सिक्किम बनाउने कुरा

कान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले केही दिनअघि गरिमामय व्यवस्थापिकाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोलेका वाक्य हुन्, ‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ  ।

यस भनाइको मतलब के हो ? गिरीले नेपाललाई भन्दा छिमेकी देशलाई काखी च्यापेको कुरा २०४६ साल, १२ बुँदे लगायतमा गरेका कारबाही र उनले बोकेर नेपाल ल्याएका छिमेकी नेताहरूबाटै प्रस्ट भइसकेको छ । संसद भवनभित्र सांसदहरूका अगाडि र आम नेपालीले देख्ने, सुन्नेगरी बोलेका माथिका शब्दहरूलाई सिधा भाषामा अर्थ लगाउँदा त्यो ‘राष्ट्रघात’ नै हो । त्यस्ता शब्दहरू कुनै भारतीय, अमेरिकी, बेलायती, चिनियाँ सांसदले तिनका मुलुकमा बोलेका भए जेल हाल्दैन थिए ? अनि नेपालका सुरक्षा अङ्गहरू के हेर्छन् ? यो राष्ट्रिय सुरक्षामा चुनौती हो कि होइन ? जनताले मत दिएका र तिनकै करबाट पालिएका यस्ता सांसदले ‘फिफ्थ कलमनिस्ट’को काम गर्छन् भने यो देशले गिरीमाथि राष्ट्र विप्लवको मुद्दा लगाउनु नपर्ने कारण के छ ? यिनले नेपाली राष्ट्रियतामाथि प्रहार गरेका छन् । यो क्षम्य हुन सक्दैन ।
– प्रेमसिंह बस्न्यात, बाँसबारी, काठमाडौं

प्रकाशित : भाद्र १२, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्

हामी कता जाँदै

कान्तिपुर संवाददाता

विद्युतीय सवारी साधनले आम मानिससँगै हाम्रो सरकारलाई पनि आकर्षित गरेको छ  । आज विश्वभरि नै पेट्रोल, डिजेलको प्रयोगले सिर्जित प्रदूषणले आक्रान्त बनेको छ  ।

पेट्रोल, डिजेलको प्रयोगलाई कसरी कम गर्ने भनेर त्यसको थोरै प्रभाव हामीमा पनि देखापरेको छ । कहिले सम्मलाई हो, थाहा छैन । इतिहासतिर फर्केर यदि हेर्ने हो भने हामीले कहिल्यै कुनै पनि योजनाप्रति लगनशील भएर काम नै गरेनौं । अहिले बहसमा रहेको विद्युतीय सवारी साधन पनि पक्कै राम्रा छन् । तर यसको दिगो प्रयोगमा हाम्रो राज्य कति संवेदनशील छ त ? के साझा यातायातलाई ३ करोड दिँदैमा उपत्यकाबाट इन्धनका सवारी साधन विस्थापित हुन्छन् ? भोलिका दिनमा राज्यलाई प्रदूषित हुनबाट जोगाउने हो भने सडकको मर्मत–सम्भार हुनुपर्छ । दोस्रो, पर्याप्त चार्जिङ स्टेसन हुनु जरुरी छ । तेस्रो, विद्युतीय सवारी साधनमा केही समयका लागि सबै प्रकारका करमुक्त व्यवस्था आवश्यक हुन्छ । अन्यथा हाम्रो अवस्था जहाँको तहीं रहने निश्चित छ ।
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : भाद्र १२, २०७६ १२:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्