१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

काठमाडौंका मेयरसँग अनुरोध

नगरवासीका दैनिकीले घरबेटी, भाडावाल, पैदल, ट्राफिक जाम, दुर्घटना, घरदैलोदेखि सडकसम्म प्लास्टिक थैला, चुरोटका ठुटादेखि खकार, सिंगानका लत्का, वर्षे पानी छतबाट सडकमा सोझै इत्यादि बेहोरीसाध्ये छैनन्  । ठूलठूला काम दीर्घकालीन योजना हुन्  ।

काठमाडौंका मेयरसँग अनुरोध

नगरवासीका दैनिकीले घरबेटी, भाडावाल, पैदल, ट्राफिक जाम, दुर्घटना, घरदैलोदेखि सडकसम्म प्लास्टिक थैला, चुरोटका ठुटादेखि खकार, सिंगानका लत्का, वर्षे पानी छतबाट सडकमा सोझै इत्यादि बेहोरीसाध्ये छैनन् । ठूलठूला काम दीर्घकालीन योजना हुन् । झिना–मसिना कामले नगर, नगरवासीको तत्काल लाभ छ । यस्तै काम तल उल्लेख गरिएका छन् :
१. गुट्खाका खोल वा प्लास्टिक थैला जथाभावी फ्याँक्ने, थुक्ने वा सिंगान, खकारका लत्का स्वाँक्क, ख्वाक्क हुत्त्याउने, पानी फ्याँक्ने, कुकुरलाई फोहोर गराउन नगराइयोस् । कुकुरको दर्ता होस् । भुस्याहा कुकुर तह लाइयोस् ।
२. फोहोर उठाउने/बटुल्ने दिनमात्र कडाइसाथ फोहोर घर/कोठाबाट बाहिर निकाल्ने पहल होस् ।
३. चिया पसल, होटल, रेस्टुरेन्टले कारोबार थलो अघि वा छेउछाउ सफासुग्घर र ओभानो राखुन् । सडक वा पेटीमा बिस्कुन फिँजाए झैं कारोबार नदेखियोस् । सडक दुवैतर्फ सवारी पार्किङले स्कुले केटाकेटी, बटुवा वा सवारी अप्ठ्यारोमा नपरुन् । जेब्रा क्रसिङ स्पष्ट चिनिउन् र यिनको पालना होस् ।
४. घरको बलेँसी चुहेर सडकमा कालोपत्रे उक्किनेदेखि खाल्डो पर्ने भए वा देखिए र त्यस्तै छतबाट गमला झरेर वा हेल्चेक्र्याइँले घरै भत्केर कसैलाई क्षति हुने देखिए सम्बन्धित घरधनीलाई सजाय र क्षतिपूर्ति भराइयोस् ।
५. निर्माण सामग्रीले धुलोमैलो मात्र होइन, सडक ढाकिन्छन् र कैयौँ दिन अलपत्र छाडिन्छन् । यी दुई/चार घन्टाभित्र सिनिक्क उठाएको देख्न पाइयोस् । वाल्मीकि क्याम्पसजस्ता ठाउँ फोहोरका थुप्रा र दुर्गन्धे चाङका ट्रकले घन्टौं पार्किङ क्षेत्र नबनुन् । सडक र पेटी वरपर आहाल र हिलोले डेङ्गु रोग ननिम्तियोस् ।
६. सबै किनमेल सुविधा घरैमुन्तिर पाउनेभन्दा कहाँ, कुन क्षेत्रमा कस्ता कारोबार नगरशोभामा उचित छ, ती क्षेत्रमा मात्र विशेष सहुलियत र उत्प्रेरणा दिइयोस् । यस्तामा हरियो–परियो तरकारी, खाद्यान्न, ससाना चिया–खाजा होटल, ठूलठूलामा गहना, कपडा, डिपार्टमेन्ट स्टोर आदिको क्षेत्र छुट्याइयोस् ।
७. ठेला, साइकल, टोकरी, काँध–भिरुवा, डुलुवा खुद्रे व्यापारी र मर्मतसेवीको अनुमति र दर्ता व्यवस्था गरियोस् ।
८. चोक, चौमुहानीका हुलमा सीसी टिभी राखिउन् र आकासे पुलको निरन्तर सफाइ, मर्मत–सम्भार होस् ।
९. सडक वा पेटी भत्के, खाल्डाखुल्डी भए र दृष्टिविहीनको पेटीमा मेलो भत्किए, बिजुलीका खम्बा ढल्किए वा तार टाउकोमा लत्रे, सबैको मर्मत भइहालोस् ।
१०. ठाडा रुख वा बिरुवा र रुखबिरुवाका पातदेखि जरासम्मको सुरक्षा र सिञ्चन वा पानीको फोहोराले धुने र चिल्ल्याउने काम होस् ।
११. पसलमा जताततै चुरोट, गुट्खा किनबेच नहोस् र क्षेत्रगत प्रतिबन्ध लगाइयोस् ।
१२. गगनचुम्बी भवन नगरवासी र नगर शोभामा जोखिम भए भत्काउने र संसाधनको जोहो गरियोस् ।
१३. पार्क र प्रदर्शनी स्थलमा जे कार्यक्रम अघिपछि पनि वरिपरि सफासुग्घर, ओभानो र सडक चिटिक्क रहुन् ।
१४. सम्बन्धित सरकारी निकायहरूको एउटा समन्वय समिति बनाइयोस् । जुन २४ घन्टे ‘टास्क फोर्स टिम’को रूपमा खटोस् । वडाका कर्मचारी र प्रतिनिधिसमेत ‘टास्क फोर्स टिम’मा परुन् । यिनले वडावासीको सक्रिय सहयोगमा पायक पर्ने सफाइमा महिनामा एकदिन स्कुल, कलेज वा होस्टलका छात्रछात्राबाट एक/दुई घन्टाको सहयोग लिने व्यवस्था भए राम्रो होला ।
१५. सचेतना अभियान व्यापक चलोस् । सडक, गल्ली, गल्छेँडामा माइकिङ होस् । रेडियो, टिभी, पर्चा, एसएमएस, फेसबुकबाट प्रचार र उद्देश्यगत छोटा–छोटा श्रव्य, दृश्य सामग्री बनाइयोस् ।
– रामेश्वर बराल, घट्टेकुलो, काठमाडौं

प्रकाशित : भाद्र १९, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?