारागारमा थुनिनुपर्‍यो । ९ महिना जेल सजाय काटेर निस्कन पाउने ती नेपालीले दिल्लीस्थित नेपाली दूतावासले भारतले पठाएको पत्रको जवाफ तत्काल नदिँदा अनाहकमा बढी थुनिनुपर्‍यो । यो कसको लापरबाहीले भएको हो ? पत्र कसले बुझेको हो ? उसले किन समयमा जवाफ दिएन ? त्यसको खोजी गरी परराष्ट्र मन्त्रालयले कारबाही गर्नुपर्छ ।


केही महिनाअघि श्रीलंकास्थित नेपाली दूतावासका राजदूत प्रा. विश्वम्भर प्याकुर्‍यालले पदबाट राजीनामा दिए । उनले आफूले दुई देशको सम्बन्ध बढाउन केही पहल गरी अन्तिम निर्देशनका लागि परराष्ट्र मन्त्रालयमा कैयौं इमेल र पत्र पठाएको तर कुनैको पनि जवाफ नपाएको उल्लेख गर्दै राजीनामा दिए । कर्मचारीहरूले इमेल र दूतावासले पठाएका पत्रहरू हेर्दा पनि नहेरेकै हुन् त ? यसो हो भने परराष्ट्रका कर्मचारीहरू सजायका भागी हुनुपर्छ । सबै राजदूत उनीजस्ता आँटी र नैतिकवान हुँदैनन् । यी घटनाले नेपालका दूतावासहरू कसरी चलिरहेका रहेछन् भन्ने प्रस्ट हुन्छ । यस्ता उदाहरणले परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्रीको सक्षमताप्रति प्रश्न उठाएको छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौँ

प्रकाशित : भाद्र २०, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?