३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मिटर ब्याजीलाई कारबाही गर

कान्तिपुरमा प्रकाशित ‘एउटै ऋणका १९ तमसुक’ समाचारले थोरै दुःखी र धेरै आक्रोशित बनायो  । हाम्रो मुलुकको व्यवस्था अझै पनि गरिबमैत्री हुन नसकेको महसुस गरायो  ।

मिटर ब्याजीलाई कारबाही गर

अझै पनि गरिबको पसिना र इमानदारीमा कामचोर र ठगहरूको आजीविका चलिरहेको छ । यसले समाजमा हिंसा थपेको छ । र दिनदिनै हत्या र आत्महत्याको संख्या बढ्दै गएको छ । सर्लाहीको हरिपुरमा मात्र होइन कि मधेसको हरेक घर र बस्तीमा पाउन सकिन्छ, यस्तो समस्या ।


हाम्रो समाजमा अझै पनि गरिब गरिब नै र धनी धनी नै छन् । पहिला उब्जाउ जमिनको परिमाणका आधारमा गरिब र धनीको निर्क्योल हुन्थ्यो भने अहिले पैसा र पावरको हिसाबले ।गाउँघरमा गरिबसँग त्यत्रो पैसा हुँदैन । विदेश जानेदेखि विवाहमा दाइजो दिनेसम्म, बिरामी पर्दा उपचारदेखि चाडपर्व लगायत घरायसी ठूला समस्या टार्नसम्म साहुसँग ऋण लिनैपर्ने हुन्छ । जोसँग जमिन छैन, त्यसले ऋण पाउन मुस्किल पर्छ ।


जमिन हुनेहरूले साहु–महाजनबाट ऋण लिनुपरे तिनकै नाममा रजिस्ट्रेसन पास गरिदिनुपर्छ । त्यस बापत लिएको थोरै ऋणको तेब्बर लेखेर छुट्टै कपाली तमसुक पनि बनाउँछन् । मालपोतमा पास गराउनेदेखि फिर्ता गर्ने बेलासम्मको सारा खर्च ऋणीले नै तिर्नुपर्ने हुन्छ । ऋणीलाई ऋणको खाँचो हुन्छ, चुइँ गर्न सक्दैनन् । साहु–महाजनले जे भन्यो, त्यही गर्छन् । अन्त्यमा आफ्नो हातै काटेर दिन्छन् । कुनै कारण साहुको पैसा समयमा तिर्न नसके कानुनी रूपमा जमिन हातबाट फुत्किन्छ नै, कपाली तमसुकका कारण मुद्दामामिला अदालती कारबाहीमा हालेर ऋणीको थप सम्पत्ति पनि हडपिने दाउ गर्छन् । कानुनलाई कागजी प्रमाण भए पुगिहाल्यो । सयकडा ३६ प्रतिशतमा लिएको ऋण फर्स्योट गर्ने बेलासम्म ५०–६० प्रतिशत ब्याजदर मागे पनि दिनुपर्ने हुन्छ । नदिए गाउँसमाजदेखि अडा–अदालतसम्म पैसा र पावरको चलखेल हुन्छ । यसरी धनी झन् धनी हुन्छन् र गरिब रोडमा पुग्छन् । त्यस्तो जमिन राम्रो ठाउँमा छ भने त साहु–महाजनले झनै गिद्दे नजर लगाइहाल्छन् ।


र त्यो जमिन हडपिने खेलमा लाग्छन् र सफल भएपछि त्यसैलाई बैंकमा राखेर कम ब्याजदरमा पैसा निकाली फेरि गाउँमा चर्को ब्याजमा लगाउँछन् । हाम्रो मुलुकमा ७५ प्रतिशत नागरिक गरिब छन् । बैंकहरूले गरिबलाई होइन, धनी र सम्पत्ति हुनेलाई मात्र ऋण दिने गरेका छन् । गरिबलाई साहु–महाजनको शरण नपरी सुखै हुन्न । अनि चल्न थाल्छ, मिटर ब्याजको अनन्त चक्र । सरकारले यस्ता मिटर ब्याजीहरूलाई यथाशीघ्र कारबाही गरी पीडितलाई न्याय दिनुपर्छ ।
– राजेश विद्रोही, लहान, सिरहा

यो समाचार पढ्दा मेरो मुटु फुट्ला
जस्तो भयो । आफू पनि यस्तै अपराधी मनोवृत्तिको सिकार भइराखेकाले म निकै द्रवित भएँ । गरीब, दीनहीन, असहाय ती महिलाहरूको कहालीलाग्दो अवस्था पढेर मर्माहत भएँ । त्यो श्याम प्रदेशी भन्नेलाई कारबाही चाहिँ हुन्छ कि हुँदैन ? कुन चाहिँ मधेसी नेताको समर्थन छ त्यसलाई ? नेपालको कानूनी व्यवस्था, विधि, प्रशासन र सम्मानीत न्यायालयसमेत त्यो अपराधीलाई समात्न असफल भएकै हो ? आफूलाई ‘शोषित पीडितको पार्टी’ भन्न रुचाउने सत्तारूढ नेकपाको समग्र संयन्त्र असफल भएकै हो ? आफ्ना छोरी, ज्वाइँ तथा नातागोता प्रयोग गरेर मिटर ब्याजको अपराध चलाउने त्यो श्याम प्रदेशी भन्नेलाई आजीवन कारावास होस्, सरकार ! नत्र हामी लाटासीधाको बांच्ने दिन सकिनेछ ।
– सुशीलकुमार गौतम, चन्द्रागिरि–१३, काठमाडौं

प्रकाशित : भाद्र १६, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?