नेपाल भाषाका थप विशिष्ट पक्ष

कान्तिपुर संवाददाता

 शनिबार प्रकाशित ‘नेपाल भाषाको विशिष्ट पक्ष’ले नेपाल भाषा (नेवारी भाषा) बारे रोचक पक्षलाई प्रस्ट्याएको छ  । म पनि काठमाडौंको नेवार हुँ  ।

काठमाडौँको मुटु मानिने असन त्यौडमा जन्मेको नेवार भएको हिसाबले लेखमा केही कुरा छुटेजस्तो लागेकाले थप्न चाहेको हुँ । आशा छ, यी कुरा अत्युक्ति नहोलान् ।


सबै नेपालीले खुलस्तै थाहा पाएको कुरा हो, काठमाडौं उपत्यकाका नेवारहरूले त,थ,द,ध को उच्चारण गर्दा ट,ठ,ड,ढ को उच्चारण गर्छन् । मेरो विचारमा शुद्ध नेपाल भाषामा दन्त्य वर्णहरू त,थ,द,ध को उच्चारण नै हुँदैन । किनकि परापूर्व कालदेखि नेवारी भाषामा बोली ट,ठ,ड,ढ मा मात्र देखिन्छ । उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुर आफै एउटा नेवारी राज्य भई आफ्नै नेवार समुदायमा सिकी, हुर्की स्वतन्त्र रूपले बाँच्दै र विकास हुँदै आएको समुदाय हो । त्यसकारण शुद्ध देवनागरी नेपाली भाषासँग त्यति हिमचिम गर्न पाएका थिएनन् । पछि मात्र नयाँ पुस्ताका नेवार वर्गका मान्छेले बृहत् नेपाली भाषा बोल्ने समुदायहरूको सङ्गत पाएर शुद्ध उच्चारण सिक्ने र बोल्ने बानीको विकास भएको हो । नेपाली भाषा राष्ट्रिय भाषा हो र इतिहासले यो भाषा अलि उच्च वर्गको भाषा हो भन्ने प्रतिविम्बित गर्दै आएको छ । यसैको प्रभावले नेपाल भाषा बोल्नेहरू पनि आफ्नो भाषा नबोली नेपाली भाषा सिक्ने र बोल्ने गरेकाले नेपाल भाषा लोप हुँदै गइरहेको अवस्था छ । तर स्थानीय भाषा लोप हुँदै जाने प्रक्रिया अरु विभिन्न देशमा पनि विस्तारै विकास हुँदै गइरहेको देखिन्छ । जस्तै– फ्रान्समा केही दशक अघिसम्म विभिन्न स्थानीय भाषा थिए ।


अहिले सबैजसो फ्र्रेन्च राष्ट्रिय भाषा फ्रेन्च नै बोल्ने गर्छन् । तर यसको मतलव स्थानीय भाषालाई तिरस्कार गर्नु कदापि होइन । यसको हामीले जगेर्ना गर्नुपर्छ ।
अचम्मको कुरा के छ भने नेपाल भाषाका किताबहरूमा लेखाइ, शब्द, वाक्यहरूका लेखाइमा त,थ,द,ध कै प्रयोग हुन्छ । जबकि बोलीमा भने ट,ठ,ड,ढ उच्चारण हुन्छ । नेपाल भाषाको विशिष्टतामा संख्यात्मक गणना पनि उल्लेख गर्नुपर्ने हुन्छ । नेपाल भाषामा वस्तु अनुसार फरक–फरक हुन्छ । जस्तै– एउटा मानिस ‘छम्ह मनु’, एउटा कमिज ‘छपा कमिज’, एउटा सुरुवाल ‘छग सुरुवाल’, एउटा कलम ‘छपु कलम’, एउटा घर ‘छखा छेँ’ यसरी अनौठो र गाह्रो भाषाको बोध हुन्छ ।
सयौं, हजारौं वर्षदेखि इतिहास जनाउने शिलापत्रहरू, ताम्रपत्रहरू, काष्ठकलाहरू आदिमा कुँदिएका पुराना लिपिहरू पनि नेपाल भाषामै हुने गर्छन् । त्यसकारण नेपाल भाषा र नेपाल भाषा लिपिलाई सबैले महत्त्वपूर्ण किसिमले हेर्नुपर्ने आवश्यकता ठान्छु ।
– श्याममोहन श्रेष्ठ, बूढानीलकण्ठ नपा–६, काठमाडौं

प्रकाशित : भाद्र १८, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्

राम्रो सुरुवात

कान्तिपुर संवाददाता

देश समृद्ध हुन नसकेको मुख्य कारण विरोधका लागि विरोध गर्ने हाम्रो संस्कार नै हो  । विरोधीका पनि सही कुरालाई आत्मसात गर्नु पर्छ  ।

प्रधानमन्त्रीले सिंगापुरबाट सुचारु गर्नुभएको टेलिप्रेजेन्स बैठकको धेरै विरोध भयो । विश्व अहिले सूचना प्रविधिको युगमा छ । एकातिर सूचना प्रविधिको प्रयोग नै भएन भनेर विरोध गर्छौं, अर्कोतिर सरकारले यसको प्रयोग गर्न लागेकोमा विरोध गर्छौं । प्रधानमन्त्रीले टेलिप्रेजेन्समार्फत सिंगापुरबाट गर्नुभएको मन्त्रिपरिषद बैठक एउटा राम्रो सुरुवात हो । यसलाई स्वागत गरौं । दुर्घटना हुनसक्छ भनेर के बसमा यात्रा नै नगर्ने त ? दुर्घटना हुन नदिन के कस्ता कदम चाल्नुपर्छ, त्यसमा बहस गरौं । प्रधानमन्त्रीको यो कार्यले सूचना प्रविधिको क्षेत्रमा लागेका धेरैलाई हौसला मिलेको छ । सूचना प्रविधिको अत्यधिक प्रयोग गरौं । विरोधका लागि विरोध नगरौं ।
– प्रा. मनिष पोखरेल, कम्प्युटर विभाग, काठमाडौं विश्वविद्यालय

प्रकाशित : भाद्र १८, २०७६ १०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्