२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

हृदयविदारक वास्तविकता

मृगौला पीडित सोनु सिनालको वास्तविकता पढ्दा हृदयविदारक लाग्यो  । सोनुले बाँकी उमेर प्रधानमन्त्रीलाई छ है भन्नुभएको छ  ।

यसमा सोनुजस्ता लाखौं पीडितको दर्दनाक अवस्था चित्रण हुन्छ । हो, वास्तविकता यही हो, यहाँ जटिल प्रकारका उपचारमा कैयौं हन्डर खानुपर्ने बाध्यता छ । उच्चस्तरको उपचार पद्धति भइदिएको भए देशका कार्यकारी प्रधानमन्त्रीको उपचार यहीं हुन्थ्यो । अनि सोनु सिनालजस्ता लाखौं पीडितले उपचारका लागि छटपटिनु पर्थेन । धेरैले मुलुकको कार्यकारी नेतृत्व लिए । तर स्वास्थ्यस्थिति सुधार्नतर्फ उचित ध्यान दिएनन् ।सामान्य समस्या हुँदा पनि विदेश सयर गर्ने मानसिकता कायम भयो । तर आम नेपाली जो सक्दैनन्, तिनले भने अकालमै ज्यान गुमाउनुपर्ने अवस्था बन्यो । के हाम्रा प्रधानमन्त्रीलाई थाहा छैन, सबै सिंगापुर र व्यांकक गएर उपचार गराउन सक्दैनन् भन्ने ? यस्तो थाहा हुँदाहुँदै उनले किन आफ्नै देशमा उच्च स्तरको उपचार सेवा सुचारु गर्ने प्रबन्ध गर्न सकेनन् ?
रोग लागे पनि आफ्नै देशमा उपचार हुन्छ, राज्यको ढिकुटी रित्याएर अर्काको देशमा जानु पर्दैन भन्ने दिन कहिले आउँछ ? हामी सर्वसाधारणको पहुँचमा हुनेगरी उच्चस्तरको स्वास्थ्य उपचारसेवा आफ्नै देशमा छ भनी गर्व गर्ने दिन कहिले आउँछ ? माथिल्लो निकायमा आसिनहरूको दाँत फुकाल्न पनि विदेश जानुपर्ने परिपाटीको अन्त्य कहिले हुन्छ ? अहिले भएकै जनशक्ति र प्रविधिलाई व्यवस्थित गर्नसके मात्र पनिछिटोछरितो तवरबाट आम मानिसले केही राहत पाउने थिए । यसतर्फ किन ध्यान जाँदैन ? उपचार गर्न विदेश जाने होइन, उनीहरूले गरेको प्रगतिको नमुना हेर्न जाने हो । उनीहरूले गरेको विकासको सफलता हेर्न जाने हो, अनि आफ्नो देशमा आएर उक्त सिकाइलाई कसरी लागू गर्न सकिन्छ भनी विकल्पहरूबारे बहस चलाउने हो । तर यहाँ त त्यस्तो हुँदैन । एउटा मृगौला रोगी डायलाइसिस गर्न नपाएर छटपटिँदै मृत्युसँग मुकाविला गरिरहन्छ भने उच्च ओहदामा बस्नेहरू राज्यको लगानीमा विदेशको उच्चस्तरको उपचार खाजी–खोजी बाहिर जान्छन् । यस किसिमको परिपाटीको अन्त्य गर्नुपर्छ ।
– गोविन्द विक, बूढानीलकण्ठ नपा–१२,
कपन, काठमाडौं


प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको विषयप्रति अहिले सामाजिक सञ्जालमा विरोधका स्वरहरू उठिरहेका छन् । मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौलाले एन्टीबडी बढी मात्रामा उत्पादन गरिरहँदा उनको स्वास्थ्यलाभको कमना गरौं । यो अवस्थामा विरोधका स्वरहरूभन्दा पनि सरकार प्रमुखको स्वास्थ्यस्थिति सुधार होस् भन्ने कामना गर्न जरुरी छ । सरकार प्रमुख बिरामी हुनु भनेको देश बिरामी हुनु हो ।
तर अब कतिन्जेल नेताहरू विदेश उपचार गराउन जानुपर्ने हो ? पटक–पटक सरकार हाँक्ने नेतहरू आफ्नो स्वास्थ्य उपचार भन्दै विदेश जानुले पैसा नहुने गरिब बिरामीहरू रुन सिवाय अरु केही गर्न सक्दैनन् । उनीहरू पनि नेपालका अस्पतालप्रति विश्वास गर्दैनन् । अब प्रधानमन्त्री ओलीले नेपालमै सबै उपचार सम्भव छ, म पनि यहींउपचार गर्छु भनी गरेर देखाउन सक्नुपर्छ । स्वास्थ्य परीक्षणको विश्वसनीयता दिलाउन सक्नुपर्छ ।
– नवीनकुमार देवकोटा, पञ्चदेवल विनायक–२, अछाम

प्रकाशित : भाद्र १०, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?