घट्दो ओली आकर्षण

कान्तिपुर संवाददाता

बुधबार प्रकाशित सीके लालको ‘ओइलाउँदै ओली आकर्षण’ उपचारमा रहेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले टक्र्याएको स्वास्थ्य लाभको कामना ठाडै अस्वकिार गरे पनि सदिच्छाको खाँचो रहेको प्रस्ट्याउँदै देशको अवस्थाप्रति चिन्तित हुनुपर्ने भन्ने छ  ।

औपचारिक रूपमै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्री तोकेका प्रधानमन्त्रीले सिंगापुरमा उपचाररत अस्पतालबाटै मन्त्रिपरिषद् बैठकको अध्यक्षता आफैं गर्नु अनौठो कार्य थियो । प्रविधिको प्रयोगबाट गोपनीयता चुहावटको सम्भावना नरहला भन्न सकिँदैन । पार्टी एकतापछि दुईजना अध्यक्ष रहने अनौठो अवधारणा कम्युनिस्ट पार्टीहरूको व्यवहारमा लागू गर्न गाह्रो हुन्छ । ‘युनिटी अफ कमान्ड’ मा विधिको केन्द्रीयतालाई स्विकार्नुपर्ने हुन्छ ।

विचारको महत्त्व बराबर भए पनि अन्तिम निर्णय गर्ने सर्वाधिकार सर्वोच्च प्राधिकारमा अन्तरनिहित हुने गर्छ । मालेवादबाट दीक्षित र प्रशिक्षित प्रधानमन्त्री ओली एवं पदाकांक्षी दाहाललाई आफ्नो हैसियत थाहा भएकाले प्राधिकारले सभापतित्व गर्ने जिम्मेवारी प्रदान गरेपछि मात्रै पत्रपर्ण दाहालले बैठकको नेतृत्व गर्ने जिम्मेवारी पाए पनि सबैजसो निर्णय ओलीकै निर्देशनमा भएको ठम्याएका छन् । के प्रधानमन्त्री ओलीको जलवा ओइलाउँदै गएकै हो त ? कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका प्रधानमन्त्रीले विदेशबाट जोखिमयुक्त प्रविधिको प्रयोग गर्दै मन्त्रिपरिषद् बैठकको अध्यक्षता किन गर्नुपरेको ? अहिले गाउँ, जिल्ला वा राजधानीमा घुम्दा अत्यन्त नराम्रो आलोचना सुन्नु पर्दा दुःख लागेको छ । के नेकपालाई आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्नु नपर्ला र ? के यही अवस्थामा सरकार चल्ने हो भने आगामी दिनमा पनि नागरिकले मत देलान् ? गत निर्वाचनमा बाँडेको सपना कति विपना बने ? सामाजिक सञ्जाल र पत्रिकामा जेसुकै व्यक्त गरे पनि र भित्र जतिसुकै कलह भए पनि भित्रै समाधान नभएर बाहिर किन आयो ? उपचारमा जाने बेला गरेको स्वास्थ्य लाभको कामना अस्वीकार गरेझैँ जनताले अस्वीकार गरे भने के होला ?
–गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : भाद्र १५, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्

ट्रेड युनियन हटाएकै जाती

कान्तिपुर संवाददाता

समयअनुसार चल्नुपर्छ  । नेताले जनचाहना बुझ्न सकेनन् भने त्यसले राजनीतिमा असर पार्छ  ।

पछिल्लो समय ट्रेड युनियनकै कारण कतिपय उद्योग, कलकारखाना बन्द भएका छन् । ट्रेड युनियनका चाहिँदा/नचाहिँदा मागका कारण उद्योगहरू बन्द भए । त्यसबाट घाटा कसलाई भयो ? साहुलाई त पक्कै भएन । साहुले त काम चालु गर्न सकिएन भन्यो, आफ्नो सामान बेच्यो, हिँड्यो । त्यसले समस्या कसलाई पर्‍यो ? उद्योगमा मजदुरी गरेर खानेको रोजीरोटी खोसियो । निजामती कर्मचारी पनि ट्रेड युनियनका नेता भएका छन् । ट्रेड युनियनकै कारण सरकारी कार्यालयमा छिटो–छरितो काम हुन सकेका छैनन् । युनियनकै कारण कर्मचारीलाई जिम्मेवारी निर्वाह नगर्दा पनि कारबाहीमा पर्छु कि भन्ने डर भएन । डर नभएका कारण कर्मचारीहरू कामभन्दा पनि गफ चुटेर तलबभत्ता लिइरहेका छन् । कर्मचारी ट्रेड युनियन हटाएकै राम्रो । १ सय २२ राजनीतिक दल छन् । हरेक दलले आफ्नो ट्रेड युनियन खोल्ने हो भने के होला, सोचौँ त । अहिले कतिपय सरकारी तथा निजी कम्पनीहरूमा ट्रेड युनियन खोलिएका छन् । ट्रेड युनियनको सदस्य भएपछि कर्मचारी स्वतन्त्र हुन्छ । अझ ट्रेड युनियनको कार्यसमितिभित्रै पर्ने कर्मचारीले त काम गर्न पनि पर्दैन । बसी–बसी तलबभत्ता बुझ्न पाएकै छन् । हाकिमसँग कुरा मिलेन भने कर्मचारीहरू कार्यालयमा तालाबन्दी गर्छन्, यो जति विकृति के होला ? राजनीति गर्ने इच्छा भए खुला राजनीतिमा आए भइगयो नि । किन ट्रेड युनियनका नाउँमा आम सर्वसाधारणका सेवामा दक्खल दिने ? सरकारी तबलभत्ता लिएर जनतालाई सेवा नदिने हो भने तिनलाई किन पाल्ने ? सरकारी तलबभत्ता लिने अनि ट्रेड युनियनका नाउँमा राजनीति गर्ने ? यो लज्जास्पद हो । कतिपय पुरस्कार, सम्मान, दण्ड–सजाय ट्रेड युनियनको हस्तक्षेपका कारण प्र्रभावित भएका छन् । विभिन्न जातीय युनियन पनि खुलेका छन् । यो राज्यका लागि चुनौती हो । राजनीतिक दलहरूले देशलाई माया गर्ने हो भने व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ । ट्रेड युनियन खारेज गर्न गाह्रो होइन, दलहरूको इच्छाशक्ति दरो चाहियो ।
–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र १५, २०७६ ११:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्