पुँजीवाद र पुँजीपतिको भ्रम

कान्तिपुर संवाददाता

सोमबार प्रकाशित मुराहरि पराजुलीको ‘को, कति पुँजीवादी विश्लेषणात्मक लेख साँच्चिकै नेपालसहित केही अन्य देशको तथाकथित सामाजवादको पुच्छर समातिराखेकाहरूलाई पर्याप्त जवाफ हो  । वैज्ञानिक भन्ने गरेका यो वाद कागजमा लेखेर जनतामा भ्रम छर्नमात्र हो  ।

सही मानेमा यो अवैज्ञानिक आर्थिक सोच हो । विद्यार्थी कालमा कल्पना गरेको यो वाद बुझ्दै जाँदा कागजमा बाहेक व्यवहारमा फिटिक्कै लागू नहुने रहेछ । युरोप र अमेरिका, जापानजस्तो अहिले हामीले भन्ने गरेको पुँजीवाद नै खासगरी सामाजवाद हो । जहाँ प्रत्येक नागरिकले रोजगारी, सामाजिक सुरक्षा तथा पुँजी संकलन गरी आफूले चाहेको समयमा प्रयोग गर्न सक्छन् ।
लेखकले भनेजस्तो पुँजीपति वाद र पुँजीवाद धेरै अलग कुरा हो । यसलाई अहिलेका कम्युनिष्टहरूले बुझेर पनि बुझ पचाइरहेका छन् । मानिस स्वभावैले पुँजी संकलन र सुखसयल गर्न चाहन्छ । आर्जन गरेका उपभोग्य वस्तु आफूखुसी प्रयोग गर्न रुचाउँछ । यस्तो स्वविवेक प्रयोग गर्न रुचाउने प्राणीलाई बलजफ्ती मेसिन बनाउन खोज्नु अवैज्ञानिक नभएर के त ? योभन्दा पहिले पनि आहुतिको यस सम्बन्धी लेखमा प्रशस्त टिप्पणी आएका छन् । उनीहरू काल्पनिक दुनियाँमा रमाउनेहरू हुन् ।
– केदारनाथ त्रिपाठी, बूढानीलकण्ठ, काठमाडौँ

प्रकाशित : भाद्र १७, २०७६ १०:२९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मिटर ब्याजीको ऋणले रुँदै सर्वसाधारण

कान्तिपुर संवाददाता

आइतबार प्रकाशित ‘एउटै ऋणका १९ तमसुक’ समाचारले धेरै दुःखी बनायो  । राज्य सञ्चालन अझै गरिबमैत्री हुन नसकेको महसुस गरायो  ।

हुनेखाने वर्गकै हालीमुहाली र लुटधन्दा छन् । गरिबको पसिना र इमानदारीमाथि कामचोर र ठगहरूले लुटिरहेका छन् । यसले समाजमा हिंसाको विजारोपण गर्छ । दिनदिनै हत्या र आत्महत्या बढ्नुको पछाडि यो पनि एक कारण हुनसक्छ । सर्लाही हरिपुरमा मात्र छैन यो समस्या, मधेसको हरेक घर र बस्तीमा छ । समाजमा अझै पनि गरिब गरिबै र धनी धनी नै छन् । पहिले–पहिले कोसित कति उब्जनीको जग्गा–जमिन छ, त्यसैको आधारमा धनी र गरिब छुट्टिन्थे । अहिले पैसा र पावरले धनी र गरिब छुट्याउँछ । पैसा कमाउन पैसा चाहिन्छ । गाउँघरमा धेरै पैसा गरिबसँग हुँदैन । गरिबलाई मोटो पैसा पनि चाहिँदैन । बरु ऋणकै कारण मोटो पैसा टाउकोमा भारी बन्न पुग्छ । विदेश जानेदेखि विवाहमा दाइजो दिनेसम्म, बिरामी पर्दा उपचारदेखि चाडपर्व लगायत घरायसी ठूला समस्या टार्नसम्म साहुसँग ऋण लिनैपर्ने हुन्छ । ऋण लिँदा पहिला कपाली तमसुकमै गराएर दिने चलन थियो । अहिले जोसँग जमिन छैन, त्यसले ऋण पाउँदैन ।
ऋण लिँदा जमिनको कुनै मूल्य हुँदैन । विश्वासकै भर पर्छ । लाखौँ, करोडौँको जमिन महाजनलाई पास गरेर खाँचो परेका बेला थोरथोरै किस्तामा पैसा उठाउने गर्छन् । जसको हिसाब गरिब ऋणीसँग हुँदैन । साहुमहाजनसँगै हुन्छ । साहुले मनपरी पैसा असुली गर्न पाउँछन् । गरिब जति कमाए पनि साहुमहाजनहरूको ब्याज तिर्न र जीवन चलाउनमै ठिक हुन्छ । कुनै आपत्–विपत् परे र कमाउन सकेन भने ऋणको मिटर बढेर तनावमा पर्नुपर्ने हुन्छ । यसले घर झगडादेखि हिंसासम्मको अवस्था निम्त्याउँछ ।
गरिबले आफ्नो हात काटेर ऋण लिने बेलै दिइसकेका हुन्छन् । ३६ प्रतिशतमा कुरा भएको भए पनि जमिन फर्काउने बेला ५०–६० प्रतिशत ब्याजदर मागे पनि दिनुपर्ने हुन्छ । दिएन भने समाजदेखि अड्डासम्म पैसा र पावरको खेती हुन्छ । यसरी धनी झन् धनी र गरिब झन् गरिब भई सडकमा पुग्छन् । अर्को महंँगो र महत्त्वपूर्ण जमिन छ भने साहुमहाजनले झनै गिद्देनजर हाल्छन् । र त्यो जमिन हडप्ने खेलमा लाग्छन् र हडपेर त्यही जमिन फेरि बैँकमा राखेर कम ब्याजदरमा पैसा निकालेर गाउँमा चर्को ब्याजमा पैसा लगाउँछन् । बैँकहरूले व्यावसायिक नारामात्र चर्को लगाइरहेका छन् । उनीहरूले गरिबलाई होइन, धनी र सम्पत्ति हुनेहरूलाई मात्र ऋण दिएका छन् । त्यो पनि कमिसनको बलमा चलेको छ । यसर्थ सरकारले यस्ता मिटर ब्याजीहरूलाई कारबाही गरी त्यसको सम्पत्ति छानबिन गर्नुपर्छ र पीडितलाई न्याय दिनुपर्छ ।
– राजेश विद्रोही, लहान, सिरहा
......

‘एउटै ऋणका १९ तमसुक’ले भावविह्वल बनायो । किनभने सर्लाही, रौतहट र महोत्तरीका ५३ जनाभन्दा बढी गरिब, निरक्षर अधिकांश महिलाप्रति सर्लाहीका श्याम प्रदेशी भनी चिनिने श्यामकृष्ण साहले कानुन हातमा लिई आर्थिक, सामाजिक र यौन शोषण लगायत पाशविक हर्कत गरेको डेढ वर्ष बितिसकेछ । ती जिल्लाका विपन्न, गरिब र दलितहरूलाई दिएको ऋणको मिटर ब्याज, ब्याजको स्याज जोड्ने, ब्याजको मितिमा एकदिन नाघेमा दैनिक १ हजार हर्जना भनी असुल्ने, १ लाख ऋण दिँदा १० हजार सुरुमै काटेर ९० हजारमात्र दिने, १ लाख ऋणको सावाँ–व्याज गरी ८ पटक तिर्दा पनि ऋण कट्टी नभई उल्टै थपिएको रहेछ ।
आसामी बनेका व्यक्तिले ऋणीका परिवारका सदस्यसँग सादा कागजमा सहीछाप गराइराख्ने र पछि आफू, आफ्ना पत्नी, छोराछोरी, ज्वाइँ समेतबाट एउटै ऋणीले ८–१० जनाबाट ऋण लिएको तमसुक बनाउने, एउटै ऋणका १९ वटासम्म तमसुक बनाउने जस्ता कार्य गरी ९९ जना विपन्न, निरीह गरिबलाई ठग्ने, ऋण तिर्न नसकेको भनी चल, अचल सम्पत्ति हडप्ने काम गरेका छन् । पीडितहरूले डेढ वर्षसम्म पनि कुनै न्याय पाउन नसकेपछि न्याय माग्न काठमाडौँ आएका छन् । श्याम प्रदेशीको यो अन्यायपूर्ण हर्कतका कारण उनी पक्राउ परेको सुनिएकाले खुसी लागेको छ । पीडकको सम्पत्ति र ऋणपत्रको छानबिन गरी उनीमाथि हदैसम्मको कारबाही होस् ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : भाद्र १७, २०७६ १०:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT