बाँचुन्जेल हाँसिरहने र नाचिरहने

कान्तिपुर संवाददाता

हाम्रो समाजमा विवाह लगायत उत्सवमा मौलिक नाचगान, संगीतको आयोजना हुने प्रचलनले प्रत्येक समारोह उत्कृष्ट बन्ने गर्छ  ।

केही वर्षदेखि तीज पर्वलाई धुमधामसँग मनाउने उद्देश्यबाट झन्डै एक महिनासम्म चल्ने नाचगान इतिहासमै लामो बन्न पुगेको छ । यो विषयलाई लिएर अनेक टिकाटिप्पणी गर्नेहरूको पनि कमी छैन । भडकिलो शैली र उत्ताउलो प्रकारका नृत्य समाजमा पाच्य बन्न सकिरहेका छैनन् । देउडा, घाटु, रोदी, मारुनी, धाननाच जस्ता धर्म, संस्कार, परम्परा बोकेका नाचगान हाम्रो जीवनशैली बनेको बेला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मनाइने तीज पर्वले समाजलाई एकढिक्का बनाउन सहयोग पुर्‍याएको यथार्थ हो । सञ्चार माध्यमको सहायताले सातै प्रदेशसँग सम्बन्धित चाडपर्व, सांगीतिक क्रियाकलाप आजभोलि सहजै थाहा पाउन सकिन्छ । शारीरिक र मानसिक तन्दुरुस्ती बढ्ने, अल्पनिद्रा, अनिद्रा, मोटोपना लगायत अनगिन्ती अन्तरनिहित समस्याबाट छुटकारा पाउन नाचगानको अहम् भूमिका हुनसक्छ । ‘डान्स थेरापी’ अर्थात् ‘नृत्य चिकित्सा पद्धति’ विभिन्न देशमा लोकप्रिय बनेका बेला नेपालमा पनि यसबारे चासो बढ्नुलाई अन्यथा मान्न सकिँंदैन । पश्चिमी देशहरूमा हप्ताको दुई दिन चल्ने युवा केन्द्रित ‘डिस्को नाच’ले स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको भन्ने छ । हामी त्यो पद्धतिभन्दा धेरै माथि छौँ । हाम्रा आध्यात्मिक समारोहले केटाकेटीदेखि वृद्धवृद्धासम्मलाई मन फुकाएर नाच्ने अवसर प्रदान गरेको हुन्छ भने तीज पर्वमा पनि दुःखपीडा बिर्सेर सबै उमेरका महिला नाचगानमा रमाउन उत्प्रेरित बनेका हुन्छन् । तडक–भडक विनाको बाजागाजा र नृत्यकलालाई प्राथमिकता दिँदा दीर्घजीवनको सम्भावना बढ्छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : भाद्र १३, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले विश्वास गुमाउँदाको परिणाम

कान्तिपुर संवाददाता

सञ्चारकर्मी रवि लामिछानेका पक्षमा जनलहरको अर्थ आआफ्नै ढंगले सबैले निकाल्न सक्छन्  ।

आत्महत्या दुरुत्साहन कसुरमा प्रहरी हिरासतमा रहेदेखि चितवन जिल्ला अदालतको आदेशानुसार धरौटी बुझाएर छुटेपछि बुधबार काठमाडौँ फर्कने दिनसम्म उनका पक्षमा देखिएको जनलहरको अर्थ नागरिकको मनमा गढेको भयको अभिव्यक्ति हो । यस बाहेक आफ्नो भन्ने कोही नहुँदाको अवस्थामा दुःख–कष्टबाट बच्न गुहार माग्न सकिने सरल पहुँच भएका व्यक्ति पनि रवि हुन् भन्ने मानिसको विश्वास हो । ज्यान मुद्दाजस्तो विषयमा कतिपय अहं सवालको यकिन नहुँदै प्रहरीबाट एकैचोटी लामिछाने लगायतलाई जसरी पक्रियो, आम नागरिकको बुझाइमा नगरेको अपराधमा पनि राज्यले आफूलाई जुनसुकै बेला प्रताडित गर्नसक्ने कुराको विरोधमा उनको समर्थन देखिनु स्वाभाविकै हो । मनोगत रूपमा रुग्ण भएको व्यक्तिले बाँच्न नचाहेर आत्महत्या गर्नलाग्दा दुई–चार कुरामात्र स्पष्ट उल्लेख नगरी फेहरिस्त नै तयार गरी भिडियो रेकर्ड छाडेर आत्महत्या गरेको ठान्नु कतिपय दृष्टिकोणबाट जटिल अनुसन्धानकै विषय हुन जान्छ । तर शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जसरी रवि लामिछाने लगायतलाई आत्महत्या दुरुत्साहनको कसुरमा अभियुक्त बनाइयो । यसबाट ‘सुसाइड नोट’मा आफ्नो अभिष्ट पूरा हुने हिसाबले तयार गर्न लगाई कुनै तेस्रो पक्षले कसैलाई मृत्युवरण गर्न बाध्यात्मक अवस्था सिर्जना गरी आत्महत्याको आवरण दिने खेल रच्न उत्प्रेरित गरेर आत्महत्या दुरुत्साहन कानुनको नाजायज लाभ लिन सक्नेतिर पनि सबै पक्षले सोच्न आवश्यक छ ।
– महेशप्रसाद ढुंगाना, नयाँवानेश्वर, काठमाडौं

प्रकाशित : भाद्र १३, २०७६ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्